ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा चाडपर्व लक्षित सस्तो पसल यी ठाउँमा खुल्दैछ, कुन सामानमा कति छुट ?

शुक्रबार २०, भदौ २०८२ ०४:५४

धनगढी । चाडपर्वलाई लक्षित गर्दै ३० भदौदेखि सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ । सुदूरपश्चिम प्रदेशमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएको हो । प्रदेशका विभिन्न आठ सहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । 

कार्यालय प्रमुख तेजबहादुर कुँवरका अनुसार कैलालीको तीन, कञ्चनपुरको दुई तथा डोटी, डडेल्धुरा र बैतडीको एक–एक स्थानमा ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । ‘कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डोटीको दीपायल, डडेल्धुराको जिल्ला सदरमुकाम तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्,’ साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख कुँवरले भने । 

सुपथ मूल्य पसलका लागि नुनको मूल्य २४ रुपैयाँ तोकिएको कुँवरले बताए । ‘नुन एक व्यक्तिले पाँच किलोसम्म लैजान पाउने छन्,’ उनले भने, ‘चिनीको लागि अधिकत्तम छ किलो कोटा निर्धारण भएको छ । चिनीमा पाँच रुपैयाँ छुट दिने निर्णय भइसकेको छ तर मूल्य निर्धाणर भएको छैन ।’ त्यसैगरी चिउरा, आटा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा पनि प्रति लिटर सात रुपैयाँ छुट हुने कुँवरले बताए । 

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर यस्ता पसल सञ्चालन हुँदै आएका छन् । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । 

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुने छन् । 
 

प्रतिक्रिया