धनगढी । रेशम चौधरी संरक्षक तथा रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच वैशाख १७ गते एकता हुने भएको छ ।
एकताको सबै तयारी पूरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो ।
अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको छ । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा डा. सिके राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको बताइएको छ । पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।
जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘धेरै पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’
पार्टी एकता भएपछि संघीय संसदमा जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
दुबै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड सिके राउतले गर्नेछन् भने पश्चिमको कमान्ड रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ ।
यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि १७ गते एकता हुने बताएकी छिन् । उनले सामाजिक सञ्जालमा वैशाख १७ गतेलाई इतिहास बदल्ने घडी भनेर उल्लेख गरेकी छिन् । ‘हामी मधेश र सुदूरपश्चिमको मुटुलाई जोड्दैछौं,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया