टीकापुर । समुन्द्री सतहबाट चार हजार २६७ मिटर उचाईमा रहेको बडीमालिका माताको मन्दिरसम्म ठूला निर्माण सामग्री लग्न सम्भव छैन ।
तरपनि नेपाली सेनाले काठ र ढुंगा समेत ढुवानी गरेर डेढ महिनामै बडीमालिका मन्दिरको पुनर्निर्माण गरेको छ । ठाडो उकालोमा काठ र ढुंगा बोकेर लग्न नसकिने भएपछि सेनाले ति सामाग्री हेलिकोप्टरबाट ढुवानी गरेको थियो ।
भौगोलिक विकटताका कारण ढुंगा र काठ बोक्न नसकिने भएकाले हेलिकोप्टर मार्फत ढुवानी गर्नुपरेको पुनर्निर्माणमा खटिएका नेपाली सेनाका सुवेदार गणेश खनालले जनाए । ‘‘ठूलो सामान हेलिकोप्टर मार्फत ढुवानी गरेको हो’ सुवेदार खनालले भने, ‘अन्य सामान सेना र स्थानीयले बोकेर लग्यौं ।’
मन्दिर पुनर्निर्माणमा ढुंगाको काम गर्न रामेछाप र काठको काम गर्न ललितपुरबाट कालिगढ लगिएको थियो । सुवेदार खनालले अन्य काम सेना र स्थानीयले गरेको बताए ।
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपिठ बडीमालिका माताको मन्दिरको पुनर्निर्माण नेपाली सेनाले दुई करोडको लागतमा गरेको हो । पुरातत्व विभागले मन्दिरको डिजाइनमा गरेको सुवेदार खनालले जनाए । उनले सेनाले मन्दिर पुनर्निर्माणको काम चैत महिनाबाटै सुरु गर्न खोजे पनि हिमपातका कारण ढिलाई भएको बताए ।
हिमपात रोकिएपछि सेनाले जेठ पहिलो साताबाट मन्दिर पुनर्निर्माणको काम सुरु गरिएको थियो । सुवेदार खनालले मन्दिर पुनर्निर्माणको काम सकेर असार २३ गते मन्दिरको सबै जिम्मेवारी पूजारीलाई सुम्पेको जानकारी दिए ।
सेनाले महासेनानी शिव पौडेललाई मन्दिर पुनर्निर्माणको जिम्मेवारी सुम्पेको थियो । उनकै नेतृत्वमा मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको छ । मन्दिरको उद्घाटन असोजमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले गर्ने बताइएको छ ।
बडीमालिका नेपालकै प्रमुख मन्दिरहरु मध्ये एक हो । यो बाजुराको त्रिवेणी नगरपालिकामा पर्छ । यहाँ हरेक वर्ष जनैपूर्णीमाको दिन पूजाआजा हुनुका साथै मेला लाग्ने गर्छ ।
मन्दिरमा सरकारका तर्फबाटै पुजारी नियुक्त गरिन्छ । यहाँ डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी कर्मचारीहरुको हातबाट सरकारी पूजा सम्पन्न हुन्छ ।
बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । नजिकै देखिने सुन्दर हिमाल, विशाल फाँट र ती फाँटमा फूलेका अनगिन्ती फूलहरुले बडीमालिकाको सौन्दर्य दर्शाएको छ ।
प्रतिक्रिया