धनगढी । नेपालीहरुको महान पर्व बडादसैँ आजबाट सुरु भइसकेको छ । आज पहिलो दिन घटस्थापना, वैदिक विधिपूर्वक जमरा राखिन्छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा योजना लागू हुँदै आएको छ । विशेष गरी दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाउने गरिएको छ ।
यसपटक जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीका कारण सुदूरपश्चिम प्रदेशमा सुरक्ष चुनौती बढेको छ । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० प्रकाश रानाभाटका अनुसार २४ भदौमा एक हजार चार सय ५८ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये आठ सय ६१ जना कैदीबन्दी कारागार फर्किसकेका छन् भने पाँच सय ९७ कैदीबन्दी अझै फरार रहेका छन् ।
जवरजस्ती करणी, कर्तव्य ज्यान लगायतका मुद्धामा दोषी ठहर भइसकेका व्यक्ति पनि फरार रहेको कारण यसपटकको चाडपर्वमा सुरक्षा चुनौती बढेको सुरक्षा अधिकारीहरु बताउँछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना बनाएर विगतभन्दा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सुरक्षा निकायबीच समझदारी भएको बताए ।
‘चाडपर्वमा अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सुरक्षा सतर्कता बढाइएको छ,’ डीआईजी बिकले भने, ‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गर्दैछौं । विगतका समस्यालाई मध्यनजर गरेर कस्तो सुरक्षा रणनीति बनाउन सकिन्छ भनेर लागिरहेका छौं ।’
डीआईजी बिकले दसैं, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षा र आवागमनमा सहजताका लागि विशेष योजना तयार भइरहेको बताए । उनका अनुसार चाडपर्वमा हुने आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाका लगायतका ठाउँमा नागरिक सहायता कक्षा स्थापना गर्न थालिएको छ ।
चाडपर्वको अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनको योजना पनि बनिरहेको डीआईजी बिकले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षासंगै चोरी–तस्करी, ठगी, लुटपाट, जुवा लगायतका अपराधिक गतिविधि नियन्त्रणको विषयमा समेत रणनीति तयार पार्न थालिएको छ ।
प्रतिक्रिया