ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

त्यसपछि गायनतिर मोडिए रेग्मी

सोमबार ०३, मङि्सर २०८१ १०:२१

धनगढी । बझाङको थलारा माविका स्थायी शिक्षक थिए नरेन्द्रराज रेग्मी । सदरमुकाम चैनपुरमा विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । आफ्ना विद्यार्थी लिएर सांस्कृतिक कार्यक्रममा पुगेका रेग्मीले त्यो अवसर गुमाउन चाहेनन् । सानैदेखि देउडाका पारखी उनले त्यहाँ ‘चैरमुसी चैर...’ बोलको गीत गाए । उनको गीतले तालिमात्र पाएन, कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँ पुरस्कारनै दिए ।

विद्यालयको सांस्कृतिक कार्यक्रममा गाएको त्यही गीतले पछि भने उनको जीवनको बाटोनै मोडिदियो । सुदूरपश्चिमेली भाषामा गीतमा व्यक्त तत्कालीन प्रशासकबाट सर्वसाधारणले खेप्नु परेको पीडा र शासकमा रहेको मुसा प्रवृतिको प्रतीकात्मक व्यङ्ग्य प्रमुख जिल्ला अधिकारीले सुरुमा बुझेनन् । जब बुझे गीतका शब्दले राजाको अपमान गरेको अभियोगमा रेग्मीविरुद्ध राजकाजको मुद्दा लगाए । प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा दुध पु¥याउन आउने एक किशोरीमाथि यौन शोषण गरेको रेग्मीले थाहा पाएका थिए । त्यो बेला शासकविरुद्ध बोल्न संभव थिएन, विरोधमा व्यङ्ग्यात्मक गीत सिर्जना गरे ।

राजकाजको मुद्दा लागेपछि स्थायी जागिरको माया मार्दै भागेर उनी काठमाडौँ पुगे । यो २०४४ साल फागुनतिरको घटना थियो । आइएस्सी गरेका उनले काठमाडौँमा पढाइलाई निरन्तरतामात्र दिएनन्, गायनलाई अघि बढाए । २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि ‘क्या निको लागन्छ फुलजसो फुल्याको जिल्ला...’ भाकाको गीत रेकर्ड गराए तर त्यो गीत धेरै चलेन । 

त्यसै वर्ष उनले ‘खप्तडको सेरोफेरो’ एल्बम निकाले, जसमा चैर मुसी चैरसहित छ वटा गीत थिए । त्यही चैर मुसी चैरले उनलाई चर्चाको शिखरमा पु¥यायो । जुन गीत अहिले पनि देउडाप्रेमीको मनमस्तिष्कमा छ । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन, उनले गायका कयौँ देउडा गीत ‘हिट’ भए । त्यसैले त आफूलाई लोकप्रिय गायक बनाउने कारक बनेको त्यही घटनाले सरकारी जागिर गुमाउनु परेकोमा उनलाई पछुतो छैन ।

‘शासकप्रति व्यङ्ग्य गर्दा जागिर गुमाउनु परे पनि त्यही घटनाले मेरो जीवन मोडियो’ रेग्मी भन्छन्, ‘जीवनभर गीतसंगितको क्षेत्रमा रमाउने अवसर पाएँ । सबैभन्दा ठूलो कुरा स्रोताको माया र सम्मान पाएको छु ।’  झण्डै साढे तीन दशक लामो सांगितिक यात्राका क्रममा उनले ७२ वटा एल्बम बजारमा ल्याएका छन् । ‘करिब आठ सय गीतमा स्वर दिएको हुँला’ रेग्मीले सुनाए । 

‘ढुकु रान्चडी...’, ‘दाडिम चौका ढोलपैरा...’, गैजाउँ कि धनगढीतिर...’, ‘बिजुली चम्कन लाग्यो विना बादल सर्क...’लगायत रेग्मीको स्वरवद्ध दर्जनौँ गीत कुनै समय निकै लोकप्रिय थिए । जुन गीतमा मायाप्रेम, विदेशिनु पर्दाको बाध्यताका विषयबस्तु अभिव्यक्त छन् । कुनैबेला यी गीत सुदूरका कुनाकन्दरामा घन्किएका हुन्थे ।

क्यासेटको जमाना थियो । रोजगारीका लागि भारत जाने परम्परा रहेको सुदूरपश्चिममा भारतबाट फर्कनेको हातहातमा टेप हुन्थे । भारतबाट फर्कनेलाई लाहुरे भनिन्थ्यो । ‘लाहुरे’ फर्कने चाडपर्वका बेला बाटो र गाउँबस्तीमा तिनै टेपमा देउडा घन्कन्थे । प्रविधि फेरियो, मोबाइल आएपछि भने टेक र क्यासेट दुवै हराए । गायकले क्यासेट निकाल्न छाडे । २०६४–०६५ पछि त क्यासेट निकाल्ने चलन हरायो । गीतहरु युट्यूबमा राख्न थाले, म्युजिक भिडियो अनिवार्यजस्तै भयो ।  

चैरमुसीले रेग्मी देउडाका स्रोतामाझ गायकको रुपमा परिचित भइसकेका थिए । बीचमा दुईवटा एल्बमका गीत औषत चले । २०४८ सालतिर चौथो एम्बल ढुकु रान्चडीको ढुकु रान्चडी... बोलको गीत निकै लोकप्रिय बन्यो । जुन गीतमा उनले कामको खोजीमा भारतको बम्बै गएका श्रीमान र घरमा रहेकी श्रीमतीबीचको प्रेम र पारिवारिक विषयवस्तुको वार्तालाप प्रेमिल ढङ्गले प्रस्तुत गरेका छन् । यो गीतमा पवित्रा घर्ती र देवा घर्तीले उनलाई साथ दिएका छन् ।

त्यतिबेला बैतडीबाट बझाङको चिरसम्ममात्र बस चल्थ्यो । रेग्मीले त्यही विषयमा भाका टिपे र गाए–‘खोड्पे है बस आयो चिर, गइजाउँ कि धनगढीतिर..’ । पहाडको विकटताका दुख, मधेस बसाइ सर्ने र मायाप्रेमको प्रसङ्ग यहाँ अभिव्यक्त छ । यसमा महिला आवाजमा इन्दिरा गुरुङले साथ दिएकी छन् । यो गीतले पनि त्यसबेला लोकप्रियताको शिखर चुम्यो ।  

रेग्मीले आफूले स्वर दिएका गीतमात्रै लोकप्रिय बनेनन्, उनले सिर्जना गरेको शब्द र लयमा अरुले गाएका गीत पनि उत्तीकै लोकप्रिय छन् । रामचन्द्र काफ्लेले गाएको ‘खेलौला डेउडा चैतली...’ धेरैले रुचाएको गीत हो, जसको शब्द र लय रेग्मीले सिर्जना गरेका हुन् । अहिले युवा पुस्तामा निकै चर्चिक बनेको देउडा हो–भन साली तेरी दिदी काँ छ...?’ । चक्र मल्ल र लक्ष्मी आचार्यद्वारा स्वरवद्ध यो गीतको लय पनि रेग्मीकै सिर्जना हो । 

एल्बम निकाल्दाको संघर्ष

सुदूरपश्चिमका कलाकारलाई त्यतिबेला एल्बम निकाल्न सहज थिएन । सुदूरपश्चिममा रेकर्डिङ्ग स्टुडियो नभएपछि काठमाडौँ गएर गीत गाउनु पथ्र्यो, त्यहाँ पनि युगल स्वरका लागि गायिका पाइदैनथे । गायिका नपाउँदा सुरुका एल्बमहरु एकल स्वरमा निकालेको रेग्मी सम्झन्छन् । ‘सुदूरपश्चिममा गायिका थिएनन्, काठमाडौँका गायिकाले सुदूरपश्चिमेली भाषा नबुझ्ने भनेर पन्छिन्थे । चार–पाँच वटा एल्बम मैले आफ्नो एकल स्वरमा निकालेँ । त्यतिबेला एल्बम निकाल्नु पर्दा भोगेको संघर्ष उनले सुनाए ।

५० को दशक आसपासपछि भने आफ्नो एल्बममा लोक गायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, इन्दिरा गुरुङ, पवित्रा घर्ती, देवा घर्ती, पवित्रा थापालगायतले स्वर दिएका रेग्मी बताउँछन् । काठमाडौँका कलाकारले पनि स्वर दिन थालेपछि राष्ट्रिय स्तरमै देउडाको लोकप्रियता बढ्न थाल्यो । यसले सुदूरपश्चिम बाहिरका गायक÷गायिकाको देउडाप्रति आकर्षित भएका उनको बुझाइ छ । देउडाको लोकप्रियताले अहिले कतिपय चलचित्रमा पनि देउडा गीत राख्न थालिएको छ ।

‘२०५२–०५३ साततिर अत्तरियामा रिमा रेकर्डिङ्ग स्टुडियोको शाखा खुल्यो । त्यसपछि सुदूरपश्चिममै गीत रेकर्ड हुन थाले । गीत रेकर्डिङ्गको सहजताले गायिकाको संख्या पनि बढ्यो’ उनी भन्छन् । काठमाडौँमा क्यासेट निकालेपछि झोलामा हालेर सुदूरपश्चिमका गाउँगाउँमा बिक्री गर्न जाने गरेको उनी बिर्सेका छैनन् ।  

देउडा भाकालाई सुदूरपश्चिम र देशका कुनाकन्दरामा पु¥याएका यी पाका गायक अहिले पनि संगित साधनामै छन् । २०१६ सालमा बझाङको थालारामा जन्मेका उनको कर्मथलो अहिले धनगढी बनेको छ । मेलामहोत्सवमा गीत गाउनेसँगै देउडा प्रतिष्ठान गठन गरेर देउडा गीतको संरक्षण र प्रवद्र्धनमा उनी लागेका छन् ।  

नयाँ पुस्ताले संस्कृति बिर्सेकोमा चिन्ता 

पछिल्लो समयका कतिपय युवा कलाकारले देउडामा पप र ¥याप मिसाउन थालेका छन् । देउडामा देखिएको विकृतिप्रति रेग्मी चिन्तित छन् । पप र ¥याप गीतको प्रभावले यहाँको संस्कृतिमा विचलन ल्याउने उनको चिन्ता छ । छाडापनले अहिलेका कतिपय देउडा गीतमा पनि घरपरिवारसँग बसेर सुन्नसक्ने खालका नरहेकोमा उनको चित्त दुखाइ छ । 

‘नयाँ पुस्तामा देउडाप्रतिको मोह छ तर उत्श्रृङ्खल र छाडा गीतप्रति युवाहरुको बढी आकर्षण देखिन्छ । देउडामा सुन्नै नसकिने शब्द हुन्छन् । यसले देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्छन्’ उनी चिन्ता प्रकट गर्छन्, ‘देउडाका नाममा देखिएको उत्ताउलोपना संस्कृतिप्रेमी सबैका लागि चिन्ताको विषय हो ।’ जीवनको उत्तराद्र्ध लागेका यी गायकको सुमधुर स्वर सुन्न देउडाप्रेमी अझै आँतुर छन् । 
 

प्रतिक्रिया