ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीले जाहेरी दर्ता गरेन, भएन शवको पोस्टमार्टम

बिहिबार ०५, असार २०८२ १२:१७

धनगढी । कैदीबन्दी मृत्यु प्रकरणको किटानी जाहेरी कैलाली प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरीसिंह पालीको २ असारमा मृत्यु भएकोमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको हो । मृतक पालीकी श्रीमती जानकी साउँदले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ । 

साउँदले आफ्ना श्रीमान पालीको योजनाबद्व रुपमा कुटपिट गर्दै हत्या गरिएको भन्दै प्रहरीमा दिएको जाहेरी दर्ता नभएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जाहेरी दर्ता नभएको पुष्टि गरे । उनका अनुसार परिवारका सदस्यलाई घटनाको विवरण मात्रै उल्लेख गरेर जाहेरी ल्याउन भनिएको छ । किटानी जाहेरीमा उल्लेख गरिएका पाँचमध्ये चार जना प्रहरीको नाम भएपछि प्रहरीले दर्ता गर्न अस्विकार गरेको मृतकका आफन्तले बताएका छन् । 
मृतक पालीकी श्रीमती जानकीले दिएको जाहेरी दर्ता नगरेको प्रहरीले जाहेरी नआएकै कारण चार दिनसम्म शवको पोस्टमार्टम हुन नसकेको बताएको छ । ‘जाहेरी आएपछि मात्रै पोस्टमार्टम सुरु हुन्छ,’ डीएसपी सिंहले भने । मृतक पालीको शव २ गते रातिदेखि सेती प्रादेशिक अस्पतालको शवगृहमा छ । 

प्रहरीले दर्ता गर्न नमानेको जाहेरीमा मृतककी श्रीमती साउँदले आफ्ना श्रीमानमाथि योजनाबद्ध रूपमा कुटपिट गरेर हत्या गरिएको दाबी गरेकी छन् । उनले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई हरजीत नाथ, कैलाली कारागारका जेलर बसन्तबहादुर खत्री, कारागारका सुरक्षा प्रमुख सई भरत अधिकारी, घटनाका बेला ड्युटीमा रहेकी प्रहरी इश्वरी पाण्डेय तथा नाम नखुलेका सिंह थरका प्रहरीविरुद्ध कारबाहीको माग गरेकी छन् । जाहेरीमा पालीको शरीरमा चोटपटक र निलडाम देखिएको पनि उल्लेख छ । 

घटनापछि कैलाली कारगारको ब्लक नम्बर ‘ए’ ले कारागार प्रमुखलाई पठाएको पत्र पनि सार्वजनिक भएको छ । पत्रमा कारागार चलान हुँदा पनि पालीको शरीरमा चोटपटक रहेको उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक (सई) हरजीत नाथले ०८० भदौ २७ गते भागेश्वर गाउँपालिका– ५ का पालीविरुद्व बैंकिङ कसुरमा मुद्वा दिएका थिए । ‘प्रतिवादी हरीसिंह पालीले व्यापार व्यवसायका लागि रूपैयाँको समस्या परेको भन्दै एक १ महिनामा भाखा राखेर दुई लाख रुपैयाँ सापटी मागेका थिए,’ जाहेरीमा सई नाथले उल्लेख गरेका थिए, ‘०७९ जेठ २८ गते चेक दिएका थिए । उक्त चेकको रकम जम्मा गर्न जाँदा निजको खातामा पर्याप्त रकम थिएन ।’

नाथको जाहेरीपछि ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पालीलाई दुई बिगोबमोजिम (दुई लाख) जरिवाना र १० दिन कैदको फैसला भएको थियो । 

फैसला कार्यान्वयनकै क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई २९ जेठमा पक्राउ गरेको हो । डडेल्धुरा प्रहरीले एक दिन थुनामा राखेर ३० गते कैलाली प्रहरीलाई बुझाएको थियो । कैलाली प्रहरीले भने १ गते मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो । 

पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले २ गते प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए । कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । यता, पीडित पक्षले दिएको जानकारीअनुसार नाथसंग पालीले दुई लाख रकम लिएको कुरामै सत्यता छैन । ‘पाली कस्मेटिक व्यापारी हुन्, उनले भारतबाट सामान पनि ल्याउने गरेका थिए,’ एक आफन्तले भने, ‘सामानबापतको रुपैयाँ पालीले दिन नसकेपछि उक्त रकम असुली गराउन नाथ लागेका थिए । सोही कारण नाथकै नाममा पालीले चेक दिएका हुन् ।’

घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको छ । छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी जोशीसंगै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक राजकुमार सिंह पनि रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयको मुद्वा शाखका प्रहरी निरीक्षक र हवल्दार, राष्ट्रिय अनुसन्धानबाट एक जना अधिकारी तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लोकराज भट्ट पनि छानबिन समितिमा सदस्य छन् । 

प्रतिक्रिया