ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ४ का कांग्रेस उम्मेदवार ‘आनन्द’का यस्ता छन् १० प्रतिबद्धता

सोमबार ०४, फागुन २०८२ ०४:२१

धनगढी । कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द)ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । १० बुदामा रहेको प्रतिवद्धता पत्रमा उनले पहिलो प्राथमिकता कृषिलाई दिएका छन् । अधिकांश ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकको मुख्य पेशा कृषि भएकाले उनले कृषिलाई प्रतिवद्धता पत्रको पहिलो बुदामा राखेको बताएका छन् ।

जसअन्तरगत कृषकका लागि समयमा मलखाद, वीउविजनको उचित व्यवस्थापन, सिंचाइ एवम् आधुनिक कृषि प्रणालीको विकास गर्ने, किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चितताका लागि पहल गर्ने, सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छाडा चौपायालाई व्यवस्थित गर्ने, पशुपालन र दुग्ध व्यवसाय प्रवद्र्धन गर्न किसानका लागि विशेष योजना ल्याउने, भूमिहीन, दलित, सुकुमवासी, मुक्त कमैया तथा अव्यवस्थित बसोवासीको भूमि सम्वन्धी समस्या समाधान गरी लालपुर्जा वितरण गर्न पहल गर्ने, तीन खम्बे अर्थतन्त्र अन्तर्गत रहेको सहकारी क्षेत्रलाई पारदर्शी, समयानुकुल तथा विश्वसनीय बनाउनेतर्फ अग्रसर हुने, कृषकलाई न्युन व्याजदरमा विना झन्झट सहुलीयत ऋण प्रदान गर्नका लागि छुट्टै नीति अवलम्बन गर्न नेपाल सरकारसँग पहल गर्ने, सीप क्षमता एवम् दक्षताका आधारमा युवाहरूलाई स्वरोजगराका लागि कृषि तालिम तथा उद्यमशीलतामा केन्द्रित गर्ने र तीनवटै पालिकामा शीत भण्डारको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।

दोस्रो प्राथमिकतामा राखिएको शिक्षाअन्तरगत प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्थापन गर्ने, आर्थिक रूपमा विपन्न परिवारका छोरीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको उन्नयनका लागि गैर राजनीतिक वातावरण सिर्जना गर्ने, क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा विकास गर्ने, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई आईटी क्याम्पसको रूपमा विकास गर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा आउँदो आर्थिक वर्षबाट मेडिकल साइन्स अध्यापनको वातावरण सिर्जना गर्ने, शिक्षक तथा कर्मचारीको आन्दोलनमा उठाइएका जायज माग सम्बोधन गर्ने, चुरे गाउँपालिकामा यथासक्य चाँडो क्याम्पस सञ्चालन गर्ने लगायतका प्रतिवद्धता गरिएको छ ।

तेस्रो बुदामा स्वास्थ्य क्षेत्रमा गर्ने काम र पहलका बुदा राखिएको छ । जसअन्तरगत यस क्षेत्रमा रहेका अस्पतालहरूलाई स्तरोन्नति गर्ने, प्रत्येक पालिकामा बालमैत्री, अपाङ्गमैत्री र ज्येष्ठ नागरिकका लागि सार्वजनिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा यथासक्य चाँडो एम्बुलेन्स सेवा उपलब्ध गर्ने, नगर र पालिकामा स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने, स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, थारु समुदायमा देखिने सिकलसेल एनिमियाका विरामीलाई निःशुल्क उपचारका लागि थप प्रभावकारी बनाउने र घुम्ती स्वास्थ्य शिविरलाई यस क्षेत्रका दूरदराजमा मासिक रूपमा सञ्चालन गर्ने बुदा उल्लेख छन् ।

