धनगढी । उनी बिहान सबेरै उठेर घाँस–दाउरा गर्न जान्थिन् । जंगलबाट फर्केपछि विद्यालय । गाउँमै थियो, जनहित मावि । सानैदेखि मेलापात गर्दै विद्यालय जाने उनको लगाव भने पठनपाठनभन्दा बढी खेलकुदमा हुन्थ्यो । विद्यालयमा हुने रनिङ, हाइजम्प र लङजम्पमा सहपाठी सबैलाई उछिन्थिन उनी । दार्चुलाको विकट नौगाडको खेडामा जन्मिएकी निरुता ठगुन्ना सानैदेखिको यही लगाव, मेहनत र संघर्षले अहिले सफलताको उचाइ नापिरहेकी छिन् । नेपाली महिला भलिबल टोलीको हरेक सफलताको महत्वपूर्ण हिस्सा बनिरहेकी छिन् निरुता ।
साउनमा नेपालमै भएको काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गर्दा निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । महिला भलिबलमा भारतमाथि नेपालको त्यो नै पहिलो जित थियो । २०७६ सालमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन खेल्ने टिममा परेपछि माल्दिभ्सविरुद्ध उनले अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् ।
नेपाली टिमको जर्सीमा पहिलो पटक खेल्दाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनन् उनी । ‘वर्षाै अगाडि देखेको सपना साकार भएको थियो, त्यो खुसी कसरी व्यक्त गर्ने शब्दनै छैन,’ निरुता भन्छिन् । निरुता पहिलो पटक अन्तर्राष्ट्रिय सहभागितामै उपाधि जित्न सफल भइन् । २०७६ सालको एभीसी सेन्ट्रल जोनमा च्याम्पियन भएको थियो नेपाल । त्यसपछिका हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला भलिबल टिमले प्राप्त गरेका सफलतामा महत्वपूर्ण भूमिका छ स्पाइकर निरुताको ।
ती सफलताका पछाडि निरुताको वर्षाैँको मेहनत र संघर्ष थियो । उनका बुवा प्रेमसिंह जनहित माविकै शिक्षक थिए । उनी भन्छिन्, ‘बुवा शिक्षक भए पनि परिवारले कृषि पेसा छोडिसकेको थिएन । घरमा गाईभैसीं थिए । खेतबारी थियो । गाउँमा बस्दा त घाँस–दाउरा, मेलापात गर्नै पथ्र्यो ।’
निरुतालाई विद्यालयस्तरमा व्यक्तिगत विधाका खेलमा रुचि लाग्थ्यो । २०६८ सालमा सात कक्षामा पढ्दा राष्ट्रपति रनिङ शिल्ड खेलेकी उनलाई त्यो समय भलिबलमा खासै रुचि थिएन । ‘विद्यालयमा एउटामात्रै भलिबल थियो,’ उनी भन्छिन्, ‘त्यो भलिबल छुन पाउन पनि मुस्किल थियो । कहिलेकाँही पाइहाले पनि रहर मेटाउन खेलिन्थ्यो ।’
एकपटक केटाहरूसँग रमाइलोको लागि निरुताले भलिबल खेलको दृश्य राष्ट्रपति रनिङ शिल्डका लागि प्रशिक्षक निलराज अवस्थीको नजर प¥यो । ‘निल गुरुले तिमी राम्रो भलिबल खेल्न सक्छ्यौ भन्नुभयो भएको थियो,’ निरुता भन्छिन्, ‘अनिमात्रै मैले भलिबल खेल्न सुरु गरेकी हुँ ।’ दुई पटक सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै उनले भलिवल प्रतियोगिता खेलेकी छन् । २०७३ सालसम्म सुदूरपश्चिमबाट खेलिरहेकी निरुताको खेलमा तत्कालीन नेपाल आर्मी टिममा भलिबल प्रशिक्षक रहेका जगदीश भट्टको नजर परेको रहेछ । ‘जगदीश गुरुले आर्मीमा बोलाएपछि केही समय आर्मीबाट घरेलु प्रतियोगिता खेलँे,’ उनले भनिन्, ‘त्यसपछि आर्मीमा जागिरे नै भएँ । तर, परिस्थितिले तीन वर्षमै आर्मी छोड्नु प¥यो । आर्मी र भलिबल दुवै छोडेर घर फर्किएँ ।’
त्यसपछि उनलाई भलिबलमा कहिल्यै पनि फर्किने मन थिएन । ‘आर्मीमा के भयो चाहिँ मैले कसैलाई भनेको छैन र भन्दिनँ पनि,’ उनले भनिन् । आर्मी र भलिबल छोडेर घर फर्केकी निरुताको राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना भने पूरा भएको थिएन । सोही समयमा उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परिन् । उनका लागि फेरि काठमाडौं फर्किने वातावरण बन्यो । ‘आर्मी छोडपछि कहिल्यै पनि भलिबल नखेल्ने सोचेकी थिएँ,’ उनी भन्छिन्, ‘तर मैले दार्चुला र समग्र सुदूरपश्चिमबासीका लागि उदाहरण बन्नु थियो । त्यसमा केही त्याग गर्न परे पनि तयार थिएँ म । सोही समयमा बन्द प्रशिक्षणका लागि नाम आएपछि म काठमाडौं फर्किएकी हुँ ।’ बन्द प्रशिक्षणपछि एभिसी सेन्ट्रल जोनको टिममा परेकी थिइन निरुता । सोही प्रतियोगिता पहिलो पटक जितेको थियो नेपालले ।
२०७६ पुसको कुरा हो । एउटा विभागीय टोली छोडेकी निरुता अर्को विभागीय टिम एपीएफ क्लबमा आवद्ध भइन् । लोकसेवा आयोगले सिपाही पदका लागि लिएको खुल्ला परीक्षामा पास हुँदै उनी सशस्त्र प्रहरीको जागिरे भएकी थिइन । त्यसपछि भने निरुताले पछाडि फर्किनु परेको छैन । यसै वर्ष भएको काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी निरुताको बढुवा पनि भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी छिन् । उनी भन्छिन्, ‘अहिले मेरा लागि एपिएफ र भलिबलनै सबथोक हो ।’
प्रतिक्रिया