धनगढी । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि मातृभूमि जागरण अभियान थालेका डा. भीम रावल दुई सातादेखि गृहप्रदेश सुदूरपश्चिममा छन् । ४ माघदेखि १८ गतेसम्म गृहजिल्ला अछाम बसेका रावल डोटी र डडेल्धुरामा भेटघाट गर्दै आइतबार धनगढी पुगेका छन् ।
अहिले मातृभूमि जागरण अभियानलाई नै देशव्यापी रुपमा अगाडि बढाउने बताउँदै आएका रावलले पछि त्यसले पार्टीको रुप लिने पनि बताउने गरेका छन् । तर, रावलले कहिले पार्टी खोल्छन् ? भन्ने विषयमा भने चासो बढेको छ ।
यता रावलले आगामी निर्वाचनभन्दा अगाडि नै राजनीतिक दल खोल्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘अहिले हामी देशव्यापी रुपमा मातृभूमि जागरण अभियानलाई नै अगाडि बढाउँछौं,’ उनले भने, ‘प्रवासमा पनि यो काम आरम्भ भइसकेको छ । त्यसपछि जुनसुकै राजनीतिक दलका भए पनि देशको भविष्यप्रति चिन्तित, अहिलेको भ्रष्टाचार र विकृति समाप्त गर्न चाहने व्यक्तिहरुसंग खुला रुपमा छलफल गर्छौं । विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु आउनुभएको छ । आउने निर्वाचनभन्दा अगाडि नै यसले राजनीतिक दलको रुप लिन्छ ।’
रावलले राष्ट्रिय पार्टी नै खोल्ने गरी गृहकार्य भइरहेको बताए । ‘मेरो दृष्टिकोण नै राष्ट्रिय दृष्टिकोण हुन्छ,’ उनले भने, ‘त्यसैले मैले अभियानको सुरुवात पनि पूर्वी नेपालबाट गरेको थिए ।’
रावलले अछाम बसाईको क्रममा विभिन्न राजनीतक दलका कार्यकर्ता र विशेषगरी एमालेका जिल्ला तहका नेताहरुसंग छलफल भएको बताए । ‘उहाँहरुसंग यर्थात कुरा भन्ने र उहाँहरुका कुरा सुन्ने दुबै काम भयो,’ उनले भने, ‘मातृभूमि जागरण अभियान नेपालको विभिन्न ठाउँमा तदर्थ समिति पनि गठन गरिएको छ । अब केही दिन धनगढीमै बस्छु । यतैबाट कैलाली र कञ्चनपुरका कार्यक्रम तय गर्दैछौं ।’
४ माघमा अछाम पुगेका डा. रावलले त्यहाँ विभिन्न राजनीतिक दलका नेतालाई भेट्दै मातृभूमि जागरण अभियानको अवधारणा र पार्टी खोल्ने विषयमा छलफल चलाएका थिए । रावलकै उपस्थितिमा विभिन्न वडा र पालिकामा अभियानका तदर्थ समिति पनि गठन गरिएका छन् । अछामपछि डोटी र डडेल्धुरामा आफूनिटक नेता–कार्यकर्तालाई भेट्दै डा। रावल आइतबार साँझ धनगढी पुगेका हुन् ।
प्रतिक्रिया