धनगढी । कैलाली कारागारमा नयाँ जेलर हाजिर भएका छन् । बाकेको नौबस्ता कारागारमा रहेका जेलर जालन्धर भुसाललाई कैलाली कारागारको जेलरको जिम्मेवारी दिइएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जेलर भुसाल आजै हाजिर भइसकेका छन् ।
यसअघि कैलाली कारागारका जेलर बसन्त खत्री थिए । तर, उनी ३१ असारदेखि बिदामा थिए । कारागारका कैदीबन्दीले जेलर खत्रीविरुद्द नाराबाजी गरेपछि उनी स्वास्थ्य समस्याको कारण देखाउदै बिदामा गएका थिए ।
शुक्रबार राति एकजनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि स्काई ट्रकमार्फत काठमाडौं लगिएको छ ।
यस्तै घटनाको अनुसन्धानको लागि कैलालीको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भइसकेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी, सशस्त्र र कारागार विभागसंग समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।
प्रतिक्रिया