धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौ बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभागले धनगढीमा पत्रकार सम्मेलन गर्दै २६ र २७ गते भएको प्रदेश कमिटी बैठकको निर्णय र पारित प्रस्ताव सार्वजनिक गरेको हो । केन्द्रीय कमिटीको आठौं बैठकले माघ, फागुन र चैतमा वडा केन्द्रित पार्टी निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेकोमा सो निर्णयअनुसार सुदूरपश्चिमका सात सय ३४ वडामा उक्त अभियान सञ्चालन गर्ने निर्णय प्रदेश कमिटीले गरेको प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी बिष्टले जानकारी दिइन् । उनका अनुसार बैठकले सचिवायल पनि विस्तार गरेको छ ।
यस्तै, बैठकले विभिन्न प्रस्ताव पनि पारित गरेको बिष्टले जानकारी दिइन् । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदेशको स्थायी राजधानी निर्माण गर्न बैठकले ध्यानाकर्षण गराएको छ । ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक तत्काल टुंगोमा पुगाएर आगामी शैक्षिक सत्रदेखि अध्यापन सुरु गर्न बैठकले संघीय सरकारलाई माग गरेको छ,’ उनले भनिन्, ‘भूकम्प पीडितलाई राहत उपलब्ध राउन, स्थानीयस्तरमै गुणस्तरीय प्रसुती सेवा विस्तार गर्न, उपचार नपाएर ज्यान गुमाएकी बझाङकी सुत्केरी सविता बोहराका परिवारलाई राहत उपलब्ध गराउन, चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको योजनामा राखेर निर्माण गर्न, महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दीपायल, चिसापानी–मंगलसेन सडक योजनाको निर्माण चाँडो सम्पन्न गर्न, दोधारा चाँदनी सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र, कैलालीको हरैया र डुँडेझाडी औद्योगिक क्षेत्रको निर्माण चाँडो सम्पन्न गर्न पनि बैठकले माग गरेको छ ।’
भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको अनुभूति दिलाउन, जनताको जीवीकासंग जोडिएका विषयमा प्रभावकारी सेवा प्रवाह गर्न, विकास निर्माणका कामहरुमा गुणस्तर सुनिश्चित गर्दै पारदर्शी रुपमा अगाडि बढाउन र प्रदेशको समग्र विकास तथा समृद्धिको अगुवाई गर्न बैठकले प्रदेश सरकारको ध्यानाकर्षण गराएको बिष्टले जानकारी दिइन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तीन हजार पाँच सय बिघा जग्गा भारतीय पक्षबाट अतिक्रमण भएको विषयमा पनि ध्यानाकर्षण गर्दै नेपाल सरकारलाई भूमी खाली गराउन आवश्यक पहलका लागि बैठकले माग गरेको एमाले सुदूरपश्चिमले जनाएको छ । बैठकले दार्चुलाको ब्यास गाउँपालिकाको तिंकरमा रहेको अध्यागमन कार्यालयलाई नेपाल–भारत सीमामा निर्माण भएको मोटरेबल पुलको स्थानामा राख्न पनिसरकारसंग माग गरेको छ ।
प्रतिक्रिया