ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः सीपी अस्पतालको साथ

शनिबार ०२, चैत २०८१ ०२:५६

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई सीपी अस्पतालले साथ दिएको छ । धनगढी उपमहानगरपालिकामा रहेको उक्त अस्पतालले अवार्डलाई प्रायोजकका रुपमा साथ दिएको हो । प्रायोजक सम्बन्धी सम्झौतामा सीपी अस्पतालका अध्यक्ष डा. सीपी पाण्डे र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।

सम्झौतापछि डा. पाण्डेले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै अवार्डको सफलताको शुभकामना दिए । यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन् । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए रहेको छ । 

चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ । पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन् । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् ।

प्रतिक्रिया