ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किन हुँदैन लक्ष्यअनुसार धान खरिद ?

बिहिबार २५, पुष २०८१ ०१:३८

धनगढी । कैलालीमा यो वर्ष पनि लक्ष्यअनुसार धान खरिद हुन सकेको छैन । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत कार्तिक ११ गतेबाट धान खरिद सुरु गरेको थियो ।

जिल्लामा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा ३४ हजार ४५७ क्विन्टल मात्रै धान खरिद भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रादेशिक प्रमुख दीपक थापाले कैलालीमा खोलिएका ६ वटा खरिद केन्द्रबाट उक्त परिमाणममा धान खरिद भएको बताए ।

कैलालीमा धनगढीस्थित मोहनपुर, टीकापुर, सत्ती, भजनी, बर्दगोरिया र गौरीगंगा गरेर छ ठाउँमा खोलिएका खरिद केन्द्रबाट धान खरिद गरिएको उनले बताए । उनका अनुसार गौरीगंगामा भने यो वर्षबाट धान खरिद सुरु गरिएको हो ।

कैलालीमा गएका दुई आर्थिक वर्षमा पनि धान खरिदको लक्ष्य भेटाउन सकिएको थिएन । आर्थिक वर्ष २०७९/०८० मा ३० हजार १३१ क्विन्टल धान खरिद भएको छ भने ०८०/०८१ मा १८ हजार ७८८ क्विन्टल धान खरिद भएको छ । यी दुवै आर्थिक वर्षमा धान खरिदको लक्ष्य भने ६० हजार क्विन्टल लिइएको थियो । यो तीन वर्षमध्ये गत वर्ष निकै कम धान खरिद भएको पाइएको छ ।

खाद्यले गत वर्ष बाहिर बजारमा धानको मूल्य बढेको जानकारीमा आएको र सोही कारण किसानहरु खरिद केन्द्र नआउँदा लक्ष्य भेट्टाउन नसकिएको बताएको थियो । खाद्यका प्रादेशिक प्रमुख थापा किसानहरुले खरिद केन्द्रबाहेक बाहिर बजारमा पनि धान विक्री गर्ने हुँदा लक्ष्य भेटाउन नसकिएको बताउँछन् । 'हामीले जहिले पनि लक्ष्य अलि बढी नै राख्ने गरेका हुन्छौँ,’ उनले भने, 'फेरि बजेट पनि छुट्याउनुपर्छ हामीले । मिलहरुले पनि किसानहरुको घरघरमै गएर पनि खरिद गरेका हुन्छन् । कति सहकारीले खरिद गरेको हुनसक्छ ।'

थापाले धान खरिदको लक्ष्य मौसमको अवस्थालगायत हेरेर निर्धारण गर्ने गरिएको बताए । उनले एकपटक कुनै आर्थिक वर्षमा मिल तथा सहकारीहरुले धान खरिद नगर्दा आफूहरुले ७३ हजार क्विन्टलसम्म धान खरिद गरेको सुनाए ।

यसपाली खाद्यले धान खरिदको लक्ष्य पोहोरभन्दा पाँच हजार क्विन्टलले घटाएको थियो । गतवर्ष लक्ष्यभन्दा एकदमै कम धान खरिद भएपछि यस वर्ष लक्ष्य केही घटाइएको उनले बताए । सरकारले मोटा धानको मूल्य तीन हजार पाँच सय १० रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो ।

कैलालीमा मोटा धान नै खरिद भएको हो । प्रादेशिक प्रमुख थापाले खरिद केन्द्रहरु खुला नै रहेकाले अझै पनि किसानहरुले धान ल्याएर आए खरिद गरिने बताए ।

प्रतिक्रिया