ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बैंकिङ कसुर बढ्यो, तीन महिनामा ६० मुद्दा

शुक्रबार २८, कार्तिक २०८२ ०८:४०

धनगढी । कैलालीमा बैंकिङ कसुर बढ्दै गएको छ । जिल्ला अदालत कैलालीका अनुसार चालुआर्थिक वर्षको तीन महिनामै ६० वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०८१/८२ मा २१९ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको थियो भने तिमध्ये हालसम्म एक सय वटा मुद्दा फैसला भएको छ । चालुवर्षको ६० वटा  र गतवर्षको १०९ वटा गरी जम्मा १६९ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा चालु रहेको जिल्ला अदालतका सूचना अधिकारी पंकज उपाध्यायले बताए ।

चेक अनादर सम्बन्धी मुद्दा छुट्टै दर्ता हुँदै आएकोमा गत असारमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन भएपछि चेक अनादर सम्बन्धी मुद्दा समेत सरकार बादी भई बैंकिङ कसुर मुद्दाक दर्ता हुने गरेको छ । यसले गर्दा बैंकिङ कसुरको मुद्दा अझै बढी दर्ता भइरहेको उपाध्यायले बताए । ‘गतवर्षसम्म चेक अनादर र बैंकिङ कसुरको मुद्दा छुट्टा छुट्टै दर्ता हुन्थ्यो,’ उनले भने, ‘अब दुबै मुद्दा बैंकिङ कसुर अन्तरगत दर्ता हुन थालेको हुँदा झनै बढेर आएको छ ।’

अबका दिनमा चेक अनादर सम्बन्धी मुद्दा दर्ता गर्न नपाइने भनेर विनियम पत्र ऐन गत असारमा संशोधन गरिएको अभिवक्ता गम्भीरसिंह ऐरले बताए । उनले चेक अनादर भएको एकवर्षभित्रै सरकार वादी भई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४५ बमोजिम बैंकिङ कसुरमा दर्ता हुने गरेको बताए ।

उनले चेक अनदार भएको एक वर्ष कटेपछि विनिमय पत्र ऐन बमोजिम व्यक्तिवादी भई लेनदेन मुद्दा दर्ता हुने गरेको बताए । सो ऐनको दफा १०८ बमोजिम चेक अनादर भएको एकवर्षदेखि पाँच वर्षसम्म लेनदेन मुद्दा दर्ता गर्न पाइन्छ ।

जिल्ला अदालतका अनुसार कैलालीमा घरजग्गा खरिद, सामान किनबेच सम्बन्धी कारोबार चेक मार्फत् गरेको तर भुक्तानी नभएका मुद्दाहरु प्रायः जसो बैंकिङ कसुर अन्तरगत दर्ता हुने गरेको छन् ।

जमीन बन्दकी राखी लिएको सापटी फिर्ता, जग्गा खरिदका लागि लिएको बयाना फिर्ता गर्दा चेक मार्फत् दिएपनि भुक्तानी हुन नसकेका मुद्दाहरु बढी छन् ।

प्रतिक्रिया