धनगढी । कञ्चनपुरमा मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युत कलौनीको शव परीक्षण गरिएको छ । भेरी अस्पताल नेपालगञ्जबाट आएको फरेन्सिक विज्ञहरुको टोलीले महाकाली प्रादेशिक अस्पतालमा शवको पोस्टमार्टम गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले पोष्टमार्टम सकिएको बताउँदै भोलिसम्ममा रिपोर्ट आउने जानकारी दिए ।
शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोक नजिकै सडक पेटीमा कलौनी मृत फेला परेका थिए । उनको साथमा रहेको एउटा मोबाइल नभेटिएको र पर्स खल्तीबाट निकालेर अन्यत्र फालेको भेटिएपछि घटना शंकास्पद भएको आशंका गरिएको छ । मृतक कलौनीका बुवा जनकराजले अच्युतको हत्या गरेर फालिएको आशंका गर्दै निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । नगर सभापति मृत भेटिएपछि शनिबार नै कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले घटनाबारे प्रहरी, चिकित्सक र परिवारका सदस्यसंग जानकारी लिएका छन् ।
डीएसपी जोशीका अनुसार कलौनी दुई मोबाइल प्रयोग गर्दै आएका थिए । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको छ,’ उनले भने, ‘अर्को किप्याड मोबाइल भेटिएको छैन । हामीले खोजी गरिरहेका छौं ।’ डीएसपी जोशीका अनुसार कलौनीको पर्स पनि शवभन्दा केही पर भेटिएको थियो । ‘पर्समा पैसा भने भेटिएको छैन,’ उनले भने । मृतक कलौनीको सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए भने उनको शरीरमा कुनै चोटपटक थिएन ।
यस्तै, नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ । जिल्ला सचिव भीमराज भट्टले विज्ञप्ति जारी गर्दै ‘पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको’ बताउका छन् । कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राख्ने पनि सचिव भट्टले जानकारी दिएका छन् ।
प्रतिक्रिया