टीकापुर । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले उधारोमा विद्युत बिक्री गरेको छ । विगत १५ महिनादेखि सिँचाइ आयोजनाले उधारोमा विद्युत बेचिरहेको हो ।
आयोजनाले झण्डै १५ करोड बराबरको विद्युत नेपाल विद्युत प्राधिकरणलाई उधारोमा बेचेको छ । आयोजनाका सूचना अधिकारी नविन पौडेलले एक करोड ७६ लाख ४६ हजार ५३० यूनिट विद्युत उत्पादन भएर राष्ट्रिय प्रशारण लाईनमा पठाएको जानकारी दिए । उनका अनुसार सो विद्युतको महसुल रकम १४ करोड ८२ लाख ३० हजार ८५२ रुपैयाँ हुन्छ ।
आयोजनाले ०८० माघ १६ गते परिक्षण उत्पादन सुरु गरेसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडेको थियो । आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान भए पनि त्यसबापतको रकम लेनदेनको बारेमा अझै टुंगो नलाग्दा उधारोमा बेच्नु परेको हो ।
सूचना अधिकारी पौडेलले विद्युत गृह सञ्चालन कार्यविधि नहुँदा विद्युत किनबेचको टुंगो नलागेको बताए । उनले आयोजनाले कार्यविधिका तीन वटा मोडेल मन्त्रालयमा पेश गरेको लामो समय बितिसकेको जानकारी दिए ।
उनका अनुसार विद्युत उत्पादन हुनुभन्दा पहिले नै कार्यविधिका बारेमा मन्त्रालयमा जानकारी पठाइएको थियो । ‘कार्यविधिको बारेमा पहल भएको दुई वर्षभन्दा बढी समय पुग्यो,’ उनले भने, ‘अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।’
आयोजनाले पहिलो मोडेल पूर्णरुपमा प्राधिकरणलाई जिम्मा दिने, दोस्रो मोडेल सिँचाइले नै ऊर्जा हेर्ने गरी संयन्त्र निर्माण गर्ने र तेस्रो मोडेल विद्युत र सिँचाइको संयुक्त संयन्त्र बनाउने रहेका छन् । सिँचाइ मन्त्रालयले यो बाहेकको छुट्टै कार्यविधि बनाएर अघि बढ्न सक्ने सूचना अधिकारी पौडलले बताए ।
यस्तो कार्यविधि मन्त्रीस्तरीय निर्णयबाट लागू हुने प्रावधान रहेको छ । मन्त्रालयले यसको कार्यान्वयनमा ध्यान नदिएका कारण ढिलाई भइरहेको बताइएको छ ।
४.७१ मेघावाट क्षमताको विद्युत गृह निर्माणमा एक अर्ब रुपैयाँ खर्च भएको छ । विद्युत गृहले २५ वर्षमा सम्पूर्ण सिँचाइ आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ । सिँचाइसँगै विद्युतसमेत उत्पादन थालेको उक्त आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाइ, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया