धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बाजुरास्थित सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा सरकारी पूजा टोली पठाएको छ । उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीसहित उपमहानगरका जनप्रतिनिधि र कर्मचारीसहित ३५ जनाको टोली आइतबार पेटारो लिएर बडीमालिका प्रस्थान गरेको हो ।
धनगढी उपमहानगरपालिको कार्यालय अगाडि रहेको वनदेवी मन्दिरमा पूजाआजापछि आइतबार बिहान टोली त्यसतर्फ प्रस्थान गरेको हो । बडीमालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत् डोटी, जुम्ला, कालीकोट, बाजुराबाट सरकारी टोलीसहित पेटारो तथा जुम्लाबाट डोली पठाउने परम्परा रहीआएको छ । धनगढी उपमहानगरपालिकाले भने पहिलोपटक सरकारी पूजा टोली पठाएको हो ।
हरेक वर्ष साउनको जनै पूर्णिमाको अघिल्लो दिन अर्थात शुक्ल चतुर्दशी तिथिमा बडीमालिका मन्दिरमा पूजा हुन्छ । यहीबेला बडीमालिकामा ठूलो मेलासमेत लाग्ने गरेको छ । बडीमालिका मन्दिरमा हुने पूजालाई लक्षित गरेर धनगढीले पनि पेटारो पठाएको उपमहानगरपालिकाले जनाएको छ । यसअघि धनगढी उपमहानगरपालिकाको ३६औँ कार्यपालिका बैठकले बडीमालिकामा पेटारो पठाउने निर्णय गरेको थियो ।
उपप्रमुख रानाले धनगढीका बासिन्दाको प्रतिनिधित्व गर्दै पूजाआजा गरेर आर्शीवाद लिन उपमहानगरको टोली बडीमालिका जान लागेको बताइन् । पूजाआजासँगै सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय स्थल बडिमालिकाको धार्मीक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले धनगढीबाट टोली पठाउन परम्पराको सुरुवात गरिएको उनले बताइन् ।
प्रतिक्रिया