प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामीछानेमाथि ‘अमानवीय व्यवहार’ गरिएको भन्दै घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरिएको छ । रास्वपाको विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र महताको नेतृत्वको १५ सदस्यीय टोलीले राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमार्फत आयोगको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र पठाउँदै लामीछानेको मानवअधिकारको रक्षा गर्न माग गरेका हुन् ।
ज्ञापनत्रमा लामीछानेविरुद्ध भएका मानवअधिकार हननका घटनाको सत्यतथ्य र निस्पक्ष छानविन गर्न माग गरिएको छ । ‘लामीछानेविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्यतथ्यपूर्ण तथा निष्पक्ष छानबिन होस्’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गरियोस् ।’
राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षाका लागि सक्रिय कदम चाल्नसमेत आयोगलाई आग्रह गरिएको छ । केन्द्रीय विभाग सदस्य महताले सभापति लामीछानेको विषयमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह गरी मानवअधिकारको रक्षा तथा जनप्रतिनिधिमाथि न्यायको प्रत्याभूति हुने अपेक्षासहित आयोगलाई ज्ञापनपत्र बुझाइएको बताएका छन् ।
‘रवि लामिछाने कुनै पनि कसुरमा आरोपित तथा अभियुक्त होइनन्, केवल शंकितमात्र हुन् । उनले गरेको भनिएको कसुरका सम्बन्धमा अनुसन्धान सोधपुछसम्म भइरहेको हो’ विज्ञप्तिमा भनिएको छ, ‘तर राज्य संयन्त्रले नियोजित रुपमा सञ्चार माध्यमहरुको प्रयोग गरी उनलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेका छन् ।’
अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा सार्वजनिक गरेर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासनलगायत राज्यका निकाय सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सभापति लामीछानेलाई गत मंसिर १९ गते मध्यराती पोखराबाट चितवन पु¥याएको थियो । दिनभर चितवनस्थित जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराएपछि उनलाई दोस्रो दिन पोखरा लग्ने भनिएको थियो । तर प्रहरीले सुत्ने तयारीमा रहेका लामीछानेलाई गाडीमा राखेर रातीनै पोखरा लगेका थिए । यो घटनाले लामीछानेको मानवअधिकारको उल्लंघन भएको कुरा उठेपछि मानवअधिकार आयोगले छानविन गरिरहेको छ ।
प्रतिक्रिया