धनगढी । कैलालीको धनगढीमा फागुन २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजनामा फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो । महायज्ञमा राधिका दासीबाट भावगत कथा बाचन हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि महायज्ञ लगाउन थालेको हो । ‘ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठसहित पवित्र र पावन भूमीका रुपमा रहेको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्म मार्फत नवीन संदेश दिन महायज्ञको आयोजना गर्न लागेका हौं’ उनले भने, ‘भाषा, साहित्य, संस्कृति, पुरातत्व जस्ता बाङमयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्रहालय निर्माणको पवित्र उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागेका छौं ।’
उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक जागरण ल्याएको बताए । महायज्ञकी प्रमुख बाचिका समेत रहेकी राधिका दासीले पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन् । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको महोत्सव लाग्ने स्थानमा हुने बताइएको छ ।
प्रतिक्रिया