ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘नेपाल बन्द’को घोषणाले खुलेनन् केही स्कुल–कलेज, अधिकांश खुले

मङ्गलबार ०५, फागुन २०८२ १२:४५

काठमाडौं । नेपाल बन्दको घोषणाले देशका विभिन्न स्थानमा केही विद्यालय तथा कलेज बन्द भएका छन् । नेपाल कम्युनिस्ट पार्टी बहुमतले मंगलबार साँझ नेपाल बन्दको घोषणा गरेसँगै कतिपय शिक्षण संस्थाले बुधबारका लागि बिदा दिने निर्णय गरेका थिए ।

घोषणापछि असुरक्षा बढ्न सक्ने आशंकामा केही विद्यालयले कक्षा सञ्चालन नगर्ने निर्णय गरे पनि अधिकांश विद्यालय भने नियमित रूपमा खुलेका छन् । बन्दको घोषणा भएसँगै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार हालसम्म कति विद्यालय बन्द भए भन्ने आधिकारिक तथ्यांक उपलब्ध भइसकेको छैन।  ‘बुटवलतिर केही स्कुल बन्द भएको खबर आएको छ, तर अधिकांश विद्यालय खुलेका छन् । बन्दको घोषणाले स्कुललाई मात्र होइन अभिभावकलाई समेत तनाव हुने गरेको छ,’ उनले भने ।

उनका अनुसार अघिल्ला बन्दका क्रममा विद्यालय सञ्चालन गर्दा तोडफोड तथा आगजनीका घटना हुने गरेका थिए। तर यसपटक बन्दकर्ताबाट त्यस्तो कुनै अप्रिय घटना सार्वजनिक भएको छैन ।

अचानक बन्द घोषणा गरिने प्रवृत्तिले विद्यालय अन्यौलमा पर्ने गरेको अधिकारीको गुनासो छ। ‘पहिले हप्ता–दश दिन अगावै बन्दको घोषणा हुन्थ्यो । अहिले भने भोलि बन्द छ भनेर अघिल्लो राति मात्रै जानकारी दिइन्छ । यस्तो अवस्थामा विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्न कठिन हुन्छ,’ उनले भने ।  बन्दकर्ताको पहिलो प्राथमिकता विद्यालय हुने गरेको उनको भनाइ छ ।

तर, पछिल्लो समय बन्दको प्रभाव घट्दै गएकाले अधिकांश विद्यालयहरु सञ्चालन हुने गरेको उनले बताए ।

प्रतिक्रिया