ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको सरकारी टोलीको दौडधुप : लगानीको माहोल बनिसकेको सन्देश दिने प्रयास

शुक्रबार २०, भदौ २०८२ ०९:०१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा छ । लगानी सम्मेलनकै तयारीमा रहेको प्रदेश सरकारको एक टोली १० दिनसम्म संघीय राजधानीमा व्यस्त रह्यो । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको जम्वो टोलीले प्रदेश विकासका लागि लगानी खोज्दै १० दिन बितायो ।

त्यस क्रममा प्रदेश सरकारको टोली संघीय राजधानी काठमाडौंमा विभिन्न निकायसँग छलफलमा व्यस्त रह्यो । मुख्यमन्त्री नेतृत्वको टोलीले काठमाडौंमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत व्यवसायिक क्षेत्रका अगुवासँग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पर्यटन व्यवसायीसँग, परराष्ट्र मन्त्रालयमार्फत दातृ निकाय र राजदूतहरुसँग, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत उर्जा तथा जलस्रोत क्षेत्रका व्यवसायीसँग, राष्ट्र बैंकका गभर्नरसँग, विकासे मन्त्रालयका सचिवहरुसँग, एसियाली विकास बैंक, विश्व बैंक, सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी, विश्व हिन्दु इकोनोमिष्ट फोरम, एसियाली विकास बैंक, विश्व बैंक, चेम्बर अफ कमर्सलगायतका उच्च पदस्थ अधिकारीहरुसँग बैठक गर्दै सुदूरपश्चिममा लगानी बढाउन आग्रह गरेको छ ।

टोलीमा मुख्यमन्त्री, मन्त्रीहरु, सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरु, प्रमुख सचिव सहतिका कर्मचारीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षसहित सदस्य तथा आयोगका कर्मचारीहरुले एकसाथ काठमाडौंमा दौडधुप गरे ।

मुख्यमन्त्री शाहले हरेक क्षेत्रका बैठकमा सहभागीहरुलाई सुदूरपश्चिममा लगानी बढाउन आग्रह गरेका छन् । उनले प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन तत्पर रहेकोले निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । ‘भारतको उत्तराखण्ड र उत्तर प्रदेश नजिकै रहेको  सुदूरपश्चिम लगानीका लागि उपयुक्त गन्तव्य हो,’ मुख्यमन्त्रीले आग्रह गर्दै भनेका थिए, ‘सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर प्राथमिकता दिन आग्रह गर्दछु ।’

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जीतु उपाध्यायका अनुसार उद्योग व्यवसायीहरुले प्रदेशमा उद्योग स्थापना गर्न नीति र कानुनी बाधा रहेको, जग्गा उपलब्ध नहुने अवस्था, कर, विद्युतको उल्झन्, वडा र समूदाय तहबाट पनि हुनसक्ने व्यवधान हटाउन सुनिश्चितता हुनुपर्ने लगायतका समस्याहरु रहेकोले समाधानका लागि राजनीतिक प्रतिवद्धता तल्लो तहसम्मै हुनुपर्नेमा जोड दिएको बताउँछन् । व्यवसायी र विकास साझेदारहरुको सुदूरपश्चिममा लगानी गर्ने चासोले उत्साहित बनाएको डा. उपाध्यायले बताए ।

व्यवसायीहरुले प्रदेश सरकारले लगानीका क्षेत्रहरुको प्राथमिकतासहित स्पष्ट खाका आउनुपर्ने, सडक तथा हवाई यातायात सञ्जालको सुदृढिकरण हुनुपर्ने आवश्यकता रहेको पनि औल्याएको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले बताए ।
मुख्यमन्त्री शाहले पर्यटनका लागि अथाह सम्भावनाले भरिपूर्ण सुदूरपश्चिममा पर्यटन पूर्वाधार विकास र पर्यटन गतिविधिहरु बृद्धिका लागि स्वागत गर्न आतुर रहेको व्यवसायीहरुलाई बताएका थिए ।

आवश्यक कानुनी र सुरक्षाका सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्रीको भनाई थियो । संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायीहरुलाई ‘नेचर, कल्चर र एडभेन्चर’ को समिश्रण भएको सुदूरपश्चिममा पर्यटन विकास गर्न निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

विभिन्न देशका राजदुत र विकास साझेदारहरुसँगको छलफल परराष्ट्र मन्त्री आरजु राणा देउवामार्फत भएको थियो । मन्त्री राणाले समृद्धिको प्रवेशद्वार सुदूरपश्चिम भएकोले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योग तथा विकास गतिविधिमा लगानी गर्न आव्हान गरेकी थिइन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत उर्जा क्षेत्रका लगानीकर्ताहरुसँग भएको छलफलमा पनि मुख्यमन्त्री शाहले उर्जा क्षेत्रका लगानीकर्ताहरुलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका थिए । लगानी सम्मेलन लक्षित गरी नयाँ कानुन निर्माण एवं मौजुदा कानुनको संशोधनको तयारी भइरहेको मुख्यमन्त्री शाहले बताए । 

सुदूरपश्चिमको विकासलाई प्राथमिकतामा राख्नेमा सबैको चासो बढेको र लगानीको सम्भावनाले भरिपूर्ण सुदूरपश्चिममा लगानीको माहोल सिर्जना भएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. उपाध्यायले बताए । एसियाली विकास बैंक र विश्व बैंकले पनि सुदूरपश्चिमलाई प्राथमिकता दिने प्रतिवद्धता गरेको उनको भनाई छ ।

टोलीमा मुख्यमन्त्री शाहसंगै प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर थापा, एमाले सांसद चक्र मल्ल, एकीकृत समाजवादीका सांसद नरेशकुमार शाही, माओवादी केन्द्रका सांसद शिवसिंह ओली, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, सदस्यहरु नृपबहादुर सुनार र शेरबहादुर भण्डारी, प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका सचिव गणेशबहादुर सिंहलगायतका पदाधिकारीहरु काठमाडौंका छलफलमा सहभागी भएका थिए । एकीकृत समाजवादीका सांसद नरेशकुमार शाहीले नीजि क्षेत्र  र विकास साझेदारहरु सुदूरपश्चिममा लगानी गर्न उत्साहित देखिएको बताउँदै प्रदेशले वातावरण बनाउन अपरिहार्य रहेको बुझिएको बताए । 

प्रतिक्रिया