धनगढी । धनगढीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । मानव सेवा आश्रमको आयोजनामा सुदूरपश्चिम महोत्सव सञ्चालन भएको स्थानमा माघ २३ देखि ३० गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो ।
महायज्ञमा कथा प्रवचनसँगै प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म योगशिविर गरिनुका साथै विद्यार्थीहरु माझ सकारात्मक सोँच र मावनता प्रवद्र्धनबारे उत्प्रेरणादायी प्रशिक्षण सञ्चालन गर्ने तयारी छ । त्यस्तै महायज्ञ अवधिभर चिकित्सक तथा स्वास्थ्य विशेषज्ञबाट स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए ।
महायज्ञ मुल आयोजक समितिका अनुसार महायज्ञमा हरेक दिन बिहान साढे ११ बजेदेखि मध्यान्ह साढे चार बजेसम्म कथा बाचन हुनेछ । महायज्ञमा दाताको चाहनाअनुसार पाञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ, परायण आदि कार्य हुने छन् । त्यस्तै साँझ ६ बजेदेखि कलाकारहरु सहित भजनकिर्तनका कार्यक्रम हुने संयोजक कुँवरले बताए ।
धनगढी उपमहानगरपालिका–१५, उर्मीमा निर्माणाधीन दुई सय जना सहयोगापेक्षी राख्ने क्षमताको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गर्न लागिएको हो । अहिले धनगढी–५, र धनगढी–१५, भाडाको घरमा सञ्चालन हुँदै आएको मानव सेवा आश्रमको शाखामा ८० जना बेसहारा, असहाय, अभिभावकहीनहरुले आश्रम लिइरहेका छन् ।
‘अर्थ संकलनमात्र नभइ मानवता प्रवद्र्धन गर्न ज्ञान महायज्ञ गर्न लागिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । २० जिल्लामा रहेका मानव सेवा आश्रमका शाखामा हाल दुई हजार जना असहायले सहारा लिइरहेका उनले जानकारी दिए ।
प्रतिक्रिया