धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको चरित्रहत्या भएको भन्दै कारबाहीको माग गरेको छ ।
संसदीय दलको बैठकले मन्त्री पालमाथि लगाइएका आरोपहरु निराधार, असत्य र षड्यन्त्रपूर्ण भएको ठहर गर्दै यस्ता गतिविधिले जनप्रतिनिधिको मर्यादा धुमिल गर्न खोजिएको निष्कर्ष निकालेको छ ।
बैठकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । बैठकमा यस्ता घटना राजनीतिक तथा सामाजिक जीवनमा अस्वाभाविक र अशोभनिय भएको भन्दै एकताबद्ध भएर प्रतिवाद गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
एमालेबाट मन्त्री भएका पालको नाम बैतडीका १३ वर्षीय किशोर किरन कोलीको मृत्यु घटनामा जोडिएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री पालको संरक्षणमा थुपारिएको बालुवामा नजिकै रहेको विद्युतको लाइनमार्फत करेन्ट लागेर मृत्यु भएको बताएका छन् भने केहीले मन्त्रीकै गाडीको ठक्करबाट किरनको मृत्यु भएको बताएका छन् ।
याे पनि : बालक मृत्यु घटनामा कसरी जोडियाे सुदूरपश्चिमका मन्त्री पालकाे नाम ?
प्रतिक्रिया