ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जन्ती बोकेको बस बैतडीमा कसरी पर्‍यो दुर्घटनामा ?

शुक्रबार २३, माघ २०८२ ०२:११

धनगढी । बिहीबार बिहान बित्थडचिर बझाङबाट बैतडीको पुर्चौडी नगरपालिका- ७ भौनी गाउँमा दुलही लैजान जन्ती पुग्यो । जन्तीको आगमनले भौनी गाउँको माहोल उल्लासमय थियो । गाउँले जन्तीमा रमाएका थिए । तर, त्यो माहोल साझ पर्दासम्म शोकमा परिणत भयो ।

अबेर साझ जन्ती लगेर भौनी गाउँबाट बित्थाचिर फर्किरहेको थियो, पवनदुत यतायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस । बसमा दुलहा, दुलहीबाहेक दुवै पक्षका झन्डै ५० जना सवार थिए । `दुलहीको घरबाट जन्ती हिडेको १५ मिनेट मात्रै भएको थियो,´ सोही बसमै सवार दुलहीका काका अम्मरराज जोशीले भने, `उकालो सडकमा मोड आयो । चालकले मोड कटाउन सकेनन् । बस भिरालोमा खस्यो ।´ दुलही पुगाउन गएका जोशी उक्त सडकमा नियमित ओहोरदोहोर गरिरहन्थे । `बस भिरालोमा खस्नै लाग्दा मैले ढोकाबाट हाम फाले,´ उनी भन्छन्, `रुखमा अड्किएर म बाच्न सफल भएको छु ।´

उनी सामान्य उपचारपछि घर फर्किसकेका छन् । चालकको लापरबाहीले दुर्घटना भएको उनी बताउँछन् ।  दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये एक दुलही पक्षका पनि छन् । दुलहीका सहोदर भाइ सुशील जोशीको ज्यान गएको छ ।

दुर्घटनामा दुलहाका बुवा शंकरदत्त जोशी पनि घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको छ । `जन्ती लगेर बित्थडचिर फर्किरहेका थियौं,´ उनले भने, `सडक उकालो थियो । त्यसैमा मोड पनि आयो । ड्राइभरले बस मोड्न सकेनन् । सुरुमा बिस्तारै ब्याक भएको बस एक्कासी भिरालोमा खस्यो ।´

बस दुर्घटनामा घाइते भएर डडेल्धुरा अस्पतालमा उपचाररत पुर्चौडीकै चन्द्रा अवस्थीले चालकको लापरबाहीले बस भिरालोमा खसेको बताइन् । `उकालो सडकको मोडमा बस नघुमाएरै सिधै अगाडि लग्न खोजिएको थियो,´ उनले भनिन्, `पछि मोड्नका लागि बस ब्याक गरियो । ड्राइभरले ओत लगाउन भनिरहेको थियो । बस खसिहाल्यो ।´

अर्का घाइते कमलप्रसाद जोशीलाई भने धेरै सम्झना छैन । `बस उकालोमा एक्कासी ब्याक भएको याद छ,´ उनले भने, `त्यसपछि होस आउँदा झण्डै दुई सय मिटर तल थिए ।´ उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बझाङको बित्थडचीर गाउँपालिका-७ का बिसनदत्त जोशी, सोही ठाउका २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी-७ का १४ वर्षका सुशील जोशी र बझाङको केदारस्यूका २६ वर्षका केशवराज भट्टको मृत्यु भएको छ ।

यस्तै बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका- ७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चाैडी नगरपालिका- ७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको छ ।

दुर्घटनामा ३४ जना घाइते छन् । घाइतेमध्ये पाँच जना गम्भीरको धनगढीमा उपचार भइरहेको छ भने २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यस्तै चार जना सामान्य घाइतेको भने बझाङको देउलेक स्वास्थ्य चौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

प्रतिक्रिया