ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

बुधबार २८, फागुन २०८१ ०२:५७

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका छन् । 

जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन् । पौडीका सिंह वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए । सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भंग गरेका थिए । पौडीतर्फ राष्ट्रिय प्रतियोगिताहरुमा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने उनी एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ म दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी ७ पदक जितेका थिए । क्रिकेटका धामी यु–१९ एसिया कपमा अफगानस्थानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरुद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए ।

छनोट समितिका सदस्य तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष पनेरुका अनुसार सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशको एक मात्रै खेलाडी हुन् । 

कबड्डीकी जोशी इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य पदक जित्ने टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुद अन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् । क्रिकेटकै सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन् । 

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार दुबै विधाका विजेता खेलाडीलाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला तथा पुरुषसंगै उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । यस्तै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धकका रुपमा साथ दिएका छन् । चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ ।
 

प्रतिक्रिया