प्रतिबद्धता पत्रमा सबैभन्दा धेरै बुदा पूर्वाधारका समेटिएका छन् । जसमा २०७४ सालमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले तोकेको स्थानमा प्रदेशको राजधानी बनाउन निर्णायक प्रयत्न गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बहुउद्देश्यीय रंगशाला निर्माण गर्न प्रयास गर्ने, गैरसरकारी संस्थाहरूसँग समन्वय गरी आवश्यकताअनुसार ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न प्रयत्न गर्ने, बर्सेनि नदी कटानले जनजीवन कष्टकर बन्दै गइरहेकाले नदीनालाबाट कटान समस्या समाधान गर्न प्याकेजमा तटबन्ध निर्माण गर्ने, युवाहरूलाई लक्षित गरी गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा खेलकुद मैदान तथा कभर्डहलको व्यवस्था गर्ने, थारू, रानाथारू तथा आदिवासी जनजातिको भाषा, कला, साहित्य, संस्कृति तथा वेशभूषा झल्कने संग्राहालय गौरीगंगा नगरपालिकामा स्थापना गर्ने, ग्रामीण क्षेत्रमा ग्राभेल सडकहरूलाई स्तरोन्नति गरी नाला सहितको कालोपत्र सडक निर्माण गर्न उचित बजेटको व्यवस्था गर्ने, विद्युत सेवा नपुगेका वस्तीमा यथाशक्य विद्युतीकरणका लागि पहल गरिने बुदा उल्लेख छन् ।

यस्तै चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ का किसानलाई सिँचाइका लागि नहर तथा लिफ्टिङ् सिंचाइको प्रवन्ध मिलाउने, आर्यघाटहरूलाई व्यवस्थित बनाउने, सञ्चारको सुविधा नपुगेका बस्तीमा टेलिकमको टावर स्थापनाका लागि पहल गर्ने, भुमिहीन, सुकम्बासी, मुक्त कमैया र कम्लरीको वास्तविक पहिचान गरी व्यवस्थित बसोबासका लागि पहल गर्ने, गोदावरी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, गोदावरीको बुढीतोला, नायल, हाटखोली, ग्वाँसीसमैजी मन्दिर, चुरेको मर्भा दरवार, चुरेको वडा नम्बर ४ स्थित मसुरिखेत थान, गौरीगंगाको मोहन्याल मन्दिरलाई पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्न प्रयास गर्ने, मोहन्याल–५ को धार्मिक स्थल सिंहासन क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, पालिकाको प्रमुख चोकहरूमा सामाजिक विकृति न्युनीकरण गर्न सिसी क्यामेराको व्यवस्थापन गर्ने, राजिपुर–वालुवागडा–खनैया ताल, सडकको स्तरोन्नती गर्ने, तालवन्द–न्यौलाड–पाल्सा–विर्खेत सडक स्तरोन्नती गर्ने, चौमाला–खैराला सडक खण्डलाई विशेष प्रथामिकतामा राख्ने, सहजपुर–निगाली सडक निर्माण प्रक्रिया अगाडी बढाउने, अत्तरिया बसपार्कलाई सुविधा सम्पन्न क्षेत्रीय बसपार्क आगामी आर्थिक बर्ष भित्र सम्पन्न गर्ने, कान्द्रा नदीको वृहत्तर तटवन्धन कार्यक्रम अगाडी बढाउने, खुटिया, गोलादेउ धार्मिक स्थललाई पर्यटकीय क्षेत्रको विकास गर्ने र गोदावरी नगरपालिका – २ मा रहेको लामीताल र शिवमन्दिरलाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान गर्न आवश्यक बजेटको व्यवस्था गर्ने बुदा प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

प्रतिवद्धता पत्रको ५ नम्बर बुदामा महिला, दलित, आदीवासी जनजाति तथा पछाडि पारिएका समुदायका योजना राखिएका छन । जसमा थारु समुदायको संस्कृतिका रूपमा रहेको बडघर र भलमन्सालाई कानुनी मान्यता दिन पहल गर्ने, थारु समुदायको गाउँवस्तीमा आवश्यकता अनुसार सामूहिक देउथान, मरुवा तथा ठनुवा निर्माण गर्ने, महिला समावेशीकरण अनिवार्य कार्यान्वयनका लागि पहल गर्ने, गाउँ टोल र समुदायमा सामाजिक विकृति र सामाजिक अपराधहरूलाई न्यूनीकरण गर्न महिलाहरूको संगठीत संजाल निर्माण गर्ने, दलित, आदीवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि विशेष कार्यक्रम ल्याइनुका साथै सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने कुरा उल्लेख छन् ।

