ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कथा

बा ! म बाँच्न चाहन्छु

शनिबार १२, माघ २०८१ ०८:३६

आज कान्छी छोरीको जन्मदिन । तीन पुगेर चार सुरु भयो । बिहानै उठेर आफ्नो फेसबुकको वालमा उसको स्माइली फोटो अपलोड गर्दै लेखे, ‘ह्याप्पी बर्थडे माइ लिटिल परी ।’

जबजब उसको जन्मदिन विश् गर्छु, तबतब केही पुराना नमिठा पलहरु नचाहेरै सम्झिन पुग्छु । नसम्झिउँ भन्छु, सम्झिहाल्छु । आज पनि सम्झिएँ फेरि । मन अमिलो बनाएर कार्यालयतर्फ लागे । 
त्यो बखत लोकसेवाको तयारी गरिरहेकै थिए, स्नातकोत्तर पनि सिद्द्याएँ । र अधिकृतमा नाम निकालेँ पहिलो प्रयासमै । छोरो जवान भइसकेपछी आमावुवाले सोध्ने प्रश्न सबैको एउटै हो । 

घरमा बुवाआमाको पहिले देखिकै दवाब झेल्न सक्ने तागत थिएन । इस्टमित्र र आफन्तजनमा पनि कुरो पुग्यो । नभन्दै जागिर सुरु गरेको केही दिनमै तमाम प्रस्तावहरु आउन सुरु गरे । सबैका आ–आफ्नै रोजाइ हुन्थे । पढ्ने बखत कलेजमा प्रेम नपरेको पनि होइन, तर के कति कारणले हो टिक्न सकेन । वा भनौँ विवाहसम्म पर्खिन सकिएन । उनको बिहे भएरै छाड्यो, म एक्लै भए ।

एकदिन मामाले एउटा कन्याको प्रस्ताव लिएर आउनुभयो । स्नातक पढ्दै रहिछन । डडेल्धुरा बजारमै घर । बोलीभाषा, सङ्स्कार सङ्स्कृती मिल्ने भनेर बुवाआमाले मामाको प्रस्ताव अस्विकार गर्ने कुरै भएन । मलाइ पनि ठिकै लाग्यो । चिठा मगाइयो । जुडमिल भयो । बिहेको टुङ्गो लाग्यो । तेतिखेर मेरो जागिर लोकसेवा आयोग महेन्द्रनगरमा थियो ।

बुवाआमा गाउँकै घरमा बस्नुहुन्थ्यो सेहरी । बुवा शिक्षण पेशाबाट निबृत भइसक्नुभएको थियो । त्यसकारण बिहे खर्च जुटाउन मैले धेरै सोच्नुपरेको थिएन । बुवाको सन्चय कोषको रकम मेरै बिहेको लागि सन्चित गरेर राखिएको थियो ।

मैले बिहे गर्न तयार हुनु थियो, भए यो पटक । लोकसेवा पास गरेर मात्र बिहे गर्ने प्रतिज्ञा थियो, जुन पूरा भइसकेको थियो । जुडमिल भएपछि दुबै परिवारको कुराकानी अघि बढ्यो । हामी बाहुनको चलन नै यस्तै । मान्छे मन परेर मात्र नहुने, जुडमिल हुनैपर्ने । बाटो खुल्यो बिहेको । फेसबुकमा नाम सर्च गरे – निरु ! निरु पाण्डेय । प्रोफाइल लक गरेकी रैछन । कभर फोटोमा उग्रताराको मन्दिर राखिएको थियो । धेरै फोटा हेर्नै पाइन । कौतुहलताले कुत्कुत्याइरह्यो । जुडमिल त भो, मान्छे मन पर्ने हो कि होइन ? डर र लाज दुबै मिसिदै गयो । प्रोफाइल पिक्चर ब्ल्याक एन्ड ह्वाइट थियो । प्रोफाइल पिक्चर हेरेर मात्रै अनुमान लगाउन सकिएन ।

भर्खर नयाँ मोबाइल किनेको थिए– ग्यालेक्सी स्यामसुङ ए फिप्टिन । अफिसमा वाइफाइ छँदै थियो । रिक्वेस्ट पठाए । एक घन्टापछी एसेप्ट भो । कहाँबाट सुरु गरौँ ? कुनै मेसो पाउन सकिन ।

‘हाइ !’ सबैले प्रयोग गर्ने सजिलो सर्वब्यापी शब्दबाट औपचारिक वार्तालापको श्रीगणेश गरे । ‘हेलो’ ! उताबाट पनि उही कमन रिप्लाइ । केही सहज भयो ।

‘चिन्नु भो ?’ यसरी नै वार्तालाप अघि बढाउँछन् जस्तो लागेर यहीँ प्रश्न गरे ।
‘नाँइ !’ छोटो तर मीठो लाग्ने जवाफ आयो उताबाट ।

‘ .... ’ कुनै शब्द फुरेन अब । लाज पो लागेर आयो । खासमा केटि मान्छेसीत च्याट नगरेको वर्षै भइसकेको थियो । पुष्पासंगको सम्बन्ध टुटिसकेपछी यसप्रकारको च्याट भएको सम्झना छैन । सोही ब्रेकअफले त अहिले अधिकृत बनाएको थियो मलाइ । त्यसको आफ्नै कथा छ । अर्कोदिन भनौँला ।

अँ, म के भन्दै थिए भने निरुसित च्याटमा कुराकानी हुँदै गयो । साथी भइसकेपछी फोटाहरु एक्एक गरेर हेरेँ । सुन्दर । सारै सुन्दर । मैले खोजेकै जस्ती । गोलो अनुहार, कैला आँखा । पिपलपाते ओठ, हाँस्दा बायाँ गालामा सानो डिम्पल पर्ने । दायाँ आँखाको अलि तल सानो कोठी । लामो केशराशी, मध्यम उचाइ । शारीरिक बनावट आकर्षक लाग्यो ।

बिस्तारै कुराहरु अघि बढ्दै गए । परिवारका कुरा भए, पढाईका कुरा भए । करियरका कुरा भए, जीवन जगतका कुरा भए । मन मिल्यो, मुटु नि मिल्यो । बिचार मिल्यो, आचरण मिल्यो । र मिल्यो लगनगाँठो कस्ने तिथीमिती पनि– मङ्सिर १२ गते ।

धुमधामसङ्ग भयो हाम्रो बिहे । म बिहेमा फजुल खर्च गर्नुहुन्न भन्ने मान्यता राख्थे । मन्दिरमा गएर छोटकरीमा गर्नुपर्छ भन्थे । तर बुवा र मामाले मान्नुभएन । मैले त जागिर सुरु गरेको पनि छ महिना पुग्या थिएन । बचत भएकै थिएन । बुवाले नै खर्च गर्नुभयो ।

बिहे भइसकेपछी काजमा जिल्ला प्रशासन कार्यालय, कैलाली आए । निरुको स्नातकको अन्तिम बर्षको जाँच आयो । मैले घरायसी काममा सघाए । जाँच राम्रै भयो । उनमा पनि सरकारी जागिर खाने हुटहुटी रहेछ । कारण एउटा दाइ सुब्बा, अर्खो दाइ खरदार रहेछन् ।

मैले लोकसेवा तयारी गर्दाखेरीका पुस्तकहरु जतन गरेर राखेको थिए । निरुलाई सहयोगी बने । म पनि सहयोग गर्थे । घरमा कामको खासै चटारो थिएन । बुवाआमा दुबै जना गरिहाल्नुहुन्थ्यो । बुहारीलाइ पढेर जागिर खानुपर्छ भनेर भन्नुहुन्थ्यो बुवा । बुवाको हौसला, निरुको मिहिनेत, मेरो साथ र सहयोगले पहिलो प्रयासमै स्थानिय निकायको चौथो तहमा नाम निकाल्न सफल भइन् । खुसीको कुनै सीमा थिएन । दुबै जनाको परिवारमा खुशीयाली छाएको थियो । पोस्टिङ पनि गोदावरी नगरपालिकामै भयो । घरबाट केही समयको दुरीमा थियो वडा कार्यालय ।

फेरि अर्खो खुसी थपियो परिवारमा । निरु आमा बन्दै थिइन् । पहिलेको भन्दा बढी हेरचाह गर्थे उनको । दुबै जना जागिरे । घरमा गाई पाल्नुभएको थियो आमाले । आरिबारी थियो, सागतरकारीको लागि । बुवा बारीमै ब्यस्त हुनुहुन्थ्यो । रमाइलो थियो जिन्दगी । दिदीहरुको बिहे भइसकेको थियो । कहिलेकाँही भान्जाभान्जी आउँथे बिदाको मौका पारी । भाइ काठमाडौ एमबिबिएसको तयारी गर्दै थियो । हामी चारजना मात्र थियौँ घरमा । पाँचौ सदस्यको आगवन हुँदै थियो निकट भविष्यमा ।

र त्यो दिन आयो । म बुवा बनेँ, निरु आमा । घरमा साक्षात लक्ष्मीको रुपमा छोरी जन्मिएकी थिइन । खुसीको सिमै थिएन । लाग्थ्यो भगवानले फटाफट हाम्रो पोल्टामा खुसी नै खुसी खन्याएर जाँदैछ । एकपछि अर्खो खुसी थपिरहेका थिए ।

निरु र मेरो झगडा हुन्थ्यो छोरीको शारीरिक बनावट सम्बन्धमा । म आफू जस्तै छ भन्थे, निरु आफू जस्तै । नढाँटी भनौँ भने, ओठ र आँखा मेरा जस्तै थिए । गाला र निधार निरुको जस्तै । आफैँ न्यायाधीश बनेर एकदिन झगडाको छिनोफानो गरेका थियौँ हामिले ।

समय बित्न के नै पो बेर लाग्दो रहेछ र ! त्यो पनि खुसीयालिका । हामी दुई जना जागिरे । दिउँसोको समय हाम्रो अफिस हुन्थ्यो । छोरीको स्याहारसम्भार गर्ने जिम्मा आमाको हुन्थ्यो । उसै पनि साउँ भन्दा ब्याज प्यारो भन्छन । बुवाआमाकी लडेली नातीनी भएकी थिइ छोरी – अर्चना । प्रारम्भिक दिनहरु आमाबुवाकै छत्रछाँया र लाडप्यारमा बिते छोरीका । खुवाउने चुठाउने जिम्मा उहाँहरुकै हुन्थ्यो । अझ भन्नुपर्दा हामीले त जन्माइ मात्र दिएका थियौँ भन्दा हुन्थ्यो । बिदाका दिन हामिहरु कहिँ न कहिँ घुम्न निस्किन्थ्यौँ । ती पलहरु स्मरणीय हुन्थे ।

बुवाआमाको हौसला र प्रेरणा, निरुको लगनशीलता र मिहिनेतले फेरि एकपटक जित्यो । सङ्घिय नायब सुब्बामा नाम निस्कियो । दरबन्दी बाजुरा मालपोत कार्यालयमा पर्यो । जानैपर्यो ।

छोरीलाई तीन बर्स पुगिसकेको थियो । उसै पनी छोरी बुवाआमाकै बढी मान्थी । निरु नहुँदा पनि खासै सताइन उसले । म पनि घरमै थिए । दिउँसो स्कुल जाने भइसकेकी थि । ज्ञानी थि । पढाइमा अब्बल पनि । स्कुलमा पढेको कुरो सब याद हुन्थ्यो उसलाई । साँझ सुत्ने बखत सुनाउथी दुरुस्तै । अरु बखत मेरो खासै मतलब नगरे पनि सुत्ने बखत मेरै अँगालो प्यारो लाग्थ्यो उसलाई । मेरै हत्केलाको सिरानो न्यानो लाग्थ्यो ।

छोरी दिनप्रतिदिन ठूली हुँदै गैरहेकी थि । चार बर्ष पूरा भएर पाँचौ सुरु भइसकेको कुरो माघ ७ गते उनको जन्मदिन मनाउँदै गर्दा थाहा भयो । आफ्ना सन्तान सधैँ सानै लाग्ने । उमेर बढेको ख्यालै नहुने रैछ ।

छोरीको जति धेरै जन्मदिन मनाउँदै जान्थ्यौ, तेती धेरै केही कुराहरु सुन्दै जान्थ्यौँ । टोलछिमेक, आफन्त , इस्टमित्र सबैको केही न केही आशय बुझ्थ्यौँ । प्रत्यक्ष रुपमा हाम्रै अगाडि केही नभने पनि साङ्केतिक रुपमा व्यक्त आशय बुझ्थ्यौँ । हाँसेरै टारिदिन्थ्यौँ ।

‘छोरी ठुली भइसकी । अब यसैको मात्र जन्मदिन मनाउने हो कि अर्को पनि सोच्नुपर्यो,’ यहीँ वाक्य काफी हुन्थ्यो हामिलाई । अर्थात सबैको आशय अर्को सन्तान जन्मिदिए हुन्थ्यो भन्ने थियो । घरमा बुवाआमाले पनि बेलाबखत सुनाई राख्नुहुन्थ्यो । ‘फलानाको छोरो भयो, फलानाकी छोरी,’ यस्तैयस्तै वाक्य । 

बुवा फेसबुकबाट दैनिक घटनाहरु आमालाइ अपडेट गर्नुहुन्थ्यो । बुवा हामीलाई भन्न चाहिँ केही सक्नुहुन्थेन । तर आमामार्फत उहाँका अव्यक्त इच्छा र चाहनाहरु हामी बुझ्थ्यौँ ।

घरमा इस्टमित्र, छिमेकी आएका बखत गन्थनमन्थन हुन्थे । बेलामौका म पनि सुनिरहेको हुन्थे ।

‘हैन, बज्यै अब नातीको मुख हेर्ने होइन,’ छिमेकी भाउजू भन्दै थिइन एकदिन । ‘अब त नानी पनि ठुली भैसकिन क्यारे, यसो सोच्नुपर्यो भन्नू दाइलाई,’ एकजना बहिनी आमालाई उस्काउँदै थिइन ।

‘पिण्ण हाल्ले नाति त चाइयो के जिउ, नातीनी लै ज्वान भैगै अब । केइनथिन् चालचुल ?” पल्लाघरकी काकी आएर गन्थन गर्दैथिइन् ।

मान्छेहरु अनेक कुरा गर्थे । अनेक शङ्का उपशङ्का गर्थे । हाम्रो निजी जिन्दगीमाथी हस्तक्षप गर्न खोजेको भान हुन्थ्यो ।

यसरी समयक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपले दोस्रो सन्तानको लागि हामीलाई दबाद आउँदै थियो । तर हाम्रो अनुकुल मिलिरहेको थिएन । निरुको जागिर बाजुरा, मेरो धनगढी । भेटघाटै मुस्किलैले हुन्थ्यो । भइहाले पनि हामीले दोस्रो सन्तानको बारेमा सोचेकै थिएनौं त्योबेलासम्म । जन्माउने र हुर्काउने अनुकुल समय मिलेको जस्तो थिएन हाम्रो लागि । निरुको सरुवा धनगढी भयो भने त्यो बारेमा योजना बनाउने सोच थियो हाम्रो । तर उनको सरुवा हुने सम्भावना न्यून थियो । धेरै प्रयास गरेँ, तर सफल भएन ।

‘ब्वारी नौकरी अद्देइ भैपर काहीं हुन्छ जिउ ? रुप्पेइले के प अद्देइहुन तेइ टेकेइमौ ? अब बुडेसकाल जन्माउन्ना ? तम केइन भन्ना जिउ ब्वारीखी ?’ पल्ला घरखी काखी बेलुकीपख आमालाई कुरा लाउँदै थिइन । म अफिसबाट पुगेँ । काकी मलाइ नहेरी आफ्नो घर लागिन ।

दशैँ आयो । टीका थाप्न आफन्तको घरमा गयौँ । टिकाजमरा लगाउन्जेल ठिकै हुन्थ्यो, आशीर्वाद थाप्दा मन अमिलो पार्दिन्थे । कुरो उहि आउँथ्यो – ‘अर्खोपटक चार आउने हो ।’ छोरीले पाउने आशीर्वाद फरक हुन्थे –‘पिठी भाइ होइजाउ ।’

