ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जापानको आर्थिक वृद्धिदरमा गिरावट

सोमबार ०३, मङि्सर २०८१ ०१:३०

जापानका प्रधानमन्त्री सिगेरू इसिबाले विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ । जापानमा दशकौँयताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।

मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बिचमा देशको वृद्धिदर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ । तथ्यांकले बजारको अपेक्षा पूरा गरेको भए पनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा जिडिपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो । मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले दशकौँसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’को अपेक्षा सरकारले गरेको बताएका छन् । 

‘हाम्रो देश एक महत्त्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा संक्रमण गर्न लागेको छ,’ उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौँ, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ ।’

गत महिना सत्तारूढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आमनिर्वाचनमा नेतृत्व गरे पनि इसिबाले संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर)भन्दा बढीको साथ एआई र सेमिकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन् ।
 

प्रतिक्रिया