धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालयको कार्यालय भवन जेनजी आन्दोलनको क्रममा आगजनी गरिएको कारणले प्रयोग गर्न अयोग्य भएको छ । प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय कैलालीले गरेको आगलागी क्षति मूल्यांकनमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएपछि दुबै मन्त्रालय स्थानान्तरण गरी नयाँ भवनमा सारिएको छ ।
भवन कार्यालयका इञ्जिनियर रोहित अधिकारीले ती मन्त्रालयहरुको कार्यालय भवन एमदमै पुरानो रहेको र भुइँ तलामै बढी क्षति भएको हुँदा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको बताए । उनले प्रदेशका जलाइएका कार्यालयको भवनहरु क्षति मूल्यांकनको काम जारी रहेको बताए । केही दिनमै मूल्यांकनको काम सकिने उनले बताए ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तीन, प्रदेशसभाको चार वटा भवनमा धेरै क्षति भएको थियो ।ती भवनहरुको आंशिक क्षतिको सूचिमा रहेको भवन कार्यालयले जनाएको छ । प्रदेशका सात वटै मन्त्रालयसहित धनगढीमा रहेका २१ वटा कार्यालयको ३३ वटा भवनमा आगजनी भएको थियो ।
स्थानीय तहको भवनमा पनि ठुलो क्षति
जेनजी आन्दोलनको क्रममा जलाइएका कैलालीका स्थानीय तहहरुको भवनमा समेत टुलो क्षति पुगेको छ । कार्यालय भवनदेखि जिन्सी सामाग्री जलेर नष्ट नहुँदा स्थानीय तहहरुलाई लयमा फर्किन चूनौतिपूर्ण भएको छ ।
कैलालीको कैलारी गाउँपालिकाको कार्यालयसहित ९ वटै वडा कार्यालयको भवन जलेको छ । कैलारीको वडा नं. १, २, ५ र ९ को कार्यालयमा आंशिक क्षति भएको हुँदा सरसफाई गरेर सेवा सञ्चालन गरिएको सूचना अधिकारी यगम कलेले बताए । उनले वडा नं. ४, ७ र ९ को कार्यालय भवन पूर्ण क्षति भएको हुँदा युवा क्लबहरुको भवनबाट सेवा सञ्चालन गरिरहेको बताए । वडा नं. ६ को कार्यालय विद्यालय भवनमा सञ्चालन गरिएको छ ।
घोडाघोडी नगरपालिकाको पनि कार्यालय भवन र १२ वटै वडा कार्यालयको भवन जलेको छ । गोदावरी नगरपालिकाको नवनिर्मित भवनको आधाजति भाग प्रयोग गर्न अयोग्य भएको छ । केही भागमा आंशिक क्षति पुगेको हुँदा पूर्ण क्षति भएको भागतिर छोडेर सोही भवनमा गोदावरीले कार्यालय सञ्चालन गरेको छ ।
गौरीगंगा नगरपालिकाको कार्यालय भवनमा आंशिक क्षति पुगेको छ भने सो नगरपालिकाको ९ वटा वडा कार्यालय भवनमा पूर्ण र दुई वटा वडा कार्यालयको भवनमा आंशिक क्षति पुगेको छ ।
प्रतिक्रिया