धनगढी । सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा बाह्रय रुपमा चुनावी चहलपहल त्यतिधेरै नदेखिएको भए पनि उम्मेदवारहरु गाउँ पसेका छन् । घरदैलो गरिरहेका छन् । भेटघाटमा व्यस्त छन् । गाउँघरमा भोट माग्न आउने मतदाताहरुसँग मतदाताहरुका बेग्लाबेग्लै मागहरु देखिन्छन् । कतिपय साझा मागहरु सुनिन्तछन् त कतिपय आआफ्ना विचारहरु ।
यस क्षेत्रका बासिन्दाहरुको साझा मागकाका रुपमा वर्षौअघिदेखि अलपत्र परेको प्रस्तावित डुडेझारी औद्योगिक क्षेत्र निर्माण होस् भन्नेमा देखिन्छ । उक्त प्रस्तावित औद्योगिक क्षेत्र यसै निर्वाचन क्षेत्र अन्तर्गत लम्कीचुहा नगरपालिका ३ मा पर्दछ । उक्त प्रस्तावित औद्योगिक क्षेत्र ०७५ देखि नै संघ सरकारले थन्काएर राखेको छ ।
एक हजार ९३ विगाह क्षेत्रफल ओगटेको डुडेझारीलाई सुदूरपश्चिम क्षेत्रका उद्योग ब्यवसायीले औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् । त्यहाँ ठूला, मझौला र साना गरी ३ सय १७ उद्योग स्थापना हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
युवाहरुको स्वरोजगारी, कृषि, शिक्षा र पूर्वाधार विकाससमेत यस क्षेत्रका मतदाताहरुका साझा मागहरु सुनिन्छन् । लम्की क्षेत्रका नागरिक अगुवा नरबहादुर रावल निर्वाचन क्षेत्र नम्बर २ को मुख्य सवाल औद्योगिक क्षेत्र स्थापना भएको बताउँछन् । उनले भने ‘सुशासन, भ्रष्टाचारको अन्त्य त हुनै पर्दछ ।’
लम्कीचुहा उद्योग बाणिज्य संघका महासचिव पुष्पराज ढकालको भनाई पनि समान छ । उनी पनि प्रस्तावित औद्योगिक क्षेत्र डुडेझारी स्थापना मुख्य सवाल भएको बताउँछन् । ढकालले भने ‘सरकारी शिक्षामा गुणस्तर सुधार, स्वरोजगार, पूर्वाधार विकास, चिसापानी कुइने सडक विकास यस क्षेत्रका प्राथमिक मागहरु हुन् ।’
चिसापानीदेखि लम्की र माथि पहाडी क्षेत्र मोहन्यालसम्म फैलिएको कैलाली २ मा पनि ‘नयाँ र पुराना’ को भाष्य सुनिन्छ । पुराना पार्टीहरु एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी बलियो संगठन भएका पार्टी छन् । भने पहिचानवादी मुद्दा लिएर मत मागिरहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार र रास्वपाका उम्मेदवार पनि जबरजस्त ढंगलाई आफूलाई अघि बढाइरहेका छन् ।
एमालेबाट जिल्ला समन्वय समितिका पूर्वप्रमुख सुर्यबहादुर थापा उम्मेदवार छन् । कांग्रेसबाट ट्रेड युनियनको राजनीति गरेका विजय स्वाँर, नेपाली कम्युनिस्ट पार्टीबा प्रदेशसभाका पूर्वसदस्य नन्दबहादुर साउँद राजे उम्मेदवार छन् । संगठनका दृष्टिले मजबुत रहेका ती प्रमुख तीन दलका उम्मेदवारहरुलाई कान्छा उम्मेदवारका रुपमा रहेका रास्वपाका केपी खनालले कडा टक्कर दिइरहेका छन् ।
अर्कोतिर थारु समूदायको बाहुल्यता रहेको यस क्षेत्रमा रेशम चौधरी संरक्षक रहेको नाउपा नेपालका उम्मेदावर पतिराम चौधरीसमेत मैदानमा छन् । अन्य सबै उम्मेदावरलाई थारु समूदायको मत तान्ने चुनौति देखिन्छ भने रास्वपाका खनाल भने घण्टीप्रतिको लहरको लाभ प्राप्त गरेर आफूले जित्नेमा विस्वस्त देखिन्छन् । यस क्षेत्रमा ०७९ को प्रतिनिधि सभामा साविक नाउपाका उम्मेदवार अरुण चौधरी निर्वाचित भएका थिए ।
एमाले उम्मेदवार सुर्यबहादुर थापा आफूले पाँच हजार युवाहरुलाई रोजगारी प्रदान गर्ने बाचा गरिरहेका छन् । कांग्रेस उम्मेदवार विजय स्वाँरले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेप्नु परेको देखिएको छ । उनी कृषि क्षेत्रको आधुनिकिरणमा लैजानु प्रमुख आवश्यकता देखेको बताउछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नु र युवा स्वरोजगारीको सवाललाई मुख्य सवाल भएको बताउँछन् । ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य भइसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउँद पूर्वाधार विकास पहिलो आवस्यकता रहेको भनाई राख्छन् । यस्तै नाउपा नेपालका उम्मेदवार पतिराम चौधरी युवा लक्षित स्वरोजगार कार्यक्रमहरु पहिलो प्राथमिकता रहेको बताउँछन् ।
यस क्षेत्रमा ०७९ को निर्वाचनमा समानुपातिकतर्फ साविक नागरिक उन्मुक्ति पार्टीले १९ हजार ५९७, एमाले १२ हजार ८१८, कांग्रेस १० हजार १७९, माओवादी केन्द्र ७ हजार १६९, रास्वपा ४ हजार ५४, राप्रपा २ हजार ५९६ मत थियो । यस निर्वाचन क्षेत्रमा महोन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्दछन् । यहाँ एकलाख सात हजार ७५५ जना मतदाता छन् ।
प्रतिक्रिया