निरु दिक्काउन थालिन । बिदा सिद्दियो । निरु बाजुरा फर्किन । फेरी तिहार आयो । निरुलाई सन्चो भएन योपटक । मेडिकल गइन । चेकजाँच गराउँदा रिजल्ट पोजेटिभ आयो । अर्थात निरु गर्भवती भइन् । जेठी छोरी सात बर्सकी भइसकेकी थि । जन्मदिन आउन केही दिन बाँकी थिए ।

योपटक निरुलाइ अलि बढी नै समस्या देखिन थाले । मुखमा केही हाल्नै नहुने, बान्ता आइहाल्ने । बाजुरा जान गारो हुनथाल्यो । अफिसमा कुरो गरे । यताउता भनसुन गरे । बल्लतल्ल काज मिल्यो । धनगढीमै अफिस भयो ।

दिनहरु पुरानै तरिकाले चल्न थाले । मैले आमालाई खुसी बाँडे । आमाले बुवालाई । खुसी बाँडिदै गयो । समाचार फैलिदैँ गयो टोल छिमेक हुँदै इस्टमित्रसम्म । केहीदिन सबैको मुखमा बुजो लागेजस्तो भयो । दिनकै हाम्रो घर आएर आमाको रजिस्टरमा हाँजिर लाउने काखी पनि केही दिन अलप भइन् । फेरि हावा चल्न सुरु भयो । पातहरु हल्लिन थाले ।

‘अचेल त चेक अद्दाहान भन्यो जिउ, दुई दुई चेलीले क्याद्दे हुन रे ? मेरा हुकुमेले जाँचै अराइपर दुई नातीनी फालिपरो यो नाति धेक्किया हो । अचेल त सजि रैछ जिउ । दुख्ख त हामुलेइ अरे जति अरे । पाँपाँच चेली जन्माया हुँ यै हुकुमे नपाउन्ज्याँ,’ पल्लाघरकी जेठी भाउजु आमासंग गफ गर्दै गरेको सुनेँ ।

‘कति महिना भो निरु ? चेक गरायौ कि नै ? एकपटक चेक गराइहाले हुने,’ माइलो दिदीले फोन गरेर लिङ्ग परिक्षण गराएर एकिन हुन सङ्केत गरिन् ।

घरमा कुराहरु भएको सुनिन्थ्यो । छोराकै कुरा हुन्थे । मानौँ छोरो जन्मेन भने सारा ब्रह्माण्ड नै खस्नेछ । हाम्रो जीवन नै अन्धकारमय हुनेछ । हाम्रो स्वर्गको बाटो रोकिनेछ । हामी संसारकै सबैभन्दा अभाग्गी ठहरिनेछौँ ।

मैले त्यो कुरोलाइ प्राथमिकतामा राखिन । छोराछोरी दुबै हाम्रा सन्तान हुन । जे भए पनि ठिक छ भन्ने मान्यता पहिले बाटै थियो ।

अफिसमा कर्मचारीहरु विभिन्न तवरले घोचपेच गरिरहन्थे । मेरो जेठी छोरी सात वर्ष पुगिसकेकी थि । सबैजना जिस्क्याउँथे । व्यंग्य प्रहार गर्थे ।

‘के हो सर यत्रो पर्खाइ ? छोराकै लागि त होला नि, होइन ?’ एकदिन नास्ता खाइरहँदा पन्त सरले ब्यङ्य मिश्रित प्रश्न गरेका थिए । हाँसेरै टारेको थिए, त्यो दिन ।
‘छोरा जन्माउने विधि म सित छ सर । अस्ति मल्ल सरको ठ्याक्कै मिल्यो । तर एकदिन झरफर चाहीँ गराउनुपर्छ । फ्रीमा आइडिया दिने बानी छैन मेरो,’ अर्को दिन सिंह सरले चिया खाइरहेको बखत फेरि घोचे ।

‘चाइनिज क्यालेन्डर छ सर । ठ्याक्कै मिल्छ । म भोलि ल्याइदिउँला हजुरलाइ,’ बिस्ट सर पनि के कम हुन्थे र ? अस्ति मात्रै छोरो जन्मेको थियो उहाँको ।

अवस्थी सर रिटायर्ड हुन चार बर्ष छ भन्थे सधैँ । अरु कुरामा सारै फरासिला । छोरा जन्माउने कुरो आयो भने मुख बङ्याएर भागिहाल्थे । धेरै पछि कुरो पत्ता लाग्यो कि, उहाँ छोराबाट असन्तुष्ट हुनुहुँदोरहेछ । छोरामा लगानी खुब गरेका रहेछन बुढाले । इन्जिनियरिङ पढेको रहेछ काठमाडौमा । तर कुलतमा फसेछ बेस्सरी । आजकाल काठमाडौमै सुधारकेन्द्रमा राखिएको छ रे ।

चार दिनदेखि रमा म्याडम अनुपस्थित हुनुहुन्थ्यो । पाँचौ दिन निराश भएर आइरहनु भएको देखेँ । अनुहारमा कुनै चमक थिएन । धेरैदिनबाट बिरामी जस्ती । पुस्पा मेडमले रमा म्याडमलाइ इङ्कित गर्दै भन्नुभयो, ‘बिचरा मेडम, योपाली नि छोरी नै रहेछ । फेरि फाल्नु भएछ ।’

मन खिन्न भयो । धेरै अन्नुतरित प्रश्नहरु मनमा खेलिरहे त्यो दिन । बेलुकी घर पुगँे । निरुसित दिनभरको कुरो सेयर गरेँ । उनले मन अमिलो बनाइन सायद । धेरै बोलिनन् सुरुमा । सायद उनको मनमा पनि केही कुराहरु खेलिरहेका थिए । आआफ्नै मोबाइलमा ब्यस्त रह्यौँ केही समय ।

खाना खाएर सुत्ने बेला उनैले केही आफ्ना सङ्स्मरणहरु उप्काइन् । पछिल्लो दुई बर्षमा भोगेका केही तिता अनुभवहरु मेरो सामुन्य पोखिन । धेरैदिन बादको पिलो निचोरिन होला । कति धेरै कुराहरु गुम्साएर राख्न सकेकी मेरि प्यारी निरुले ।

घरदेखी बनसम्म भोगेका लैङ्गिक भेदभावका अनुभवहरुको पोको नै रहेछ उनिसङ्ग । घरमा हुँदा होस वा छिमेकी आफन्तकहाँ जाँदा होस, सुन्नु परेका तमामौँ तिता पुरातनबादी कुबिचारहरुको बिटो फुकालिन त्यो रात ।

अफिसमा शिक्षित र आधुनिक भनाउँदा सहकर्मीहरुबाट सुन्नुपरेका वचन र ब्यङ्यहरु अमिलो मन बनाउँदै मेरो अघाडी पस्किदिइन ।

‘के हो म्याडम, एउटै छोरीमा चित्त बुझाउने मन छ कि क्या हो ? सोचिहाल्नुहोस् है बेलैमा । ’ मुखभित्र हालेको खैनी प्याच्च थुक्दै एकदिन चिया खाने बखत मोहन मिश्रा सरले मुख खोलेका थिए रे ।

‘याँ बसेर छोरा जन्मिन्नन् म्याडम, यसो कहिलेकाँही घर पनि जानुपर्यो । उता सर एक्लै हुनुहुन्छ । छोरीलाइ छ बर्स भैसक्यो भन्नुभा होइन ? खेती समयमै लगाको ठिक हुन्छ । यी हेर्नुहोस मेरा छोराहरु अमेरिका पुगिसके ।’ बडो घमण्डका साथ छाती फुलाएर पण्डित सरले एकदिन प्याच्चै भनिहाले रे । निरु केही बोल्थिनन । हाँसेरै टारिदिन्थिन् । यति भन्थिन –‘समय आउँछ सर सब कुराको ।’

निरुकी मिल्ने साथी पनि थिइन अप्सरा म्याडम । केश पाकिसकेका । तीन छोरी थिए । सन्तुष्ट देखिन्थिन । दुई छोरी स्टाफ नर्स थिए नेपालगन्जमा । कान्छी छोरी बि.एस्सी. पढ्दै थिइ काठमाडौ । उनी सम्जाउँथिन रे निरुलाइ –‘यिनिहरुको कुरा नसुन्नु नानी । निर्णय आफैले हो लिने । छोराछोरीमा भेदभाव कहिल्यै नगर्नु । यी हेर मेरा छोरीहरु । छोरा भन्दा के कम छन ? छोराकै लागि मेरा श्रीमानले दोस्रो बिहे गरे । तर उताबाट जन्मेको छोरो लायकदार छैन । अहिले काठमाडौ तिरै कता बाउको पेन्सन खाएर हल्लिएर बस्या छ रे । कामकाज केही गर्दैन ।’
बिदामा घर आएको बखत पनि टोल छिमेकमा कुरा गरेको सुनेकी रहिछन निरुले । अहिलेसम्म मलाइ उनले कहिल्यै यस्ता कुराहरु सेयर गरिकी थिइनन ।
‘छोरी मात्रै जन्माएर बस्ने हो कि एउटो छोरो पनि जन्माउने हो ?’ माथिल्लो घरकी साँइली बौजुले एकदिन छोरिकै सामुन्ने मुख खोलिन रे । यसको जवाफ निरुसङ्ग नभएको होइन रे, तर किन फुचेरो बन्नु भनेर हाँसेरै टारिदिन्थिन ।
‘इसो हेराउने कुराउने लै अद्दुपड्यो जिउ, यैका पिठी भाइ छ कि नै ?’ पल्ला घरकी काखिले आमालाइ भनेको कुरा कुन दिन निरुले सुनेकी रहिछन ।
त्यो रात हामी अनिदो नै बस्यौँ भन्दा हुन्छ । छोरी बिउँजन्थी र सोध्थी –‘आज हजुरहरु किन नसुतिस्या मामु ? सन्चो छैन, हो ?’
छोरिलाइ थम्थम्याएर सुत्याउथ्यौँ र फेरि आफ्ना गाँठाकुटिराहरु खोल्थ्यौँ । निरुभित्र पनि एक किसिमको डर पलाइसकेछ । कतै योपाली पनि छोरी जन्मिने हो कि ? म त्यो भाव सहजै अनुमान लगाउन सक्थँे । हुन त निरु छोरा पाउनै पर्छ भन्ने मान्यता राख्थिनन् । छोराछोरी बराबरी हुन भन्ने उनको दृढ मान्यता धेरै अघिदेखिको थियो । यो बिसयमा हामी बिच पहिले धेरै पटक सहमती जुटिसकेकी थियो । पहिलो सन्तान छोरी जन्मिदाँ सबभन्दा बढी खुशी भएकी थिइन भने, निरु नै थिइन । र कहिलेकाहीँ हाँसो ठट्टा हुँदा पनि म उनको मन चोर्न यस्तै विभिन्न सवाल गर्थे । उनलाई पढ्न खोज्थे । कहिल्यै छोराछोरी प्रतीको भेदभाव पाइन । तर यसपटक भने उनि भित्रको अब्यक्त इच्छा कहिँ कतै छिद्र परेर बाहिर पोखिँदै गरेको आभास पाइरहेको थिएँ । उनले कोट्याउने प्रसङ्ग, ल्याउने उदाहरणहरु हेर्दा कहिँ कतै उनिमा पनि पुत्रमोह जागेको त होइन जस्तो लाग्थ्यो । म मन चोर्न प्रश्न पनि गर्थे –‘के हो प्यारी, तिमि पनि आजकाल कतै आफ्नो अडान र मान्यताबाट बिमुख त भैराखेकी छैनौ ?’
उनले पनि बडो दार्शनिक जवाफ दिइन् –‘म पनि यसै समाजकी एक सदस्य हुँ । समाजका मूल्य मान्यता, सङ्सकार, परम्पराबाट कहाँ पो भाग्न सक्छु र ? केही न केही छाँया त म माथी पनि पर्न जान्छ होला, होइन र पृयतम ?’
बाहिर देखाउनकै लागि भएपनी उनको तर्कलाइ खन्डन गरेँ । तर मभित्र पनि कहिँ कतै पृतिसतात्मक सोच पलाइसकेको रहेछ । खै, कुन तिथिमितीबाट हो कुन्नी ? म आफ्नो मुल्यमान्यताबाट डगमगाइसकेको भान त्यो रात भयो । थुप्रै ब्यक्तिका उदाहरणको सहयोग लिएर निरु सङ्ग छोरिकै पक्षमा तर्क त गरेँ । तर आफ्नै कट्टु फुस्केको पत्तो भएन । आफै महसुस गर्न थालँे कि, बाहिर जे जस्तो भने भनी पुत्रमोह त म भित्र पनि त पलाइसकेको रहेछ ।
बाहिर साथिहरु सङ्ग जस्तोसुकै तर्क गरे पनि आफैभित्र तर्क गर्न हारीसकेको रहेछु । मन खिन्न भयो । एक किसिमको लज्जाबोध पनि । खै कतिबेला निदायौँ त्यो रात पत्तै भएन । बिहान छोरीले जिस्क्याएर पो बिउँझिए ।
आज डाक्टरकहाँ फलोअफ गर्ने दिन थियो । तीन महिना पछि बोलाइएको थियो । त्यसकारण हाफ छुट्टी लिएर घर आएँ । निरु पनि म भन्दा अघाडी घर पुगिसकेकी थिइन । तयार भएर निस्कियौँ । भिड थियो । नाम बिहानै टिपाएकोले दस नम्मरमा पालो आयो । भित्र पस्यौँ । डाक्टरले प्रश्नहरु सोध्नुभयो । हामी दुबै मिलेर जवाफ दियौँ ।
अघिल्लो पटकको पर्चा हेर्दै डाक्टरले सोध्नुभयो, ‘यो दोस्रो बच्चा हो नि ?’
‘हो, डाक्टर साप ।’
‘छोरी कि छोरा ?’
मलाइ रिस उठेर आयो । सम्हालिएर जवाफ दिए ।
‘छोरी’
डाक्टरले किन यो प्रश्न गरे, मैले ठ्म्याउन सकिन त्यो बखत । किन छोरा र छोरी भनेरै प्रश्न गरे ? किन लिङ्ग छुट्याएरै सवाल गरे ? पहिलो सवालमै जवाफ थियो त । किन दोस्रो सवाल गरे डाक्टरले ? मनमनै रिस उठेर आयो ।
निरुलाइ भिडियो एक्सरेको लागि भनियो । सिस्टरले सहयोग गरिन । डाक्टर कुर्सी फर्काएर निरुतिर मोडिए । औजार चलाए । एकछिन गम खाए । हामितीर बारम्बार हेर्न थाले । मैले बुझिन । प्रश्न गरे –‘केही अप्ठेरो त छैन डाक्टर साप ?’
‘सब ठिक छ । ... ’
‘अनि ? ’
‘छोरी छ नि घरमा ?’
निरु मलाइ हेरिरहेकी थिइन् । अनुहार मलिन थियो उनको ।
टाउको हल्लाएरै जवाफ दिए यसपटक ।
‘के छ बिचार ?’
‘कस्तो बिचार डाक्टर साप ?’
‘जाँच गरौँ कि भन्या ?’
खै, म कसरी हारेँ यहाँनीर । सहमती जनाएछु ।
डाक्टरले समय लगाए अलि बढी । पुरानै पोजिसनमा फर्किए कुर्सी घुमाए । आँखाबाट पावरवाला चश्मा निकालेर टेबुलमा राखे र म तिर आँखा घुमाएर लामो सास ताने ।
‘के भो डाक्टर साप ?’ डाक्टरले केही भन्नुभन्दा पहिल्यै मुखबाट फुत्किहाल्यो यो प्रश्न ।
‘छोरी छ ।’
कन्ट्रोल गर्दा गर्दै पनि मन अमिलो भएर आयो । पूरा ब्रह्माण्ड घुमेर आयो । तर किन ? किन यस्तो भयो मलाइ ? छोरीले के गरि तेस्तो ? आफैले आफैलाइ प्रश्न गर्न नपाउँदै डाक्टरले पुनः प्रश्न तेर्स्याउनु भयो –“के सोच बनाउनु भा छ ? सफा गर्ने हो कि ?’
केहि सोच्नै सकिन मैले । निरु निराश थिइन् । मैले उनलाइ हेरेँ, तर उनले मलाइ हेर्न सकिनन सायद ।
भित्र बस्न सकिनन । ह्यान्ड ब्याग समातेर बाहिर निस्किहालिन ।
‘सल्लाह गर्नुहोला । सफा गर्ने प्लान गर्नुभयो भने पर्सि शुक्रवार मिल्छ । बाहिर काउन्टरमा गएर सबै प्रक्रिया बुझ्न सक्नुहुन्छ ।’
‘हस् डाक्टर साप ।’ यत्ती भन्न सकेँ । बाहिर निस्किएँ । निरु सडकमा आएर बाइकमा अडेस लगाएर बसिरहेकि थिइन् ।
केही बोलेनौँ दुबै जना । तर किन ? उत्तर न त मसङ्ग थियो, न त निरु सङ्ग नै त्यो बखत । मौनता शिवाय अरु केही थिएन त्यहाँ । बाइक स्टाट गरेर घर आइहाल्यौँ ।
खै किन हो कुन्नी, त्यो दिन मन उदास उदास भैरह्यो । बेलुकी खाना खाएर बेडमा आयौँ । छोरी गृहकार्य गरिरहेकी थि । केही छिन कोहि कसै सङ्ग पनि बोलेनौँ । छोरीले नै जिस्क्याइ –‘आज बाबा मामुको झगडा भा छ कि क्यायो ? कोइ बोलिसिन्न्न त ?’
मैले हाँसेरै जवाफ दिए –‘छैन छोरी ।’
निरु चुपचाप बेडमा पल्टिन । कहाँबाट सुरु गरौं बार्तालापको ? कुनै छेउ टुप्पो पाइन । साहस गरेँ । निरुको छेउमै गएर सोधे –‘सन्चो छैन हो तिमिलाइ ?’
‘ठिकै छ ।’ छोटो जवाफ फर्काएर कोल्टो फर्किन ।
‘अनि किन निराश देखिन्छौ ?’
‘हजुर नि ?’
मौनता छायो । छोरी आफ्नै गृहकार्यमा ब्यस्त थि ।
मौनतालाइ चिर्दै अघि बढे –‘केही नसोच । छोरी नि हाम्रै सन्तान हो, हाम्रै रगत हो । हामिले नै भेदभाव गर्ने हो भने अरुले के गर्लान् ? छोरी पाउनुपर्छ । दिमागमा कुरा नखेलाउ । कसैको प्रवाह नगर । जीवन आफ्नो हो । कसले के भन्छ भन्ने कुरो दिमागमा खेलाएर बस्ने होइन । जसले जे जानेको छ, जुन सङ्स्कारबाट हुर्केको छ, त्यही भन्ने हो । तिमी शिक्षित नारी त आफू भित्रको पुत्रमोह त्याग्न सक्दैनौ भने यो समाज कसरी चेन्ज हुन्छ ?’ भन्न त यति भने तर अघि दिउँसो डाक्टर सङ्ग भएको कुराले मन अमिलो बनाइरह्यो । कतै डाक्टरहरु नै पैसा कमाउने लोभमा लिङ्ग परिक्षण गराएर भ्रुण हत्या गर्न उद्दत त छैनन ? होइन, दम्पतीहरु नै तयार छैनन भने डाक्टरले के गर्लान र ?

धेरैबेरसम्म यी र यस्तै कुराहरुमा घोत्लिरहेँ । छोरीले ‘बाबा, यो सिकाइदिनुहोस न ।’ भनेपछी ध्यान भङ्ग भयो । केही छिन छोरीको गृहकार्यमा ब्यस्त रहेँ । निरुको मनमा के खेल्दै थियो कुन्नी ? मैले कुनै हस्तक्षेप गरिन । करिब दस बज्नै लाग्दा छोरीले निन्द्रा लाग्यो भनिन । र लाइट अफ गरेर सुत्न पल्टियौँ ।

छोरी त पाँचै मिनेटमा निदाइन । तर म ? अँह, मरिगए निद्रा आउँदैन । अरुबेला नौ बजे नै उध्ने मान्छे आज निद्रादेबिलाइ आइदेउ न प्रभु भनेर गुहार्दै थिएँ । उता निरुको हालत पनि त्यस्तै थियो । उनको शरिरको चालले त्यो स्पष्ट भान हुन्थ्यो । कहिले दाहिने तर्फ कोल्टे फर्किन्थिन त कहिले बायाँतर्फ । म यो नियालीरहेको थिएँ ।
‘निरु’
‘हम्म’
‘के भ्यो ? निद्रा लागेन ?’
‘लाग्दैछ’
‘के के सोचिराछौ तिमी आज ? सुत अब ।’
भन्न त फेरि यति भने, तर आफैलाइ निद्रा परिराखेको थिएन ।
शौचालय गएँ, आएँ ।
‘नाँइ बाबा, नाँइ । मलाई नमार्नुहोस् । म बाँच्न चाहान्छु ।’
झस्याङ्ग भएँ । कस्तो नमिठो सपना देखेछु । उठेर लाइट अन गरेँ । खल्खली पसिना आइरहेको थियो । निरुलाई नियाँले, मस्त निद्रामै थिइन । जेठी छोरीलाइ हेरेँ, उनी पनि कोल्टो फर्केर मस्त निद्रामै थिइन ।
ओहो ! कस्तो डरलाग्दो सपना देखेछु । निरुको पेटभित्र हुर्कदै गरेकि चौध हप्ताकी छोरीको कारुणिक हारगुहार थियो यो ।

मन कुँडिएर आयो । टाउकोमा एक टनको घनले बजारे जस्तो लाग्यो । यो कस्तो सपना देखेछु मैले ? किन हामिबाट यस्तो पाप हुँदैरैछ ? किन हामि यति सारो अन्धो भैरहेका रहेछौँ ? सोच्नै सकिन । सपनालाइ सम्झिने प्रयास गरेँ । ठेकटुप्पो केही बुझिन । तर जुन दृश्य सपनामा देखियो, त्यसले लज्जित बनायो स्वयंलाई ।

अघिल्लो दिन मेडिकलबाट फर्किसकेपछी निरु र म फेरी आआफ्नै रुटिनमा निस्किन्छौँ । डाक्टरले अन्तिम पटक बोलेको वाक्यलाइ बिर्सिदैँ आफ्नै नित्यकर्ममा फर्किन्छौँ । समय बित्दै जान्छ । एकातिर फेरि काखमा छोरी आउने कुराले खुशी थियौँ त अर्कोतिर घरमा र छरछिमेक तथा कार्यालयमा सुनिने लैङ्गकिक बिभेदलाइ प्रशय दिने खालका कुराहरुले निराश र दिक्क बनाउँथ्यो ।

‘रिता म्याडमले यो पटक गरि चारचोटी गर्भपतन गराइ सक्नु भएको छ । अब डाक्टरले उहाँलाई बच्चा नजन्माउन सुझाव दिनुभएकोछ ।’ तारा म्याडम कृष्णा म्याडमको क्याबिनमा आएर गफिनुहुँदै थियो ।

‘फूलबारी एउटा ज्योतिषी हुनुहुन्छ, ठ्याक्कै भनिदिनुहुन्छ । अस्ति मेरो साडुदाइको ग्रहदशा सब भनिदिनुभयो । के के जाप गर्नुभयो, दान गर्नुभयो । एक बर्स भित्रै छोरो जन्मियो ।’ रमेश सर नारायण सरलाइ ज्योतिषीलाई भेट्न उत्प्रेरित गर्दै हुनुहुन्थ्यो चियागफमा ।

नारायण सरको कान्छो छोरीलाई पनि दस वर्ष भइसकेको थियो । जेठी छोरी बारमा पढ्थी । दुई छोरीपछी नारायण सरको अरु सन्तान किन जन्मिएनन् वा जन्माएनन् ? मैले कहिल्यै सोधिन । उहाँको निजि मामला थियो त्यो । खासमा कसैको पनि ब्यक्तिगत जिवनका पानाहरु उप्काउन मेरो स्वभाव थिएन र छैन । तर अफिसमा खासखुस चल्थ्यो –‘नारायण सरले छोराको लागि धेरै ठूलो धनराशी खर्च गरिसक्नुभएको छ । खै, भाग्यमै नभा हो कि ?’

कार्यालय परिसरमा क्यान्टिन सन्चालन गरेर बसेकी सीता दिदिको पनि आफ्नै ब्यथा रहेछ । तीन छोरी भैसकेपछी श्रीमानले अर्खो बिहा गरेर बेङ्लोर गएछन । पन्द्र बर्स भयो रे नफर्केको । त्यसपछि अठोट गरिछन सिता दिदिले छोरिलाइ पढाएर ठूलो मान्छे बनाउने । श्रीमानने छोड्दा जेठी छोरी नमिता आठ बर्सकी थिइन, माइली उर्मिला छ बर्स र कान्छी यसोदा एक बर्सकी । साना छोरिहरुलाइ काखी च्याप्दै माइतीको सहारामा क्यान्टिन संचालन गरिछन हाम्रै कार्यालयमा । अहिले जेठी छोरी नर्सिङ पढ्दैछिन भने माइली प्लस टु । कान्छी यसोदा पन्चोदय मा. बि. मा कक्षा दशमा पढ्छे । रेस्ट भन्ने सङ्स्थाले सहयोग गर्दै आइरहेकोछ । सीता दिदिको संघर्ष र मिहिनेतले सबैको मन तानेको थियो ।

एकदिन कार्यालय सहयोगी नरेश दाइले लड्डु बाँड्दै हुनुहुन्थ्यो अफिसमा । बुझ्दै जाँदा छोरी भएको खुशीयालीमा रहेछ । तर लड्डु खाँदै कुरा काट्ने स्टाफहरु देखेर ताजुब लागेर आयो ।

‘दुई दुई छोरी छँदैछन, फेरि पनि छोरी नै जन्माएछ नरेशले ।’ लड्डु बेरेको प्लास्टिक डस्टबिनमा फाल्दै निर्मला म्याडमले प्याच्च भनिहाल्नुभयो ।

‘तेहि त, चेक गरेको भए हुने । धनगढीमै कति मेडिकल छन अहिले । तीन तीन छोरीले के पो गर्ने हो बिचरा नरेश ?’ केश पाकिसकेकी दर्ता फाँटकी यसोदा म्याडमले साथ दिनुभयो निर्मला म्याडमलाइ ।

‘अहिलेको जमानामा पनि यस्तो विभेद गर्ने हो म्याडम ? छोरीलाइ कतिसम्म हेप्नुभाको हजुरहरुले । मलाइ त तपाईहरुको कुरो चित्त बुझेन ।’ भर्खरै नियुत्ती लिएर आउनुभएकी सावित्री मिसले त सहनै सक्नुभएन उहाँहरुको कुरा ।

‘सत्य कुरो नमिठै हुन्छ मिस । हामिले सब भोगेर आइसकेका छौँ । यो समाज र यहाँका मान्छेहरुको सोच कस्तो छ, सब अनुभव गरेर आइसकेका छौँ ।’ निर्मला म्याडमले फेरि सावित्री मिसको कुरो काट्दै भनिन ।

सावित्री मिसलाइ त्यो कुरो झन् मन परेन । कुर्सिबाट उठेर भन्नथालिन, ‘जहाँसम्म हामी महिलाहरु नै सत्यलाइ असत्य साबित गर्न सक्दैनौँ, त्यहाँसम्म छोरीहरु हेपिएरै बस्नुपर्ने हुन्छ । लैङ्गिक बिभेदको सिकार थुप्रै छोरीहरुले भोग्नुपर्नेछ । हामी आफैँ परिवर्तन हुन सक्दैनौ भने अरुबाट कसरी आश गर्नसक्छौँ ? पुत्रमोहबाट जबसम्म हामी नारीहरु नै बाहिर निस्किन सक्दैनौँ, तबसम्म भ्रुणहत्या भैरहनेछन । सुन्दर धरती नदेख्दै कयौँ छोरीहरु पेटभित्रै मारिनेछन । पहिले हामीले आफ्नो सोच परिवर्तन गर्नुपर्यो । तबमात्र नरेश दाइ जस्ता बुवाहरुले सगौरव तीन तीन ओटा छोरी जन्माउन सक्नेछन । सीता दिदीहरुले श्रीमानबाट घरेलु हिंसा सहनु पर्नेछैन । ’

सायद यो बहस अझ तन्किन सक्थ्यो तर सेवाग्राही आएको सङ्केत पाइसकेपछी सावित्री मिस आफ्नो कार्यकक्षतिर लागिन् । केहि दिनपछी एक साँझ सुत्ने बखत निरुले अप्रत्याशित रुपमा प्रश्न गरिन –‘के गरौँ ?’
मैले बुझ्ने कुरै भएन । ‘कस्तो के गरौँ ?’

निन्याउरो मुख लगाएर झ्यालबाट बाहिर हेर्दै भनिन –‘फेरि पनि छोरी पाउने हो र ?’
म अवाक्क भएँ । घर, टोल, छिमेक , अफिस । अब हुँदा हुँदा आफ्नै पढेलेखेकी शिक्षित, समझदार, एउटा आत्मनिर्भर स्वास्निले समेत लैङ्गकिक बिभेदको छनक दिनेगरि मलाइ जाँच्न खोजिरहेकी थिइन वा भित्री हृदयको विवशता पोख्न खोजिरहेकी थिइन । उनको आशय ठ्याक्कै बुझ्न सकिन । कुन अभिप्रायले उनले आज एक्कासि यो प्रश्न गरिन । मेरो मन चोर्न ? वा अरु केही ?

फेरि त्यो साँझ निरु र मेरो थुप्रै गफहरु भए । आज छोरी छिट्टै सुतिसकेकी थि । उनले टोलछिमेक, आफन्त, सहकर्मी सरम्याडमहरुबिच हुने गरेका टिकाटिप्पणीहरु सेयर गरिन । जुन मैले सुन्ने गरेका र भोग्ने गरेका भन्दा फरक थिएनन । त्यो रात अबेर सम्म गफियौँ निरु र म । उनको अनुहारमा नमिठो दिग्दारिपन र उदासिपन देखिन्थ्यो । जसको प्रभाव म भित्र पनि पर्दै गइरहेको थियो । म पनि क्रमशः क्रमशः पग्लिदै गैरहेको भान हुन्थ्यो । र हामिले पुनः एकपटक अघिल्लो महिना डाक्टरले भनेको अन्तिम वाक्य सम्झियौँ –‘के बिचार गर्नु भाछ ? छोरी छ ।’

मौन रह्यौँ केही मिनेट । सायद सास चल्न बन्द भयो एकछिन । पृथ्वीले सुर्यको परिक्रमा गर्न रोक्यो । घडिका सुइहरु आआफ्नै स्थानमा टक्क अडिए ।

बिचारहरु मन्थन हुनथाले दुबैका । हामी गर्भपतन गराउने तिर मोडिदै थियौँ । एउटा पापको भारी बोक्ने गन्तव्यमा हिड्न खोज्दै थियौँ । थाहा थिएन केही दिन, केही महिना अघिका हाम्रा आदर्श लाग्ने बिचारहरु, तर्कहरु स्खलित हुँदै थिए । हामी चेतना शुन्य हुँदै थियौँ । हामिले लिएको शैक्षिक डिग्रीले हामिलाइ जिस्क्याइरहेको थियो । म स्वयंले कतिपटक गाउँमा गएर नारी अधिकारको बिसयमा, लैङ्गकिक बिभेदको बिसयमा वकालत गरेको थिए । सामाजिक रुपान्तरण र महिला शसक्तिकरणका महङ्गा महङ्गा सेमिनारमा भाग लिएको थिएँ । निरु पनि कतिपटक नारी दिवसको दिन उत्कृष्ट निबन्ध लेखे बाफत पुरस्कृत भएकी छिन । बिधालय, कलेज तहको त कुरै छोडौँ । वक्तृत्वकला, निबन्ध प्रतियोगितामा मैले कहिल्यै रित्तो हात फर्किनु परेन । तर आज मेरा निबन्धहरु, मेरा मन्तव्यहरु फिक्का फिक्का लाग्दै थिए आफैलाइ । जुन निर्णय आजको रात हामी लिइरहेका थियौँ, त्यो निर्णय सायदै हामिले परिकल्पना गरेका थियौँ ।

तर किन, कसरी, कुन कारणले एउटा शिक्षित जोडि यति सम्म गिर्न सक्दो रहेछ भन्ने ताजा उदाहरण हामी बन्दै थियौं त्यो रात । कहिल्यै भ्रुण हत्याको पक्षमा सोच्न सम्म नसकेका हामी आज तेहि बाटोमा कदम अघि बढाइरहेका थियौँ । थाहा थिएन, कुन शक्ति वा मोहले हामी आफ्नै आदर्शबाट च्युत हुँदै थियौँ । तर यो पनि थाहा थियो, जुन निर्णय लिन गइरहेका थियौँ, त्यो कदापि ठिक होइन । यो सरासर पाप हो । महाअपराध हो । यो पापबाट कहिल्यै मुक्ती पाउन सकिने छैन ।

त्यो रात निस्कर्समा नपुगेरै निदायौँ । सायद निस्कर्समा पुग्थ्यौँ पनि होला । तर निरुको एक्कासि पेट दुख्यो । त्यसैमा अल्झियौँ । र सुत्यौँ धेरै नबोली ।

‘बाबा, मलाइ नमारीस्योस् न, प्लिज ।’
सोह्र हप्ताकी छोरीले आफ्नो मामुको पेटबाट अनुनय बिनय गर्दै जीवन रक्षाको लागि गरेको अपिलको सपनाले रातभर सुत्नै सकिन । मोबाइलमा समय हेरेँ, दुई बजेर दस मिनेट भएको थियो ।

के अनर्थ हुनलागेको थियो हामीबाट ? जसले बिज रोपेका थियौँ, उनै कोपिला निमोठ्न लाग्दै थियौँ । आफुलाइ सम्हाल्नै मुस्किल हुँदै थियो ।

रातभरीको सल्लाह बमोजिम दोस्रो दिन बिहानै हामी मेडिकल जान्छौँ । डाक्टरले भिडियो एक्सरे गर्नुहुन्छ । सोह्र हप्ताको भैसकेको हुन्छ । काउन्टरमा गएर पैसा जम्मा गर्ने र पर्सि बिहानै छ बजे आउन आग्रह गर्नुहुन्छ ।

पर्चामा केही औसधि लेखिदिदैँ हामिलाइ बाहिर पठाउनुहुन्छ । डाक्टरले भनेबमोजिम हामी आज्ञाकारी बालक झैँ सबै काम फटाफट गरेर घर पुग्छौँ । खाना खाएर दुबै जना अफिस जान्छौँ । दोस्रो दिन डाक्टरले दिएको निर्देशन बमोजिम नै भ्रुण हत्या गर्ने ट्याबलेट मुखमा हाल्नै लाग्दा छोरी रुन्छ । दुबै हात जोडी अनुनय बिनय गर्छ– ‘म हजुरलाइ कुनै दुख्ख दिन्न बाबा । म मेरो दादा वा भाइ भन्दा कम हुन्न । हजुरको हरेक सपना पूरा गर्नेछु । प्लिज बाबा, मलाइ एकपटक मात्र यो धरतीमा आउन दिनुहोस । प्लिज बाबा ।’ गर्भमा रहेकी सोह्र हप्ताकी छोरिसित मौन संवाद हुन्छ हाम्रो ।

म निरु तिर फर्किन्छु । निरुका आँखाका डिलबाट अनमोल दिव्यरत्न टिलपिल टिलपिल हुँदै ओठसम्म आइपुग्छन ।
‘प्लिज मामु, हजुर त नाँइ भनिस्यो । यत्रो दिनसम्म राखिस्यो । दुख्ख गरिस्यो । आज आएर मलाइ मार्ने कुरा गरिसिदैँछ । कसरी सोचिस्यो मामु ? मेरो माया लाग्दैन हजुरलाइ ?’ सुँक्क सुँक्क गर्दै रुँदै बोल्छे छोरी ।

‘हजुरलाइ कहिल्यै सताउन्न मामु । दिदी भन्दा नि ज्ञानि हुन्छु । दिदी भन्दा नि बढी पढ्ने हुन्छु । हजुरलाइ पाल्छु । बरु बिहे नगरेरै बस्छु । हजुरहरुलाइ कहिक्यै एक्लो छोड्दिन । प्लिज मामु, मलाइ बचाउनुहोस । म जवाफ दिनेछु समाजलाइ । मलाई थाहा छ, हजुरहरु मलाइ किन मारिसिँदैछ भनेर । कतिन्जेल सम्म मारिसिन्छ मामु हामिहरुलाइ ?’ अघिको नम्र स्वर अब अलि कठोर र कडा हुँदै जाँदै थियो ।

‘कि हजुरले लेख्ने शब्दको आयु सकिएकै हो त बाबा ? हजुर मेरै बाबा हो नि ? आज आएर मलाइ लाज लाग्दै छ हजुरलाइ बाबा भन्न नि । हजुर नै होइन, गाउँ गाउँमा गएर नारी अधिकारका कुरा गर्ने ? हजुर नै होइन कान्तीपुर, गोरखापत्र जस्ता रास्टृय दैनिक पत्रीकामा ठुला ठुला अक्षरमा लामा लामा लेख छाप्ने लैङ्गकिक हिंसाका ? आज कहाँ गयो बाबा हजुरको त्यो आदर्श ? कहाँ गयो त्यो चेतना ? हजुर नै होइन लोक सेवा आयोगका अनलाइन कक्षामा महिला हिंसा, नारी अधिकार, समाज रुपान्तरण , समानता र समता जस्ता टपिकमा राम्रो नोट लेखाउने ? आज कुन कुनोमा मिल्काउनु भयो ती नोटका सेता पानाहरु ? पत्रीकाका कटवाउट्सहरु कहाँ बेचेर बदाम खानुभयो ? कहाँ छन हजुरका डिग्रीका सर्टीफिकेटहरु ? धिक्कार छ यस्तो बाबालाई ।’

 छोरीको आक्रोस थामिने कुनै सङ्केत मिलिराखेको थिएन । उ झन् झन् उग्र हुँदै गइराखेकी थिइ –“ तपाईको शैक्षिक योग्यता के जागिर खानको लागि मात्रै थियो त बाबा ? कहाँ गए हजुरका आदर्श बिचारहरु ? तपाईको चेतनालाइ मान्नैपर्छ । पुत्रमोहले यति सम्म गिर्न सक्नुहुन्छ जस्तो लागेको थिएन । आफ्नै रगतको डल्लोलाइ मास्न तयार हुने तपाईं भोलि अरुलाइ के शिक्षा दिनुहोला ? आफ्नै प्रेमको निशानीलाइ नास्न खोज्ने तपाईं भोलि अरुको प्रेमलाइ कसरी स्विकार्नुहोला ? म भित्र तेस्तो के कमजोरी छ बाबा, जसको कारण म जन्मिन नपाइ मरिहालुँ ? आँखिर दोस मेरो हो र ? तपाईं र मामुकै प्रेमले म मामुको पेटमा बसेको होइन ? आज जवाफ चाहिन्छ बाबा । तपाई भाग्न पाउनुहुन्न आजको रात । आफ्नो खुसीको लागि तपाई आज आफ्नै छोरीलाइ बली दिँदै हुनुहुन्छ । आँखिर किन बाबा ?’ पहिले भन्दा अलि मथ्थर भै । सायद बोल्दा बोल्दै थाकिछ होला ।

अँह, थाकेकी रहिनछ । निरु सङ्ङ आँखामा आँखा जुधाएर सबाल गर्छे ।
‘मामु, हजुर त यति कठोर हुनुहुन्न जस्तो लाग्थ्यो । तर यो के निर्णय लिँदै हुनुहुन्थ्यो । मेरो माया लागेन मामु ? कत्ती पनि लागेन ?’ फेरि सुँक्क सुँक्क गर्छे ।

‘हजुर त शिक्षित मामु होइन र ? हजुर आफै नारी भएर नारिकै हत्या गर्न किन तम्सिनु भो ? आज सबैका बाबामामुले आफ्नो दोस्रो छोरीको हत्या गर्दै जाने हो भने बुहारी काँ बाट पाउलान मामु ? हजुर नै भन्नू हुन्थ्यो नि नारी पुरुस एक रथका दुई पाङ्ग्रा । अनि एउटा पाङ्ग्रो नस्ट गरिदिएपछि रथ अघाडी बढ्न सम्भव होला र मामु ? हजुर नै भनिस्यो न ।’ 

ओठमुख पुरै सुकिसकेका हुन्छन । तर रिस र आक्रोश थामिएको हुन्न । कतिखेर भावुक हुन्छे त कतीखेर आक्रोशित । म केही बोल्न सक्दिन । आफ्नो अपराध स्विकार गरेर सजाय सुन्न पर्खिरहेको अपराधी जसरी घोसे मुन्टो लगाएर छोरीको अघाडी उभिरहन्छु ।

‘मामु, म हजुरलाइ निराश हुन दिने छैन । हजुरको पीडा राम्ररी बुझेकी छु । यो हजुरको एक्लो पीडा हुँदै होइन । तर हजुर जसरी यो समाज, धर्म सङ्स्कृतीबाट भाग्न खोज्दै होइसिन्छ, यो राम्रो होइन । हजुरलाइ सायद पटक्कै मन छैन होला आफ्नै छोरी आफ्नै हातबाट हत्या गर्न । हजुरलाइ यो पनि थाहा छ, यो महापाप हो । अपराध हो । तरपनी तपाईँ कसको खुशीको लागि यति सम्म अमानविय निर्णय लिन थाल्नुभएको ? मलाइ पटक्कै बिश्वास छैन कि मेरी मामुले आफ्नै छोरीको हत्या गर्न सक्छे । तीन तीन महिना सम्म दुख गरेर हुर्काएकी छोरीलाइ निमेसभरमै एउटा ट्याबलेटको सहाराले कैँचीले काटी काटी मार्न सक्छे । अँह मामु, म यो पत्याउनै सक्दिन । हजुर यस्तो गर्न सक्नुहुन्न । हो नि मामु ? ’ फेरि भावुक हुँदै रुन खोज्छे । तर आँसु रित्तिसकेका हुन्छ्न ।

‘मेरा पनि सपनाहरु छन नि मामु । हजुरले देख्नु भएका सपनाहरु मेरा पनि त हुन । दिदी पर्खिरहेकी छे मलाइ । उ पनि त एक्लै छे । खेल्ने साथी नभएर कस्ती बोर हुन्छे । टिबि मात्र हेर्छे । हजुरहरु अफिसबाट आउँन्जेल हामी खेलेर बसिराख्नेछौँ । म छिट्टै आएर उसको असल साथी हुनेछु । तीन महिना त कटिसक्यो नि । अब छ महिना कटाउन मलाइ के गारो होला र ? अस्ति हजुरले म आउन लागेको खबर सुनाउँदा कम्ता खुसी भाकी थिइन दिदी । स्कुलमा सबैलाइ भनिसकिछ उसले । मेरो प्रतीक्षामा बसेकी मेरी दिदिलाइ हजुर निरास पार्नुहुने छैन ।’

आवाज केही दबेको थियो छोरीको । हामी चुपचाप थियौँ । केहि बोल्ने समय नै पाइरहेका थिएनौँ । बोल्ने अवस्था पनि त थिएन । हामी त कठघरामा उभिएका अपराधी जस्ता थियैँ ।

‘बाबा, हजुरहरुले लिदैँ गरेको निर्णयमा पुर्नबिचार गरिस्यो । म आफ्नो बाबामामुबाट पाप भएको देख्न सक्दिन । आफ्नै हातले आफ्नै बाबामामुलाइ अपराधी करार गर्न सक्दिन । म अहिल्यै तेती कठोर र आँटिली केटी भैसकेकी छैन । तर हजुरहरुको रगत मेरो नशा नशामा बगिरहेकोछ । मलाइ जन्मिन दिस्यो न बाबा, प्लिज । एकपटक जन्मिएर यो समाज सङ्ग लड्नेछु । तपाईलाई छोराको आवश्यकता महसुस हुन दिने छैन कदापी । यो मेरो बाचा भयो । दिदी र म हजुरहरुलाइ सधैँ गर्व बोध हुने काम गर्नेछौँ । हजुरहरुले मलाइ जन्माएर कहिल्यै पश्चाताप गर्नुहुनेछैन । त्यो मौका नै दिदिन बाबा । हजुर नै यस्तो कुकर्ममा लाग्नु भयो यो समाज कहिले रुपान्तरण होला बाबा ? प्लिज बाबा, मलाइ एकपटक जन्मिन दिस्यो । म जन्मिन चाहान्छु । यो दुनियाँ हेर्न चाहान्छु । जीवन भोग्न चाहान्छु । यो धरतीको माटोमा स्पर्श गर्न चाहान्छु । तपाईं र मेरा साझा सपनाहरु पूरा गर्न चाहान्छु । मामुलाइ सबैको अघाडी सगौरव आफ्ना छोरिहरुको नाम लिएर उभिने तागत दिन चाहान्छु । मलाई एकपटक, मात्र एकपटक जन्मिन दिस्यो बाबा । म जस्ता पिडित भ्रुणहरुको अधिकारको लागि लड्न चाहान्छु । यो समाज रुपान्तरणको अभियानमा हातेमालो गर्न चाहान्छु ।’ 

निरुका आँखा लोलाइरहेका थिए । थकित देखिन्थिन ।

‘ल बाबा, मामुलाइ गारो भएजस्तो छ । म नि रेस्ट गर्छु अब । मेरो कुरो बुझ्नुभयो होला । यति धेरै कुरो जान्ने कसरी भए सोच्नुहोला ? म हजुरकै छोरी त हुँ । हा हा ।’ तोते हाँसो हाँस्छे ।

‘ल बाबा, बाइ । हजुर पोजेटिभ हुनुभयो भने सी यु आफ्टर नेक्स्ट सिक्स मन्थ ।’ छोरीसङ्गको यो मौन वार्ताले म छाङोबाट खसेजस्तै भएँ । चेतना शून्य भएँ ।

ओहो ! कस्तो डरलाग्दो सपना देखेछु मैले । पर्दा उधाएर बाहिर हेर्छु, चकमन्न अँध्यारो छ । कुकुरहरु एकोहोरो भुकिरहेका छन् ।

निरुतिर नजर दौडाए, मस्त निद्रामा थिइन । आँखा रसाए । माया लागेर आयो । गएर निधारमा चुम्बन गरे । र निदाउन प्रयास गर्दै पल्टिए ।

दोस्रो दिन अली ढिला गरि उठेँ । छोरी र निरु उठीसकेका थिए । मन बेचैन थियो । तावामा भुट्न राखेको मकैजस्तो । फ्रेस भए । चिया नास्ता खाएर राति देखेको सपना र छोरीसङ्ग भएको मौन वार्तालाप निरुलाइ सुनाए । धेरैबेरसम्म हामी केही बोलेनौँ । र अन्तमा छोरी जन्माउने निर्णय गर्दै आआफ्नो कामतिर लाग्यौँ 

प्रतिक्रिया