यस्तै ६ नम्बर बुदामा समावेशिता प्रतिवद्धता गरिएको छ । जसमा दलित, आदिवासी, जनजाति, थारु, रानाथारु, मुस्लिम, राजी, कुमाल समुदाय, एकल महिला, लैङ्गिक अल्पसंख्यक र फरक क्षमता भएका व्यक्तिहरूको समावेशी विकासलाई पहिलो प्राथमिकता दिइने, श्रमिक हक हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य बनाउन पहल गर्ने विषय समावेश छन ।

वुदा नम्बर ७ मा उद्योग, लगानी र निजी क्षेत्रका प्रतिवद्धता समेटिएका छन । जसमा यस क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानी भित्र्याउन कानुनी तथा प्रशासनिक अवरोध हटाई लगानीमैत्री क्षेत्र निर्माण गर्न पहल गर्ने, गोदावरी नगरपालिकामा प्रस्तावित औद्योगिक क्षेत्रलाई पूर्णता दिने, आदिवासी जनजातिको मौलिक पहिचानलाई विश्वव्यापी बनाई ग्रामीण स्तरमा रहेका हामेस्टे तथा संग्रहालयहरूमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन पहल गर्ने, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै करको दायरा समयानुकूल, सरल र पारदर्शी बनाउने, विदेशी लगानी आकर्षण गरी युवालाई स्वरोजगारमुखी बनाउने विषय उल्लेख छ ।

बुदा नम्बर ८ मा वातावरण संरक्षण र दिगो विकासका कुरा समेटिएको छ । जस अन्तरगत जल, जमिन, जंगल तथा प्राकृतिक स्रोतको संरक्षणका लागि विशेष योजना ल्याउने, कैलाली क्षेत्र नम्बर ४ मा गरिने विकासका योजनाहरू वातावरणमैत्री बनाउने, बढ्दो जलवायु परिवर्तनले जनजीवन कष्टकर बनिरहेको समयमा जलवायु परिवर्तनको असर न्यूनीकरणका कार्यक्रमहरू लागू गरिने कुरा उल्लेख छ ।

यस्तै ९ नम्बर बुदामा युवा तथा स्वरोजगारका विषय समेटिएका छन । जसमा जेनजी समूहहरूको मनोभावना अनुसार विभिन्न कारणले अवसरबाट बञ्चित रहेका तर क्षमता भएका युवाहरूलाई उनीहरूको चाहना र रुची अनुसार विभिन्न विधामा तालीम प्रदान गरी स्वालम्बन बनाइने, जेनजी समूहका युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने, प्रत्येक वडामा निःशुल्क वाईफाइ जोन, ई–लाइब्रेरी र डिजिटल सीप तालिमको व्यवस्था गर्ने, युवाहरूको प्रत्यक्ष सहभागितामा नीति निर्माणमा सार्वजनिक ड्यासबोर्ड निर्माण गर्ने, युवा जनशक्तिलाई लक्षित गरी कम्तिमा २५ लाख सम्मको सहुलियत कर्जा प्रदान गरी स्वालम्बन बनाउन पहल गर्ने र विदेश पलायन भएका युवाहरूको विदेशमा सिकेको सीप, दक्षता, तालीम तथा अनुभवलाई यस क्षेत्रमा प्रयोग गरी स्थानीय स्तरमै स्वरोजगारीको वातावरण बनाउने प्रतिवद्धता गरिएको छ ।

यस्तै विविध विषय समेटिएको १० नम्बर बुदामा वडा, पालिका र प्रदेश सरकारसँग समन्वय गरी यहाँको विकासका लागि संघीय सरकारमार्फत योजना ल्याउने, विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग समन्वयन गरी यहाँको विकास निर्माणका साथै स्वास्थ्य, शिक्षा तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रभावकारी कार्यक्रम लागू गर्ने र वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा विदेशमा रहेकाको रेखदेख र सामाजिक सुरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
 

प्रतिक्रिया