ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेविरुद्ध के हुँदैछ कारबाही ?

आइतबार ३०, कार्तिक २०८२ ०५:००

धनगढी । २३ भदौमा जेनजीको आन्दोलनमा सरकारले दमन गरेपछि २४ भदौमा सरकारी र निजी सम्पत्तिमा ठुलो क्षति भयो । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि २४ भदौको आन्दोलनले उग्र रुप लिएपछि करोडौंका संरचना ध्वस्त भए, सयौं सवारीसाधनमाथि आगजनी भयो । सार्वजनिक संरचनमा लुटपाट पनि भयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका एक सय ३७ संरचनामा आगजनी र लुटपाट भएको थियो । ‘एक सय पाँच सरकारी कार्यालयसहित एक सय ३७ वटा घरमा आगजनी र तोडफोड भएको थियो,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘आगजनी भएका कतिपय कार्यालयबाट लुटपाट पनि भएको छ ।’ सूचना अधिकारी जोशीका अनुसार पाँच सय ७८ वटा सवारीसाधनमाथि पनि आगजनी गरिएको थियो । ‘क्षतिको विवरण संकलनको कार्य अहिले पनि जारी छ,’ उनले भने । 

जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनी गर्नेलाई अहिले देशभर प्रहरीले पक्राउ गर्दै कानुनी कारबाही थालेको छ । क्षति बेहोरेका कार्यालयलाई उजुरी दिन पनि आग्रह गरिएको छ । तर, कैलालीमा भने अहिलेसम्म आगजनी, तोडफोड र लुटपाटमा संलग्न कसैलाई पनि पक्राउ गरिएको छ । कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले भने, ‘हामी आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धान गरिरहेका छौं । थुप्रै भिडियो फुटजहरु प्राप्त भएका छन् । फुटेजमाथि पनि अनुसन्धान भइरहेको छ । दोषीलाई कारबाहीको दायरमा ल्याउने प्रयासमा छौं ।’ 

यता कैलाली जिल्ला अदालतले भने जाहेरी दिएको छ । अदालतका श्रेस्तेदार चेतराज पन्तले २४ भदौमा अदालतमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीमा बेनामे जाहेरी दिएको जानकारी दिए । ‘जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा ठुलो क्षति भएको थियो,’ उनले भने, ‘घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउन प्रहरीमा जाहेरी दिएका छौं ।’

२४ गते सरकारी वकिल कार्यालय, जिल्ला बार एसोसियसन, अदालतको मुख्य भवन लगायत सबैतिर आगो लगाइएको थियो । अदालतले संकलन गरेको विवरणअनुसार भौतिकअन्तर्गत भवन, झ्यालढोका, दराज लगायतमा मात्र दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

यस्तै सूचना प्रविधिअन्तर्गत पनि सबै भवनका कम्प्युटर, प्रिन्टर, स्क्यानर, सूचना प्रणली र सोलार सिस्टम गरेर दुई करोड ५० लाखकै क्षति आकलन गरिएको छ । सवारी साधनको क्षति आकलन हुन बाँकी छ । अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् । 

प्रतिक्रिया