ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको शिव पार्वती सप्लायर्समा छापा, ९५ लाखको सामानसहित दुई जना पक्राउ

बुधबार २६, कार्तिक २०८२ १०:४८

धनगढी । कैलालीको धनगढीबाट ९५ लाखको सामानसहित दुई जना पक्राउ परेका छन् । धनगढी बसपार्कमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका सञ्चालक २५ वर्षीय आसुतोषकुमार गुप्ता र धनगढी उपमहानगरपालिका–१९ खेदा निवासी ३३ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरिएको हो । 

गुप्ता भारतको लखीमपुर खीरीका बासिन्दा हुन् । मंगलबार धनगढीमा सशस्त्र प्रहरीले एक अपरेसन चलाएको थियो । सो क्रममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेका मोबाइल पार्ट्ससहित सुरुमा चौधरीलाई पक्राउ गरिएको थियो । सशस्त्रको टोलीले उनलाई उत्तरबेहडीमा चेकजाँच गर्दा नौ लाख आठ हजार बढीको अवैध सामान फेला पारेपछि पक्राउ नै गरेको थियो । 

अनुसन्धानका क्रममा चौधरीले भारतबाट भन्सार छली सामान ल्याउने गरेको र मोबाइल पाटर््स धनगढीकै बसपार्कस्थित शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा बुझाउने गरेको बताएका थिए । त्यसपछि त्रिनगरस्थित सशस्त्र प्रहरीको टोली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सप्लायर्समा छापा मारेको थियो । 

सो क्रममा भन्सार छलीको ८४ लाख ४२ हजार ५५० रुपैयाँ बराबरका मोबाइल पाटर््स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सम्पूर्ण सामानको मूल्य ९५ लाख बढी रहेको बताइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया