धनगढी । नेकपा एमालेबाट निष्कासनमा परेका पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले नेताहरुसंग भेटघाट बढाएका छन् । सोही क्रममा उनले सोमबार नेपाली काँग्रेस वीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीलाई भेटेका छन् ।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति तथा ०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट डडेल्धुराबाट विजयी पूर्वप्रदेशसभा सदस्य हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
जोशी नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । जोशी ०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए ।
मल्लले आज रावल निवासमै तीन जनाको भेटघाट भएको मल्लले जानकारी दिए । ‘अहिले भीम रावल राजनीतिक अन्यायमा पर्नुभएको छ,’ उनले भने, ‘सोही कारण पनि भेटघाटका लागि पुगेका थियौं । भेटघाटका क्रममा राजनीतिक छलफल पनि भएको छ ।’
मल्लका अनुसार नयाँ यात्राका लागि विभिन्न विकल्प र त्यसमा तीन जनाको सहकार्यका विषयमा पनि छलफल भएको छ । उनले नेपाल र नेपालीको स्वाभीमानका लागि नया ढंगले अभियान सुरु गर्ने संकेत गरे । ‘भीम रावललाई केपी शर्मा ओलीले निकाल्नुभएको हो, मलाई पनि शेरबहादुरले निकाल्नुभएको थियो,’ उनले भने, ‘निष्कासितहरुको भेटमा केही नयाँ गर्ने कुरा त भइहाल्छ ।’
एमालेबाट निष्कासित रावल, काँग्रेसबाट निष्कासित मल्ल र एमाले तथा एकीकृत समाजवादी छोडेका जोशीको भेटघाट भएपछि सुदूरपश्चिममा नयाँ क्षेत्रीय शक्तिका विषयमा चर्चा हुन थालेको छ ।
जोशी ०७८ कार्तिकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले डडेल्धुराको जिल्ला कमिटीका बहुसंख्यकसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । ०७९ को निर्वाचन लड्दा भने उनी स्वतन्त्र भएर लडेका थिए ।
यस्तै नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति मल्ल ०७९ वैशाखमा कांग्रेसबाट निष्काशित भएका थिए । मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको थियो ।
रावललाई भने नेकपा एमालेले गत १० पुसमा पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया