धनगढी । सुदूरपश्चिममा बजेटलाई अन्तिम रुप दिने क्रममा शनिबार राती मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालबीच गम्भीर मतभेद भएको खुलेको छ । बजेटमा योजना समावेश गर्ने विषयलाई लिएर मध्यरातमा विवाद भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री पालले आफू अनुकुल योजनामात्र बजेटमा समावेश गर्न खोजेको भन्दै मुख्यमन्त्री शाहले असहमति जनाएको बुझिएको छ । भौतिक पूर्वाधार विकास मन्त्री पालले भने आफ्नो मन्त्रालयलाई बजेटको सिलिङनै कम दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘त्यस क्रममा दुई जनाबीच भनाभनसमेत भयो’ एक सांसदले भने, ‘सत्तापक्षमै विवाद भएपछि बजेट समयमै तयार हुन नसकेर बजेट भाषणको समय दुई घण्टा सारिएको हो ।’
यसअघि बजेट भाषणको समय बेलुकी ५ बजेलाई निर्धारण गरिएको थियो । तर तयारी नपुगेपछि साँझ ७ बजेलाई सारिएको छ । प्रदेश नीति तथा योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयलाई सुरुमा सात अर्ब ५५ करोडको सिलिङ पठाएको थियो । तर मन्त्रालयले बजेट बढाउनु पर्ने अडान लिँदै बजेट निर्माणका काम रोकेर राखेको थियो । भौतिकको दवावपछि आर्थिक मामिला मन्त्रालयले भौतिकलाई ७० करोड बजेट थपेको थियो । त्यतिमा समेत मन्त्री पालले चित्त नबुझाएपछि शनिबार राती बजेट थप गरिएको बुझिएको छ ।
बजेट बढाउँदा पनि मुख्यमन्त्री शाहले सिफारिस गरेका योजनाहरु मन्त्रालयले समावेश गर्न नसकिने बताएपछि दुवै जनाबीच मतभेद देखिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सरकारले यसअघिघ २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको थियो । तर योजना समावेश गर्ने दवावले बजेटको आकार बढाउन लागिएको हो ।
सत्तापक्षमै देखिएको विवादका बीच तयार भएको बजेट मन्त्रिपरिषद्बाट अहिलेसम्म पारित भने भइसकेको छैन । बजेट पारित गर्नका लागि ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया