धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावलले देशव्यापी छलफलपछि मातृभूमि जागरण अभियानले पार्टीको स्वरुप लिने बताएका छन् ।
एमालेबाट निष्कासनमा परेपछि शुक्रबार बिहान पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम आएका रावलले कैलालीको धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पार्टी घोषणा गर्न सुदूरपश्चिम आउनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा रावलले भने, ‘अहिले नै पार्टी घोषणाको चरणमा हामी पुगिसकेका होइनौँ । देशव्यापी रूपमा छलफल भइसकेपछि मात्रै मातृभूमि जागरण अभियान राजनीतिक दलको स्वरुपमा जाने हाम्रो धारणा हो । अहिले अभियान सञ्चालनका लागि पनि स्पष्ट दिशा निर्धारण गर्न आवश्यक छ । देशव्यापी छलफलपछि मात्रै राजनीतिक दलबारे टुंगो लाग्नेछ ।’
रावलले देशको हित चाहने सबै राजनीतिक दल, संगठन र व्यक्तिसँग सहकार्य गर्न तयार रहेको बताए । शुक्रबार बिहान एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग जहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी पुगेका रावललाई विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नारावाजी भएको थियो ।
विमानस्थलबाट कैलालीको अत्तरिया पुगेका रावललाई त्यहाँ पनि स्वागत गरिएको छ । त्यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै रावलले मातृभूमि जागरण अभियानलाई सफल बनाउन समर्थकलाई आग्रह गरेका थिए । अत्तरियाबाट रावल गृहजिल्ला अछामतर्फ लागेका छन् । अछामको रामारोशनमा रावलको प्रमुख आतिथ्यतामा शनिबार भेला हुनेछ ।
को–को देखिए रावलको स्वागतमा ?
रावललाई धनगढी विमानस्थलमा उनका समर्थकले फुलमालासहित स्वागत गरेका थिए । रावलको स्वागतका लागि विमानस्थल पुग्ने केही एमाले कार्यकर्ता थिए । बाँकी एकीकृत समाजवादीका कार्यकर्ता थिए । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा एमाले नेता कृष्णराज सुवेदी रावलको स्वागतका लागि विमानस्थलमै पुगेका थिए । सुवेदीसंगै थिए, उनका छोरा भीष्मराज सुवेदी । सुवेदी एमाले कैलालीका जिल्ला कमिटी सदस्य हुन् ।
यस्तै एमाले प्रदेश कमिटी सदस्य जंग बिक पनि विमानस्थल पुगेका थिए । यस्तै एकीकृत समाजवादी कैलालीका नेता हिक्मत कुँवर, बाबुराजा श्रेष्ठ लगायत पनि रावलको स्वागतमा धनगढी विमानस्थल पुगेका थिए । प्रभावकारी नेताहरु नदेखिएको विषयमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा डा. रावललाई प्रश्न गरिएको थियो । ‘मातृभूमी जागरण अभियानको यो त आरम्भ मात्रै हो,’ उनले जवाफमा भनेका थिए, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’
प्रतिक्रिया