धनगढी । कैलालीको धनगढीमा समुदाय र सुरक्षाकर्मीबीचको आत्मीयता अझै प्रगाढ बनाउन खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रहरी–पब्लिक ब्याडमिन्टन क्लब धनगढीले असोज १० र ११ गते दुईदिने ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।
हालैको जेनजी आन्दोलनले उत्पन्न गरेको असहज परिस्थितिलाई सहज बनाउन र प्रहरी–जनता सम्बन्धलाई अझै सुदृढ बनाउने लक्ष्यसहित यो प्रतियोगिता तय गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता संयोजक राजेन्द्र बमले भने, ‘यो केवल खेलकुद मात्र नभई आपसी विश्वास, आत्मीयता र सहकार्यलाई बलियो बनाउने सामुदायिक अभियान पनि हो । दसैँको शुभकामना आदानप्रदानसँगै खेलमैत्री वातावरण सिर्जना गरेर प्रहरी र पब्लिकबीचको दूरी घटाउने हाम्रो प्रयास हो ।’
प्रतियोगितामा विभिन्न उमेर समूहका सहभागीहरुको उपस्थिति रहनेछ। आयोजकले यसलाई सामाजिक सद्भाव, खेलकुदप्रतिको आकर्षण र समुदाय–प्रहरी साझेदारीलाई व्यवहारमा उतार्ने सकारात्मक अभ्यासका रूपमा लिएको छ।
प्रतिक्रिया