ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट काँग्रेसले उठायो संसद पुर्नस्थापनाको माग, देउवाबारे के भन्यो ?

बुधबार ०८, असोज २०८२ ०२:५९

धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा पुर्नस्थापनाको माग उठेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले यस्तो माग अघि सारेको हो । बुधबार धनगढीमा राष्ट्रिय राजनीतिको निकास र नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक एकताका सम्बन्धमा बसेको बैठकले यस्तो माग अघि सारेको हो ।

धनगढीमा उपलब्ध नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य, जिल्लाका पदाधिकारीबीच भएको बैठकले प्रतिनिधिसभा पुर्नस्थापना गर्नुपर्ने र पुर्नस्थापित प्रतिनिधि संभामार्फत संविधान संशोधन गर्नुपर्ने माग अगाडि सारेको नेपाली कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए । 

संशोधित संविधानमा टेकेर आम निर्वाचन गर्नुपर्ने निर्णय पनि भएको उनले बताए । ‘पार्टीको आन्तरिक एकता सम्वन्धमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सांघातिक आक्रमणमा पर्नु र कोइराला निवास, चाक्सीबारी र भट्टराई आश्रम लगायत पार्टीका नेताहरुको निजी आवास, पार्टी कार्यालायहरुमा भएको आगजनी र तोडफोडले लोकतन्त्र मास्ने र कांग्रेसलाई कमजोर बनाउने विभिन्न शक्ति केन्द्रहरुको पर्दा पछाडिको खेल हो भन्ने बैठकको निष्कर्ष रह्यो,’ रावतले भने, ‘यसबाट उत्पन्न परिस्थितमा पार्टीलाई एक बनाउन आवश्यक रहेकोबारे पनि छलफल भयो ।’

पार्टी सभापति देउवा उपचारका क्रममै भएको हुँदा वर्तमान पदाधिकारीलाई सुझबुझका साथ पार्टीमा एकता कायम गरी निर्णय लिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ । ‘नेपाली कांग्रेसको विधान र पार्टी सभापतिज्यूले नियमित महाधिवेशनमा पार्टी सभापति नलड्ने र नेतृत्व हस्तान्तरण गर्ने भन्नु भएको सर्वविधितै कुरालाई पार्टीका पदाधिकारी र सदस्यले मनन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र  पार्टीभित्र एकता कायम हुन नदिने जस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौँ ।’

बैठकले सरकारले क्षतिको वास्तविक आकलन गर्दै आवश्यक पुर्नस्थापना र पुनःनिर्माणको कार्य अगाडि बढाउन तथा आन्दोलमा घुसपैठ गरी आगजनी, तोडफोड़ा र हिंसामा संलग्न दोषीको पहिचान गरि आवश्यक कानुनी कार्बाही गर्न पनि माग गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहसंगै कांग्रेस सुदूरपश्चिमका कार्यबाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र र नृपबहादुर वड, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र र नारायणदत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटी लगायत २४ जनाको सहभागिता थियो ।

प्रतिक्रिया