ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः बिवाइडीको साथ

आइतबार ०३, चैत २०८१ ०५:००

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ लाई बिवाइडी मोटरले साथ दिएको छ । बिवाइडीले अवार्डलाई प्रायोजकका रुपमा साथ दिएको हो । प्रायोजक सम्बन्धी सम्झौतामा बिवाइडीको धनगढी डिलर विशेष मोटो कर्पका प्रवन्ध निर्देशक पुष्कर ओझा र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे । सम्झौतापछि ओझाले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रमसंग जोडिन पाउँदा खुसी लागेको बताए । 

सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ प्रबद्र्धक रहेका छन् । चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल र निसर्ग अस्पतालले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन् । 

छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिसकेको हो । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् ।

प्रतिक्रिया