धनगढी । सुदूरपश्चिमका पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेशसभा सदस्य शाहीले उक्त अभियान घोषणा गरेका हुन् । शाहीले अभियानमा स्वआबद्धताका लागि स्वतन्त्र, सचेत युवा आह्वान गरेका छन् ।
सुदूरपश्चिमका ९ वटै जिल्ला र सबै पालिकामा अभियानको संगठन विस्तार गरेर निरन्तर सुदूरका मुद्दा उठान गरिने उनले बताए । ‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो,’ उनले भनेका छन्, ‘यस क्षेत्रको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सुरु गर्ने प्रयास गरेका छौँ ।’
केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशप्रति देखाउने केन्द्रीकृत व्यवहारको अन्त्य गर्न दबाब दिन जुट्नुपर्ने बेला आएको उनले बताए । ‘सुदूरपश्चिमलाई विशेष प्रदेश बनाएर अहिलेसम्म गरिएको शोषण र उपेक्षाको क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने, ‘आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक अग्राधिकार सुदूरपश्चिमले पाउनुपर्छ ।’
प्रतिक्रिया