धनगढी । १८ वर्षअघि सुदूरपश्चिमलाई छाउपडी र देउकीको क्षेत्र भनेर चिन्थे धेरैले । सोही समयममा कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा थिए गोपाल हमाल । जो अहिले धनगढी उपमहानगरका मेयर पनि छन् । हमालले सुदूरपश्चिम छाउपडी र देउकीको क्षेत्र नभई कला, सस्कृतिको धनी, सुन्दर र क्षमता भएकाहरूको क्षेत्र हो भनेर चिनाउनका लागि एउटा साझा थलोको आवश्यकता महसुस गरे । त्यो आवश्यकताका पूर्तिका लागि महोत्सव लगाउने योजना बनायो उद्योग वाणिज्य संघले ।
‘कला, संस्कृतिको प्रदर्शनी र संरक्षण, स्थानीय खानपानको प्रचार, व्यापारसंगै घरेलु उद्योग र कृषि उपजका उत्पादनको बजारीकरण गर्ने साझा थलो महोत्सवलाई बनाउने योजना हाम्रो थियो,’ हमालले आफ्नो आलेखमा भनेका छन्, ‘महोत्सवमार्फत २२ मंसिरदेखिको १० दिनलाई पर्वको रूपमा मनाउने हाम्रो उद्देश्य नै बन्यो । सोही उद्देश्यअनुसार सुरु भएको थियो सुदूरपश्चिम महोत्सव ।’
मभगदब–mबबि–(ज्ञ)–ज्ञठघघडण्छज्ञटठ.व्एन्महोत्सवमार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी पनि सुरुवात गरेको हमाल बताउँछन् । ‘महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै सांकेतिक माला आन्दोलन सुरु भएको थियो,’ हमालले भने, ‘२१ बुँदे मागपत्र पनि सबै जिल्लाका उद्योग वाणिज्य संघ, नागरिक समाज र अगुवाहरूसँग छलफलपछि निर्धारण गरिएको थियो । पहिलोपटक २१ बुँदे मागसहित २१ किलोको माला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लगाएका थियौँ ।’ जति माग त्यति नै किलोको माला सरकार प्रमुख र नेताहरूलाई लगाउने माला आन्दोलनको सुरुवात २२ मंसिर २०६३ देखि सुरु भएको हो ।
सुदूरपश्चिमले २१ माग मागेको १८ वर्ष पुगेको छ । तर, ती २१ मागमध्ये अहिलेसम्म पाँचवटा माग मात्रै पूरा भएका छन् । अप्टिकल फाइबर जडान, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, अस्पतालमा आईसीयू कक्षको निर्माण र दुग्ध प्रशोधन केन्द्र स्थापनाको माग मात्रै पूर्ण रूपमा पूरा भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए । उनका अनुसार अन्य छवटा माग कार्यान्वयनको चरणमा गएका छन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण, प्रदेश सभागृह निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पर्यटन केन्द्रको स्थापना, गेटा विमानस्थल स्तरोन्नति र चिसापानी–गड्डाचौकी व्यापार व्यवस्थित गर्ने कार्य अहिले कार्यान्वयनको चरणमा छ,’ उनले भने ।
महासचिव विष्टका अनुसार १० वटा माग भने १८ वर्षसम्म पनि सम्बोधन भएका छैनन् । ‘प्रदर्शनीस्थलको निर्माण, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरिनुपर्ने, त्रिनगर–गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनपर्ने, चीनसँग जोड्ने नाका स्थापना गर्नुपर्ने माग अहिलेसम्म कार्यान्वयनको चरणमा पनि गएको छैन,’ विष्टले भने, ‘विशेष औद्योगिक क्षेत्रको स्थापना, १० वर्षसम्म ट्याक्स फ्रि जोन घोषणा, पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण, कृषि विश्वविद्यालयको स्थापना र सांस्कृतिक संग्रहालयको स्थापनाको माग पनि पूरा भएको छैन ।’
१८ वर्षसम्म सुदूरपश्चिमले थालेको माला आन्दोलनमार्फत थुप्रै नेताले मालाको भारी बोकिसकेका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक सुदूरपश्चिमेलीको गह्रौँ माला पहिरिइसकेका छन् । यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, तत्कालीन एमाले नेता भीम रावल, नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलगायतले पनि सुदूरपश्चिमवासीले लगाइदिएको गह्रौँ माला पहिरिइसकेका छन् । तर, माला लगाउँदै राखिएका माग पूरा गर्न भने कसैको ध्यान नगएको ठहर कैलाली उद्योग वाणिज्य संघको छ ।
यस वर्ष पनि २२ मंसिरमा महोत्सव उद्घाटनका लागि कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो । उनलाई १० किलोको माला लगाउने तयारीमा कैलाली उद्योग वाणिज्य संघ थियो । तर, उनी नआएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले १८औँ संस्करणको महोत्सव उद्घाटन गरेका छन् ।
प्रतिक्रिया