ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली–४ मा उम्मेदवार नेपाली कांग्रेस, अमेरिका बस्दै आएका बिष्टको चर्चा

मङ्गलबार ०६, माघ २०८२ ०३:१३

धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहे पनि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। 

पार्टीभित्रको आन्तरिक छलफल जारी रहे पनि अन्तिम निर्णय हुन नसक्दा उम्मेदवारी अन्योलमा परेको हो ।

एमाले उपमहासचिवसमेत रहेका लेखराज भट्ट लगायत अन्य दल बाट उम्मेदवारले मनोनयन दर्ता गरिसक्दा प्रतिस्पर्धा गर्न कठिन हुने आँकलनका कारण कांग्रेसका केही नेताहरूले कैलाली–४ बाट उम्मेदवार बन्न अस्वीकार गरेको पार्टी स्रोतले जनाएको छ। यसले उम्मेदवार चयन प्रक्रियामा थप जटिलता सिर्जना गरेको छ।

यसअघि कांग्रेसले डोटीबाट वीरबहादुर बलायरलाई कैलाली–४ मा ल्याएर प्रतिनिधिसभा निर्वाचन लडाएको थियो। तर यसपटक बलायरले निर्वाचन नलड्ने निर्णय गरेपछि पार्टीलाई नयाँ उम्मेदवार चयन गर्नुपर्ने अवस्था आएको हो ।

पार्टीभित्र हाल अमेरिका बस्दै आएका आनन्द बिष्टको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहे पनि उम्मेदवारीबारे औपचारिक निर्णय भइनसकेको कांग्रेस नेताहरूले बताएका छन्। स्थानीय तहका संगठनहरू केन्द्रीय नेतृत्वको निर्णयको प्रतीक्षामा छन् ।

मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार टुंगो नलाग्नुले कैलाली–४ मा कांग्रेसको तयारी कमजोर देखिएको विश्लेषण गरिएको छ। आजै उम्मेदवारी दर्ता गर्नुपर्ने बाध्यताबीच कांग्रेसले अन्तिम समयमा कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय चासोको विषय बनेको छ।

प्रतिक्रिया