ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संरचना सुधार नगरे चुनावपछि पनि यही अवस्था रहन्छ : मुख्यमन्त्री शाह

सोमबार ०१, मङि्सर २०८२ ०२:२२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संस्थागत संरचनामा सुधार नगरेसम्म राजनीतिक परिवर्तनले मात्र मुलुकको अवस्था नफेरिने बताएका छन् । धनगढीमा सोमबार सार्वजनिक उत्तरदायित्व प्रवद्र्धनका लागि एफएम रेडियोकर्मीका लागि आयोजित असल अभ्यास सम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संरचनागत सुधार अहिलेको आवश्यकता रहेको बताए ।

कर्मचारी संयन्त्रप्रति लक्षित गर्दै मुख्यमन्त्री शाहले संरचनागत सुधार नहुँदा चाहेर पनि काम गर्न नसकिने अवस्था रहेको बताए । काम गर्दा ढिलासुस्ती, प्रकृयामा अल्झिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले संरचनागत सुधार नभएसम्म चुनावपछि पनि अहिलेको मुलुकको अवस्थामा खासै परिवर्तन नहुने दावी गरे ।
 
‘यी सबै कुरामा सुधार गरेर नजाने हो भने चुनावपछि पनि केही हुनेवाला छैन । सांसद, मन्त्रीसम्म भ्रष्टाचार गर्ने गरेको भन्ने आएपछि हामीले उपभोक्ता समिति खारेज ग¥यौँ तर संघसँग बाँझिएको नाममा कार्यान्वयन भएन’ कर्मचारी संयन्त्रपछि इंगित गर्दै उनले भने, ‘अनुकुल भए बाँझिए पनि ठीक्क हुने नभए संघसँग बाँझिएयो, बाँझिएको हदससम्ममा निश्क्रिय हुन्छ भन्ने कुराहरु छन् ।’

राज्य संचालनमा पात्र परिवर्तन गरेरमात्र हुँदैन, संस्थागत संरचनालाई बलियो बनाउनु पर्छ भनेर आफूले प्रधानमन्त्रीसँगको भेटमा भनेको शाहले बताए । २०४६ र २०६२÷०६३ मा राजनीतिक परिवर्तनपछि संस्थागत संरचना सुधारमा मुलुक चुकेको उल्लेख गर्दै उनले अहिले संरचनागत सुधारमा गर्ने बेला आएको बताए ।

‘संरचना सुधारमा सुधार गर्नैपर्छ । मुख्यमन्त्रीको टेबुलमा आएको फाइल तुरुन्तै अगाडि बढ्ने, कर्मचारीको टेबुलमा आएको फाइल केही घण्टामा अगाडि बढाउने गरी सुधार हुनुपर्छ’, मुख्यमन्त्री शाहले भने ।

उनले सुदूरपश्चिम प्रदेशको सञ्चार क्षेत्र बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको पनि बताए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सहकार्य र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा अनुशिक्षण कार्यक्रम सुरु भएको हो । महासंघका प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको अनुशिक्षण उद्घाटनमा पत्रकार संवद्ध विभिन्न पेशागत संघसंगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया