ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शुक्लाफाँटा निकुञ्जको ५१४ हेक्टर जमिन अतिक्रमण

आइतबार ३०, कार्तिक २०८२ ०२:२२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ ।

अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी दिए । उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।

सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया) मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए । ‘कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ’, उनले भने, ‘यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुवधा पाउन सक्दैनन् । सोहीकारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ ।’ 

निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ । हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए । नेपाल–भारत सिमानाको पिल्लर नं २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ । सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले उल्लेख गरे ।

‘उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ’, उनले भने- ‘गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ ।’ भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन् ।

विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ । 

यहाँ एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । 

प्रतिक्रिया