धनगढी । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद बढ्दै गएको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पार्टीसंग विशेषको विकल्प नभएको बताउँदै आएका छन् । संस्थापन पक्ष भने प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् । पार्टीभित्र विवाद चर्किदै जाँदा सुदूरपश्चिममा भने विशेष महाधिवेशनका पक्षधर नेताहरु धमाधम हस्ताक्षर फिर्ताको घोषणा गर्न थालेका छन् ।
कैलालीका मात्रै सात जना नेताहरुले विशेष महाधिवेशनमा आफूहरुको पनि हस्ताक्षर रहेको बताउँदै हस्ताक्षर फिर्ताको घोषणा गरेका छन् । उनीहरुले लिखित रुपमा नै हस्ताक्षर फिर्ता गरेको जानकारी गराएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधि रिता भण्डारीले देश निर्वाचनमा होमिसकेको बताउँदै विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरेको बताएकी छिन् । ‘वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका आइसकेको र देशमा राजनीतिक परिवर्तनपछि आम निर्वाचनको घोषणा भइसकेको हुँदा त्यसको तयारीका लागि एकजुट भई लाग्नुपर्ने जिम्मेवारी छ,’ भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता गरेकी छु ।’
यस्तै कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि कर्णबहादुर चौधरी, दीपा बडायक, प्रेमबहादुर बिष्ट, शिवा थापा, बिसुदेवी बडुवाल र रंगबहादुर सुनारले पनि आफूहरु नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै सयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले विशेष महाधिवेनका लागि नभई सम्पूर्ण प्रक्रिया पूरा गरेर नियमित महाधिवेशनका लागि आफूहरुले हस्ताक्षर गरेको बताएका छन् । उनीहरुको हस्ताक्षर विशेष महाधिवेशनको प्रस्तावमा प्रयोग गरिएको थियो ।
यसअघि नै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका विक्रमसिंह धामीले विशेष महाधिवेशनका नाममा हस्ताक्षर दुरुपयोग गरिएको बताएका थिए । दार्चुलाका धामी र महाधिवेशन प्रतिनिधि गोकर्णबहादुर चन्दले विज्ञप्ति जारी गर्दै हस्ताक्षरको दुरुपयोग भएको बताएका थिए ।
‘नेपाली काँग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवाज्यू र उहाँकी धर्मपत्नी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजु देउवाज्यू जेन–जी आन्दोलनको क्रममा आफ्नै निवासमा सांघातिक हमलामा परेको अवस्थामा हस्ताक्षर गर्ने परिकल्पना गर्ने सकिदैन,’ उनीहरुले भनेका थिए्, ‘अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग भएकोमा विशेष महाधिवेशनको लागि कतै हस्ताक्षर नगरिएको व्यहोरा अनुरोध गर्दछौं ।’ धामी र चन्दको हस्ताक्षर पनि विशेष महाधिवेनका लागि भन्दै प्रयोग गरिएको थियो । सुदूरपश्चिम प्रदेशका ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेषका लागि हस्ताक्षर गरेको दाबी गरिएको छ ।
प्रतिक्रिया