धनगढी । दसैँ सुरु हुनै लाग्दा जताततै घर फर्कनेको लर्को छ । बसपार्क र विमानस्थलहरु यात्रुले खचाखच छन् । सुनसान रहेका गाउँमा पनि चहलपहल बढ्न थालेको छ । त्रिनगर, गड्डाचौकीलगायत नाकाहरुमा भारतबाट स्वदेश फर्कने नेपालीको घुँइचो छ ।
त्यही घुँइचोमा देखिएका कैलालीको सुख्खडका हरिनारायण कठरिया । तर, उनी दसैँ मनाउन घर फर्किरहेका थिएनन् । दसैँको मुखमा रोजगारीका लागि भारततर्फ गइरहेका थिए उनी । रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले तीन वर्षदेखि परिवारसँग दसैँ मनाउन नपाएको दुखेसो हरिनारायणको छ ।
डडेल्धुराको नवदुर्गाका कृष्ण भण्डारी भारतको बैंग्लोर जाँदै थिए । एक महिनाअघि घर आएका उनी बैंग्लोरको एक होटेलमा तीन वर्षदेखि गर्दै आएको कुकको काममा फर्कन लागेका हुन् । चाडवाडका बेला घरमा आमा, श्रीमती र दुई छोरा छोडेर जाँदा नरमाइलो लागे पनि बाध्यता रहेको उनले बताए । भण्डारीका अनुसार उनी रोजगारीका लागि भारत जान थालेको नौ वर्ष भएको छ । छ वर्ष गुजरातमा काम गरेको र पछिल्लो तीन वर्षदेखि बैंग्लोरमा रहेको उनले बताए । ‘घरासयी कामले एक महिनाको छुट्टिमा आएको थिएँ । छुट्टी सकिएपछि फर्कन लागेको हँु,’ भण्डारीले भने, ‘यहीँ काम गर्ने भएको भए त परिवारसँगै चाडपर्व मनाउन पाइन्थ्यो । यहाँ काम नपाएपछि परिवार पाल्न पनि अर्काको देश जानु प¥यो ।’ उनले स्वदेशमा रोजगारी पाइएला भन्ने आशा पनि नरहेको बताए ।
रोजगारी सिर्जना, औद्योगिक, पूर्वाधारलगायत विकास पछाडि रहेको सुदूरपश्चिमका लागि भारत रोजगारीको प्रमुख गन्तव्य हो । एकिन तथ्यांक नभए पनि सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या लाखौं छ । चाडपर्वकै बेला यहाँका विभिन्न नाकाबाट दैनिक सयौँ नागरिक कामको खोजीमा भारत जानुले पनि सुदूरपश्चिममा बेरोजगारी र गरिबीको अवस्था दर्शाउँछ ।
हिजोआज दसैँका बेला भारत जानेहरु कतिपय बिदा सकिएर पुरानै काममा फर्कने छन् भने कतिपय कामको खोजीमा जानेहरु । उनीहरुका अनुसार नेपालीहरु घर फर्कने भएकाले चाडवाडको बेला रोजगारी पाउन सहज हुन्छ । कतिपय दसैँ नहुनेहरु पनि कामको खोजीमा भारत गइरहेका छन् । डोटीका केआइसिंहका दीपक भट्टले यतिबेला काम पाउन सहज हुने भएकाले आफू भारतको पञ्जाब जान लागेको बताए ।
नाकामा भारत जानेहरुको भीडमा बालबालिकाहरु पनि देखिन्छन् । चाडवाडका बेला विद्यालय बिदा हुने भएकाले आमाबुवा भारतमा भएका बालबालिका आफन्तसँग भारत जाने गरेका छन् । अछामको मेल्लेखका भीमबहादुर बिकसँग उनको गाउँका छ जना बालक गुजरातको राजकोट जाँदै थिए । बिकका अनुसार सबैका आमाबुवा उतै काम गर्छन् । उनी पनि घरमा आमालाई एक्लै छोडेर श्रीमती कमलासँगै काममा फर्कन लागेका हुन् । ‘भाइ पनि उतै काम गर्छ । साना छोराछोरी भाइको जिम्मा छोडेर हामी पनि केही दिनका लागि आएका थियौँ, चाडवाडका बेला आमालाई छोडेर फर्कदै छौँ,’ नाकामा भेटिएका बिकले भने ।
धनगढी उपमहानगरपालिका–२, का चन्द्रसिंह रोकाया आफ्ना नातीसहित परिवार र छरछिमेकका ११ जना बालबालिकालाई आफन्तसँग भारत पठाउन त्रिनगर नाका पुगेका थिए । विद्यालय बिदा रहेकाले बालबालिकालाई उनीहरुका आमाबुवा काम गर्ने ठाउँमा पठाउन लागेको उनले बताए ।
त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार यतिबेला भारतबाट दैनिक एक हजार हाराहारीमा आइरहेका छन् भने डेढ–दुई सय जनासम्म भारत जाने गरेका छन् । सीमावर्ती बजारमा किनमेल गर्न जानेको संख्या करिब डेढ हजारभन्दा बढी हुन्छ ।
प्रतिक्रिया