टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका प्रमुखको कार्यकक्षमा केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार लगाएको ताला यथावत छ । कार्यवाहक नगरप्रमुख लालविर चौधरीले समन्वयको प्रयास भइरहेको बताएका छन् ।
नगरप्रमुख रामलाल डगौरा थारु लाओसमा आयोजना हुने पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागीताका लागि शुक्रबार नै काठमाडौं हिँडेको मेयरको सचिवालय प्रमुख एलबी बुढाले जानकारी दिए । तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चारजना कार्यपालिका सदस्यहरु दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन् । उनीहरुले नगरप्रमुख थारु, प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
उनीहरुले ४७औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन् । उनीहरुले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरुलाई गुमराहमा राखेको बताएका छन् ।
वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुख थारु निरंकुश बनेको आरोप लगाएका छन् । उनीहरुले लोकतान्त्रिक अधिकारको हनन् गरेर मेयर थारुले निरंकुश व्यवहार देखाएको बताए । ‘हिजो लोकतन्त्र प्राप्तीका लागि लड्यौं आज आफ्नै लोकतान्त्रिक अधिकार हनन् भयो,’ वडा नम्बर १ का वडाध्यक्ष विकले भने, ‘मेयरको निरंकुश प्रवृत्ति विरुद्ध हाम्रो आपत्ति हो ।’
उनले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताए ।
त्यस्तै अनुगमन समितिको संयोजकबाट हटाइएका कार्यपालिका सदस्य निसानीले आफूलाई हटाउने कुरामा विमति समेत राख्न नपाएको बताए । उनले निराधार आरोप लगाएर गलत प्रकृयाबाट आफूलाई जिम्मेवारीबाट हटाएको बताए । ‘नगरप्रमुखले तोक्ने व्यवस्था छ तर हटाउने व्यवस्था स्पष्ट छैन,’ उनले भने, ‘गलत काम गर्दैन भन्दा हटाइयो ।’
मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन् । अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भए पनि उपमेयर खडकबहादुर शाह निलम्वनमा परेका छन् ।
केही दिनअघि पत्रकार सम्मेलन गर्दै मेयर थारुले आफूमाथि घेराबन्दी भइरहेको बताएका थिए । उनले टीकापुरको विकास नचाहने तत्वले घेराबन्दी गरेको आरोप लगाए । उनले यस्तो विकास विरोधी तत्व विगतदेखी नै सकृय रहेको बताए । ‘टीकापुरको विकासको वाधक नै यही तत्व हो । यही कारण टीकापुर पछि परेको हो,’ उनले भने, ‘सबै हैन केही सिमित व्यक्तिहरु यसमा संलग्न छन् ।’
उनले आफू अनुकुललाई राखेर राजनीतिक दलले गोप्य मिटिङमार्फत पूर्वाग्रह साँधेको बताए । उनले गुटबन्दी सिर्जना गरेर जात, भेग, लिङ्गका आधारमा विभाजन गर्न खोजेको आरोप लगाए । ‘चाहे जोसुकै पार्टीबाट आए पनि विकासका काम गर्न आएको हो,’ उनले प्रश्न गरे, ‘यस्तो गुटबन्दीले कसरी विकास हुन्छ ?’ उनले अनगुमन समितिको संयोजक निसानीले असहयोग गरेका कारण बाध्य भएर अर्को संयोजक बनाउनुपरेको बताए ।
राजनीतिक दलहरुले फागुन १९ गते वडाध्यक्ष र कार्यपालिका सदस्यलाई राखेर नगरप्रमुख कार्यशैलीको विरोध गर्दै सच्याउन ध्यानाकर्षण गराएका थिए । दलहरुले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई राखेर बैठक गरेपछि मेयर थारुले पत्रकार सम्मेलन गर्दै चुनौती दिएका हुन् ।
प्रतिक्रिया