कैलालीको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन् । पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिकालगायतका संरचना छन् । त्यसबेलाका राजाहरू यहाँ आएर बसेका कारण उनीहरूकै नाममा संरचना बनाइएको छ ।
टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए । राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएको थियो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो ।
२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित शहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ ।
तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी




प्रतिक्रिया