ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

मङ्गलबार २७, साउन २०८२ ०५:१२

काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । 

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी करार नगरिएको दाबी गर्दै उनले पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको बताए । संघीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’को प्रावधानमा छलछाम गरेर निष्प्रभावी बनाइएको थियो ।

निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले कुलिङ अफ पिरियडको व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधान खण्डित हुने व्यवस्था कायमै राखिएको थियो ।

‘कुलिङ अफ पिरियड’को व्यवस्था उल्ट्याउन मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सरकारका सचिवहरू प्रधानमन्त्री केपी ओलीदेखि शीर्ष राजनीतिक नेतृत्वलाई दबाब दिन खुलेआम लागेको थियो । समितिले पारित गरेको विधेयक प्रतिनिधिसभाले पारित गरेपछि कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम भएको सार्वजनिक भएको थियो । 

उक्त छलछाम कसले गरेको भन्ने पत्ता लगाउन कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो । उक्त समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन विशेष समितिको प्रतिवेदनमा लेखेको थियो ।

प्रतिक्रिया