धनगढी । पूर्व पर्यटन मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेमगरले लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले शनिबार धनगढीस्थित नेकपा पार्टी कार्यालयमा आफ्नो २० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सबै अध्ययन पुरा भई बजेट अभावको कारण निर्माण हुन नसकिरहेको फाप्ला क्रिकेट स्टेडियम निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले धनगढीलाई क्रिकेट हवको रूपमा विकास गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
यसैगरी, धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५०० मिटर पु¥याई ठुला जहाज अवतरण योग्य बनाएर सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हवाई सेवाको पहुँचमा जोड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा दुई अर्ब पाँच करोड रुपैयाँ धनगढी विमानस्थल विस्तार गर्नका लागि व्यवस्थापन गरेको भएपनि कार्यान्वयन गर्दा आफू मन्त्रीबाट हटेपछि उक्त बजेट अन्यत्र रकमान्तर गरी विस्तारको योजना तुहाइएको बताए ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ३०० देखि ६०० शैय्याको अस्पताललाई यथासिघ्र संचालन गरी एमबिबिएस लगायतका विषयहरूको अध्ययन अध्यापनको सुरूवात गरेर सर्वसुलभ उपचारको व्यवस्था गरिने प्रतिपबद्धता पनि आलेले व्यक्त गरेका छन् । ‘सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरू प्रदान गर्न संघीय सरकार मातहत संचालन गर्न व्यवस्था मिलाइनेछ,’ उनको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘साथै सिकलसेलका विरामीहरूको निम्ती छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइनेछ ।’
सुदूरपश्चिममा सबै भन्दा छोटो दुरीको धनगढी–खुटीया–दिपायल–बझड–चैनपुर हुदै उरै सडकलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी सुदूरपश्चिम प्रदेशको आर्थिक तथा धार्मिक गतिविधि बढाइने पनि उम्मेदवार आलेले बताएका छन् । उनले यो सडक निर्माणले औद्योगिक, पर्यटन गतविधि बढ्ने भएकाले आफूले उक्त सडक निर्माणका लागि विगतदेखि पहल गर्दै आएको र आफ्नो आगामी कार्यकालमा निर्माण सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उम्मेदवार आलेले कैलाली क्षेत्र नं. ५ को सडक, नदी कटान, डुबान जस्ता समस्याहरु समाधानका लागि आयोजना नै खडा गरी बहुवर्षीय ठेक्कामार्फत् समाधान गर्नुपर्ने बताए । ‘मोहना, खुटीया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेती योग्य जमिन तथा बस्तीहरूलाई सुरक्षित बनाउन ग्रिनरी सहितको दिर्घकालिन तटबन्धन निर्माण गरी धनगढी क्षेत्रको डुवान समस्याको समाधान गरिनेछ,’ उनले प्रतिबद्धता पत्रमा स्थानीय समस्या बारे भनिएको छ, ‘ग्रामिण सडकहरूको स्तरोन्नती गर्ने, भादा घुरही नदीमा पक्की पुल, गदरिया सिमराना जोड्ने घुराहा नदीमा पक्की पुल, शिवगंगा डुमलिया जोड्ने पक्की पुल लगायत नदीहरूमा पुल निर्माण गरिनेछ । साथै धनगढी–३ मा निर्माणको लागि डिपिआर र आईईई भइसकेको प्रादेशिक बसपार्क निर्माणलाई कार्यान्वयनको चरणमा लगिनेछ ।’
उनले धनगढी–७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुर्जा प्राप्त नगरेकालाई लालपुर्जा दिने, सुरक्षित आवास कार्यक्रम लागु गर्ने र अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँचको सुनिश्चितता गर्ने पनि जनाएका छन् । किसानलाई कृषि उत्पादनमा आधुनिक प्रविधिसंग जोड्ने, सिंचाईको व्यवस्थापन गर्ने र मल विउविजनको सहज उपलब्धता सुनिश्चित गर्ने उनले बताए ।
‘महिला सशक्तिकरण गर्न महिलालाई राजनिती, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वमा अगाडी ल्याउन उद्यमशीलता, सुरक्षा र सम्मानजनक जीवनको सुनिश्चितता गरिनेछ,’ उनले भने, ‘राज्यबाट पछाडी पारिएको दलित समुदाय, महिला, अपाड्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मानको सुनिश्चितता गरिनेछ । थारू समुदाय लगायत अन्य स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न साँस्कृतिक संग्राहलय निर्माणमा पहल गरिनेछ ।’
उम्मेदवार आलेले उद्योग, व्यापार र रोजगारीका लाभि साना तथा मध्यम वर्गको उद्योगको प्रबद्र्धन सर्ने र स्थानीय उत्पादमलाई बजारको सुनिश्चितता गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । उनले धनगढी चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गर्ने पनि जनाएका छन् ।
पछिल्लो तीन वटा निर्वाचनमा डोटीबाट लगातार विजयी भएका आलेले डोटीमा अरु साथीहरुलाई पालो दिन र धनगढीको विकासका लागि आफ्नो आवश्यकता रहेको हुँदा आफू यसपाली कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार भएको बताए । उनले आफूले जनताको साथ कहिल्यै नछोडेको हुँदा डोटीमा लगातार तीन पटक विजयी भएको बताए ।
प्रतिक्रिया