ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा छैनन् ‘ठूलो भूकम्प’ थेग्ने भौतिक संरचना

बुधबार ०२, माघ २०८१ ०४:३८

धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्रै पछिल्लो साढे दुई वर्षमा ४ रेक्टर स्केलमाथिका ७८ भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७९ देखि पश्चिम नेपालमा साना र मझौला किसिमका भूकम्प जाने क्रम बढेको छ । 

२२ कात्तिक २०७९ मा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्यूडको भूकम्पमा परेर डोटीका छ जनाले ज्यान गुमाएका थिए । त्यसको एक वर्षपछि कर्णालीको जाजरकोटमा ०८० कात्तिक १७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो । ७० हजारभन्दा बढी घर भत्किएका थिए । पटकपटक गएका यस्ता साना र मझौला भूकम्पले पनि सुदूरपश्चिम र कर्णालीमा जनधनको क्षति गरेको छ ।

खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाका अनुसार गोरखाभन्दा पश्चिममा ठूलो भूकम्प नगएको पाँच सय १९ वर्ष पुगेको छ । ‘पश्चिम नेपालमा गइरहेका साना भूकम्पले ठुलो भूकम्पको जोखिमलाई टारेको छैन,’ उनी भन्छिन्, ‘६ रेक्टर स्केलका हजारौं भूकम्प गएको भए ठुलो भूकम्पको जोखिम घटायो पनि भन्न सकिन्थ्यो होला । तर, दुई÷चार वटा त्यस्ता भूकम्प जाँदैमा महाभूकम्पको जोखिम घट्दैन ।’ झाका अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठुलो भूकम्प गएको छैन । ‘१९९० र २०७२ को भूकम्पले पश्चिम नेपालमा धेरै क्षति भएन,’ उनले भनिन्, ‘जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुन्छ । त्यसैले पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने सम्भावना छ ।’

जाजकोट र खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको मझौला भूकम्पले नै पश्चिम नेपालमा ठूलो क्षति गरेको बताउँदै उपमहानिर्देशक झाले महाभूकम्प गए सयौं गुणा बढी क्षति हुने बताइन् । ‘६ रेक्टर स्केलको भूकम्पभन्दा ८ रेक्टरको भूकम्पले सय गुणा बढी हल्लाउँछ,’ उनी भन्छिन्, ‘क्षति पनि सोहीअनुसार बढ्ने हो ।’ भूकम्पविद्का अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्न जान्छ । 

भूकम्पविद् चिन्तन तिमल्सिना पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले यस क्षेत्रलाई भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको बताउँछन् । ‘गोरखादेखि भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्प नआएकाले जोखिम बढेको हो,’ उनी भन्छन्, ‘सन् १५०५ मा पश्चिम नेपालमा ८.५ रेक्टर हाराहारीको भूकम्प गएको अध्ययनले देखाउँछ । सोही हाराहारीको भूकम्पलाई पश्चिम नेपालले कुरिरहेको छ ।’

८ रेक्टर स्केलभन्दा माथिको भूकम्प थेग्नेसक्ने संरचना भने सुदूरपश्चिममा लगभग नभएको उनी बताउँछन् । ‘८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आइहाल्यो भने त सुदूरपश्चिममा निकै ठुलो क्षति हुन्छ,’ उनले भने, ‘त्यो भूकम्प थेग्नसक्ने संरचना सुदूरपश्चिममा छैनन् भन्दा पनि हुन्छ । भइहाले पनि दुई÷तीन प्रतिशत संरचना मात्रै होलान् ।’ उनका अनुसार मानविय क्षतिको भने ठ्याक्कै आकलन गर्न मुस्किल हुन्छ । ‘रातिको समयममा भूकम्प आएपछि सबैभन्दा बढी क्षति हुन्छ,’ उनले भने, ‘त्यसपछि बिदाको दिनमा भूकम्प गएपछि क्षति बढी हुन्छ । सबैभन्दा कम मानविय क्षति हुने कार्यालय समयमा भूकम्प गएपछि हो ।’

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार, सुदूरपश्चिम प्रदेशमा पाँच लाख ७६ हजार ७७२ परिवारको बसोबास छ । उनीहरूमध्ये पाँच लाख ४६ हजारसँग आफ्नै घर छ । यस्तै, दुई हजार ३९९ संस्थागत भवन पनि सुदूरपश्चिममा छन् । महाभूकम्प नै गएपछि भने ती सबै संरचना जोखिममा पर्ने भूकम्पविद्हरु बताउँछन् । 

धनगढीमै छैनन् ८ रेक्टरमाथिका भूकम्प थेग्ने संरचना
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा राष्ट्रिय भवन संहिता सबैभन्दा कडाइका साथ लागू गरिएको छ । धनगढीमा २०७० सालदेखि भवन संहिता लागू भएको थियो । धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टका अनुसार भवन संहिता लागू भएपछि धनगढीमा ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने घर बनेका छन् ।

‘अहिले निर्माण भइरहेका घर ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने र मानविय क्षति घटाउने किसिमका छन्,’ उनले भने, ‘त्योभन्दा ठूलो भूकम्प थेग्नसक्ने घर निर्माण गर्न त आर्थिक रुपमा निकै समस्या हुन्छ ।’ 

प्रतिक्रिया