धनगढी । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई सिफारिस गरिएको मध्ये एक जना उपकुलपति र एक जना रजिष्ट्रार नियुक्त हुने उनले बताए ।
‘उपकुलपतिका लागि दुई जनाको मात्र आवेदन परेको थियो । त्यसमध्ये एक जनाको आवेदन प्रक्रिया पूरा नभएकाले स्वीकृत भएन भने प्रक्रिया पुरा गरेका एक जनाको नाम उपकुसलपतिका लागि सिफारिस भएको छ । ‘रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस गरिएको छ,’ अवस्थीले भने, ‘तीन जना मध्ये एकजना रजिष्ट्रार नियुक्त हुनेछन् । विश्वविद्यालयको ऐनअनुसार सभा बैठक डाँकेर सिफारिस भएका मध्येबाट नियुक्ति गरिनेछ ।’
समितिले सिफारिसमा परेकाहरुको नाम भने खुलाएको छैन । उपकुलपतिका लागि आवेदन नपरेपछि समितिले तेस्रो पटक सूचना जारी गरेर आवेदन माग गरेको थियो । दुई पटकसम्म आवेदन नपरेपछि शिक्षा पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक दरखास्त आह्वान गरेको थियो । एउटा पनि दरखास्त नपरेपछि मंसिर २३ गते समितिले मंसिर २८ गतेसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो ।
रजिष्ट्रारमा १० जनाको आवेदन परेमा सात जनालाई सर्टलिस्ट गरेर अन्तर्वार्तामा लिइएको थियो । कञ्चनपुरका खेमराज जोशी, बैतडीका गोविन्दसिंह विष्ट, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका डमरुप्रसाद पनेरु, कैलालीका पदमराज जोशी, बैतडीका भीमबहादुर चन्द र कैलालीका शिवप्रसाद सापकोटा सर्टलिस्टमा परेका थिए । तीमध्ये तीनको नाम सिफारिस भएको हो ।
गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको छ । पदाधिकारी नियुक्तिपछि विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशमा चिकित्सा पठनपाठन थाल्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया